काठमाडौं । सहकारी संघ संस्थाहरुलाई दुई सिफ्ट गरेर भएपनि निरन्तर सेवा दिन सहकारी विभागले परिपत्र जारी गरेको छ । सहकारी संघ संस्थाबाट प्रवाह गरिने सवै प्रकारका सेवाहरु संचालन गर्न भन्दै विभागले परिपत्र जारी गरेको हो ।
सरकारले असार १ गतेबाट लकडाउनलाई केही खुकुलो गरेको र सम्पूर्ण बैंक, सहकारी, बिमा वित्तिय संस्थालगायतलाई सेवा संचालन गर्न भने पनि केही सहकारीहरु बन्द रहेको र सेवा दिन पनि आनाकानी गरेकोले विभागले परिपत्र जारी गरेको बताएको छ ।
कोरोनाको कारण देखाई कतिपय संस्थाहरुले अझैपनि सेवा नदिएको, दिन आनाकानी गरेको र सेवालाई नियमित नगरेको लिखित तथा मौखिक उजुरी आएकोले परिपत्र जारी गरेको विभागले जनाएको छ । विभागले आफू र सदस्यको स्वस्थ्यलाई ध्यानमा राखेर, सकेसम्म विद्युतिय माध्याम प्रयोग गरी सेवा निरन्तर दिन सहकारी संघ संस्थालाई भनेको छ ।
Leave a comment