हाइलाइट

बागलुङ नगरपालिकालाई जिल्ला सहकारी संघको १५ बुदे सुझावपत्र 

बागलुङ नगरपालिकालाई जिल्ला सहकारी संघको १५ बुदे सुझावपत्र  :: Sahakari Akhabar

बागलुङ । सहकारी क्षेत्रको भूमिका देखिने गरी नीति तथा कार्यक्रम बजेट बनाउन जिल्ला सहकारी संघले बिहीवार १५ बुदे सुझावपत्र पेश गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सहकारी क्षेत्रलाई प्राथमिकता दिन जिल्ला सहकारी संघले बागलुङले सुभाव बुझाएको हो ।

सुझाव पत्र पेश गर्दै संघका अध्यक्ष दिपक गौतमले समृद्ध नगरपालिका निर्माणका लागि सहकारीहरु साझेदार बन्न तयार रहेको बताए । उनले नगरपालिकाले संविधानको मर्म र भावना अनुसार तीन खम्बे अर्थनीतिको जगमा रहेर नीति निर्माण गर्ने र सहकार्य गर्ने विषयमा ध्यान दिनु पर्ने बताए ।

जिल्ला सहकारी संघले स्थानीय तहको आगामी वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा स्थानीय राजस्व परामर्श समितिमा सहकारी क्षेत्रको समेत पदेन सदस्य हुने ब्यबस्था गर्नुुपर्ने, वित्तीय सेवाको पहुँच बिस्तार गर्न तालिम शिक्षामा बजेट बिनियोजन गर्नुपर्ने, सहकारी संघ÷संस्थाहरूलाई एकिकरणका लागि प्रोत्साहित गर्न स्थानीय सरकारले लिने बिभिन्न प्रकारका दस्तूर एबम करमा छुट लगायतका सुविधाहरू उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, विभिन्न निकायहरूबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता सहकारीबाट वितरण हुने व्यवस्था गर्नु पर्ने सुझाव पत्रमा उल्लेख  गरिएको छ ।

यस्तै सहकारी क्षेत्रको प्रवद्र्धनका लागि पालिकाबाट विनियोजन हुने वजेटको कम्तीमा ५ प्रतिशत सहकारी क्षेत्रका लागि छुटाउने व्यवस्था गरिनु पर्ने, सहकारी मार्फत संभाव्यताको आधारमा “एक पालिका एक उत्पादन” मोडलमा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवद्र्धन हुनुपर्ने, कृषि जमीनमा कृषकको पहुँच बिस्तार गर्न सहकारी मार्फत करार खेती, कौसी खेती, चक्लाबन्दी र सामूहिक खेतीलाई बिशेष प्रोत्साहन गर्दै भूमि बैंक मार्फत खेती र शीतभण्डार निर्माणमा अनुदान दिनुपर्ने सुझाव संघले नगरपालिकालाई दिएको छ ।

यसैगरी वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई उनीहरुको शीप, ज्ञान तथा क्षमताको उपयोग हुने गरी उद्यम तथा सहकारी फार्म (खेती) संचालन गरी मुलुकमै उत्पादन वृद्धिका लागि आवश्यक पूर्वाधार विकास, प्रविधि, कृषि यन्त्र उपकरणमा स्थानीय सरकारको बित्तीय श्रोतमा सहकारी बैंक मार्फत स्व–रोजगार कार्यक्रम सञ्चालन गरिनुपर्ने, गरीबिको परिचयपत्र प्राप्त गरेका नागरिकलाई स्थानीय तह मार्फत क्षमता अभिबृद्धि गराई सहकारी मार्फत पालिकाको बित्तीय श्रोतमा सहकारी बैंक मार्फत गरीब न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।

महामारीको विषम परिस्थितिमा दैनिक आवश्यकताका वस्तुहरु नियमित उपलव्ध गराई कालोवजारी रोक्नका लागि भूमिका खेलेको हुदा कृषि तथा उपभोक्ता सहकारी संस्थाहरुलाई थप सशक्त वनाउन नगरपालिका भित्र एक सहकारी सुपथ मूल्य पसल सञ्चालन गर्न बिशेष प्याकेज घोषणा गरिनुपर्ने, कृषि जमीनमा कृषकको पहुँच बिस्तार गर्न सहकारी मार्फत करार खेती, कौसी खेती, चक्लाबन्दी र सामूहिक खेतीलाई बिशेष प्रोत्साहन गर्दै भूमि बैंक मार्फत खेती र शीतभण्डार निर्माणमा अनुदान दिनुपर्ने र सहकारी क्षेत्रलाई आवश्यक पर्ने बित्तीय / प्राबिधिक सहयोग उपलब्ध गराउनको लागी नगरपालिकाको स्वामित्व रहने गरी राष्ट्रिय सहकारी बैंकमा न्यूनतम १ लाख रुपैयाको शेयर खरिद गरी खाता समेत खोलेर कारोवार गर्नुपर्ने सुझाव दिएको छ ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले समृद्ध नगरपालिका निर्माणका लागि सहकारी अभियानसंग नियमित सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । सहकारी क्षेत्रलाई उत्पादन, प्रशोधन र बजारीकरणमा जोड्नका लागि के गर्न सकिन्छ ? सहकार्य गरेर अगाडि बढौ, नगरप्रमुख पौडेलले भने । एक पालिका एक उत्पादनका विषयमा सहकारी लगायत सबैसंग छलफलको क्रममा रहेको जानकारी दिदै उनले एक सहकारी एक उत्पादनका योजना बनाएर अगाडि बढ्न सहकारी अभियानलाई सुझाव दिए । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले नगरपालिकामा सञ्चालित सहकारीहरुको नियमन, प्रद्धर्वन र विकासको काम नगरपालिकाको भएकाले नीति कार्यक्रम र बजेट स्पष्ट देखिने गरी सम्बोधन गर्न आग्रह गरे ।
 



Leave a comment