हाइलाइट

दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न सहकारी विभागलाई मन्त्रीको निर्देशन

दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न सहकारी विभागलाई मन्त्रीको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गर्ने क्रममा सहकारी विभागको काम दुई सिफ्टमा संचालन गर्न निर्देशन दिएकी छन् । मन्त्री आर्यालले नेतृत्वमा भएको बेला आफूले गर्ने काममा नयाँ पन दिएर जानुपर्ने भन्दै भावी पुस्ताले पनि त्यसलाई निरन्तरता दिनेगरी अहिलेको नेतृत्वले काम गर्नुपर्ने बताइन् ।

लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले केही निर्णय गरेको भन्दै मन्त्री अर्यालले कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भिडभाड कम गरेर सञ्चालन गर्न निर्देशन दिइन् । उनले ‘कार्यालयमा भिडभाड कम गर्नका निम्ती दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्न भनेकी छन् । कोरोनाले नयाँ चुनौती थपेको भन्दै मन्त्री अर्यालले अहिले धेरै मान्छेहरु विदेशबाट फर्किएकाले उनीहरुलाई सहकारीमार्फत रोजगारी दिन सकिने बताइन् । उनले भनिन् हामीसँग रहेको यत्रो सहकारीमार्फत धेरैलाई रोजगारी दिन सक्छौ ? त्यसको आकलन गर्न जरुरी छ ।’

ठूलो संख्यामा रहेको सहकारीको अनुगमन सरकारले गरिरहेको भएपनि त्यो अत्यन्त न्यून रहेकाले त्यसको प्रभावकारितामा बृद्धी गर्न के गर्ने भन्ने सन्दर्भमा पनि सोच्न जरुरी रहेको मन्त्री अर्यालले बताइन् । अहिले नै सहकारीलाई राम्रोसँग नियमन गर्न नसकेमा भविश्यमा ठूलो चुनौती हुनसक्ने उनको भनाई थियो । यस विषयमा केही विज्ञसँग पनि छलफल गरौ, अनुगमन राम्रोसँग गर्नुपर्छ’, उनले भनिन् ।

मन्त्रालयका सचिव केदार न्यौपानेले आफ्नो कार्यालयको वातावरण स्वच्छ राखेमा कामकाज गर्दा पनि स्वच्छता महसुस हुने बताए । सचिव न्यौपानेले जनतासँग सरोकार राख्ने कार्यालय भनेको मालपोत र नापी कार्यालय रहेको भन्दै ती कार्यालयहरुमा पनि सरसफाइ तथा सेवामा स्वच्छता प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी विभागको सेवालाई प्रभावकारी बनाउनुका साथै कार्यालयलाई पनि स्वच्छता प्रदान गर्नका निम्ती कार्यालय र वरिपरीको बातावरणलाई राम्रो बनाइएको बताए ।
 



Leave a comment