काठमाडौं । स्वयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाले क्विक रेस्पोन्स (क्यूआर कोड) भुक्तानी सेवा सुरु गरेको छ । संस्थाले सोमबार सदस्यहरुलाई क्यूआर कोड बितरण कार्यक्रम गरी मोबाईल बैंकिङ सेवा शुभारम्भ गरेको जानकारी दिएको छ । संस्थाले क्युआर कोड भुक्तानी सेवा तथा मोबाइल बैंकिङ सेवा मार्फत सदस्यलाई घरबाटै सेवा लिन सजिलो हुने जानकारी दिएको छ ।
संस्थाका सदस्यले डिपोजिट स्टेटमेन्ट, लोन स्टेटमेन्ट, चेक रिक्वेस्ट, फन्ड ट्रान्सफर तथा आफ्नो खाताको बारेमा घरबाटै जानकारी लिन सक्ने जनाएको छ । त्यसैगरी बैंकबाट सोझै सहकारीको खातामा र सहकारीबाट बैंकको खातामा पैसा ट्रान्सफर गर्न सकिने तथा मोबाइलमा, टिभि, बिजुलि, इन्टरनेट, हवाई टिकट, खानेपानी , टेलिफोनको बिल पनि अनलाईनबाटै भुक्तानी गर्न सकिने संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्रबहादुर साउदले कार्यक्रममा जानकारी गराए । संस्थाले नेकोस् प्लस सफ्टवेयरको प्राविधिक साझेदार एक्स्क्लूसिभ माइण्ड्स संगको सहकार्यमा उक्त सेवा संचालन गरेको जानकारी दिएको छ ।
कार्यक्रमको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले उद्घघाटन गरेका थिए । उद्घघाटन कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले सहकारीले सदस्यलाई प्रविधिमैत्री बनाउने बेला आएको बताए । उनले प्रविधिको भरपुर प्रयोग गरी सदस्यहरुलाई सेवा दिन सहकारीहरु पछि पर्न नहुने बताए । सरकारले प्रस्तुत गरेको बजेटमा पनि सहकारीलाई प्रविधि मैत्रि बनाउने कुरा उल्लेख गरिएकोले सहकारीहरु समय अनुसार चल्न पछि पर्न नहुने उनको भनाई थियो ।
संस्थाका अध्यक्ष परितोष पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष दिपक पनेरु, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, नेफ्स्कूनका लेखा समिति संयोजक नवराज सापकोटा, सदस्य शुसिल कुमार बस्नेत, गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगाना, नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सिना, सूचना तथा प्रविधि अधिकृत राजन सुवेदीलगायतको उपस्थिति थियो । संस्थाले काठमाडौं जिल्लालाई कार्यक्षेत्र बनाई पाँच वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको र संस्थामा ७ हजा ८ सय जना सदस्य आवद्ध भएको संस्थाका सचिव नवराज अर्यालले कार्यक्रममा जानकारी दिए ।
Leave a comment