हाइलाइट

सहकारी लघुवित्तले फेर्छ समुदायको मुहार 

सहकारी लघुवित्तले फेर्छ समुदायको मुहार  :: Sahakari Akhabar

असल अभ्यासकर्ताहरु, समुहगत प्रारुपमा लघुवित्त कार्यक्रम अघि बढाउँदा सहकारी लघुवित्तलाई अझ सिलसिलाबद्ध ढंगमा अघि बढाउन सकिन्छ भन्ने धारणा राख्दछन् । निजात्मक अनुभवले भन्छ–समुह मोडलबाट नै सहकारीले लघुवित्त कार्यक्रम सञ्चालन गर्दा अति उत्तम हुन्छ । सहकारीको अबको गन्तव्य पनि सामूहिक प्रारुप विधि नै हो

-शिव अधिकारी

लघुवित्त 
‘लघु’ भन्नाले सानो र ‘वित्त’ भन्नाले पुँजी भन्ने जनाउँदछ । अर्थात् स–सानो पुँजी परिचालन गरी वित्तीय सक्षमता हासिल गर्नु नै लघुवित्त हो । हाम्रो मुलुकको सन्दर्भमा भन्ने हो भने गरिब एवं न्यून आय भएका तर केही गरौ भन्ने सकारात्मक सोच र मिहिनेतका धनी व्यक्ति एवम् समुदायका माँझ सरकारका बिभिन्न स्थानीय तह, बैंक तथा वित्तीय संघ-संस्थाहरु, स्वदेशी एवं बिदेशी गैर सरकारी संघ÷संस्थाहरु र थुप्रै सामाजिक संघ÷संस्थाहरुले अनेकन प्रारुप (मोडेल) का लघुवित्त कार्यक्रम सञ्चालन गरेको पाइन्छ ।

यस्ता बहु प्रारुपका लघुवित्त कार्यक्रहरुले लक्षित समुहको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका अनगिन्ती उदाहरणहरु छन् । यो आलेखमार्फत खासगरी सहकारी मोडेलमा सञ्चालित लघुवित्तका फाइदा, सम्भावना र आवश्यकताहरुको बहु–आयामिक चर्चा गर्ने जमर्को गरेको छु ।

सहकारी लघुवित्त
बचत तथा ऋण सहकारीको राष्ट्रिय अन्तर्राष्ट्रिय इतिहास हेर्दा खासगरी गरिब, विपन्न, न्यून आय भएका एवम् सिमान्तकृत समुदायका साथै वित्तीय पहुँचविहीनहरुलाई वित्तीय मुलधारमा समाहित गरी शसक्तिकरण गर्नु सहकारीको मुख्य उद्देश्य रहेको छ । जसरी आमाले भात खान छोरालाई बोलाउदा दाल, तरकारी, अचार, दुध, दही साथै चाड पर्व अनुसार खाने कुरा उपलब्ध गराउँछिन्, त्यसै गरी सहकारीसँग आउने विषय गरिबी हो । जबसम्म गरिबीको विषय नजिक पुग्न सकिदैन, तब सम्म सहकारीको मूल मर्म थाहा छ भनेर वकालत गर्नु बेकार हुन्छ ।

विश्व अभ्यासलाई नियाल्दा खासगरी घरबारबिहिन haveless, आवाजविहिन voiceless, शक्तिबिहिन powerless, समुदायमा भिजेर उनीहरुको मुहारमा खुसीको सञ्चार गराउन सफलता मिल्यो भने मात्र लघुवित्तको सार्थकता हुन्छ । नेपालको परिप्रेक्ष्यमा हाल विद्यमान करिब ३४ हजार भन्दा बढी सहकारी संघ-संस्थाहरुमध्ये अधिकांशले समुदायमा आधारित सदस्य केन्द्रीत सेवा पुर्याउँदै आएका छन् । वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संघ-संस्थाहरुले पनि गरिब, न्यून आय र विपन्न वर्गहरुको उत्थानमै सेवा केन्द्रित गरी बिशेष जोड दिएकाले  सहकारी लघुवित्तलाई बिशेष रुपमा अगाडी बढाएको पाइन्छ ।

द्विविधाको विषय के छ भने–एकथरी सहकारी क्षेत्रका असल अभ्यासकर्ताहरु, सहकारीले सदैव समुदायमा अधारित भई न्यून आय भएका व्यक्तिहरुलाई सदस्यता प्रदान गरी वचत गर्ने बानीको बिकास, सहज र सुलभ ऋण प्रवाहमार्फत उद्यमशीलता विकास गरी जीवनस्तर उकास्न सफल भएकाले यस्तो पुनीत कार्यलाई थप सशक्त ढंगबाट आर्थिक सामाजिक पहुँचबिहिनहरु माँझ अगाडी बढाउनुपर्ने  धारणा राख्दछन् भने अर्कोथरी असल अभ्यासकर्ताहरु, समुहगत प्रारुपमा लघुवित्त कार्यक्रम अघि बढाउँदा सहकारी लघुवित्तलाई अझ सिलसिलाबद्ध ढंगमा अघि बढाउन सकिन्छ भन्ने धारणा राख्दछन् । निजात्मक अनुभवले भन्छ–समुह मोडलबाट नै सहकारीले लघुवित्त कार्यक्रम सञ्चालन गर्दा अति उत्तम हुन्छ । सहकारीको अबको गन्तव्य पनि सामूहिक प्रारुप विधि नै हो भन्ने लेखकको धारणा रहेको स्पष्ट पार्न चाहन्छु ।

समूह मोडलका फाइदा
समूहमा वढीमा १५ देखि २० जना रहन्छन, साप्ताहिक बैठक तथा आर्थिक कारोवार हुन्छ, समूहमा बचतको महत्व, समूह व्यवस्थापन, ऋण परिचालन, वित्तीय साक्षरता, उद्यमशीलता बिकास लगायतका तालिमहरुमा सहकारी संस्थाले कर्मचारी पठार्ई अभ्यासमूलक तरिका बाट सहजीकरण गराइन्छ, सदस्यहरुकै चाहनामा बैठकको स्थान र समय तोकिन्छ,  बढीमा आधा घन्टामा आर्थिक कारोवार सम्पन्न गरिन्छ र बाँकी एक घन्टामा तालिम, शिक्षा एवं सम्वन्धित बिषयमा छलफल हुन्छ ।

समूहमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य समेत हुने हुँदा आफ्नो पदीय जिम्मेवारी स्पष्ट हुन्छ । सानो समूहमा निर्धक्क भएर आफ्नो मनको कुरा राख्न, सम्पूर्ण गतिविधिको जानकार प्राप्त गर्न, सदस्यहरुले माग गर्ने ऋण र उक्त ऋण बाट गर्न खोजेको व्यवसाय, त्यसको प्रतिफल आर्जनका सम्बन्धमा जानकार रहने सक्ने अवस्था र सम्पूर्ण ऋण लगानी कारोवारको जिम्मा जमानत समूहमा हुने हुँदा संस्थालाई धेरै सहज हुन्छ ।

अझ महत्वपूर्ण कुरा भनेको बचत समुहमा काम गरेर सिक्दै जाँदा राम्रो ज्ञान, सीप र नेतृत्व बिकास भई संस्थामा सञ्चालक एवं जिम्मेवार पदमा रहेर सफल नेतृत्व लिएको प्रशस्त उदाहरण हामीसँग छन् । यसरी सहकारी मार्फत गठन गरिने  लघुवित्त समूह एवं सदस्यहरु अन्य कुनै निकायका समूहहरुमा सदस्य हुँदैनन् । समूह मार्फत सदस्य बन्दा संस्थाले अत्यन्तै सहज र सरल तरिका बाट एक कित्ता सेयर लगानीको आधारमा सदस्य बनाउन सक्दछ ।

लघुवित्त कार्यक्रमको प्रभाव  
साक्षरता वृद्वि दर र म्हिला सशक्तिकरण, घर परिवारमा निर्णय शक्तिसँगै नेतृत्व बिकास, आर्थिक तथा समाजिक जीवनमा परिवर्तन, महिला सशक्तिकरण, ऋण सदुपयोगिता, सक्षम र सफल उद्यमका अतिरिक्ति आत्मनिर्भर सकारात्मक सोचको बिकास, आफ्नो र परिवारको स्वास्थ्य र वरिपरिको वातावरणमा बिशेष चासो, पुरुष माथिको आत्मनिर्भरतामा कम जस्ता लघुवित्त मोडलका स्पष्ट प्रभावहरुलाई कम आँक्न मिल्दैन ।

सहकारी लघुवित्त र अन्य लघुवित्तमा फरक

सहकारी लघुवित्त
खासगरी सहकारी लघुवित्तले सदस्यको बचत, सशक्तिकरण, हरेक वित्तीय गैर वित्तीय गतिविधिमा बिशेष सहयोगका साथै स्वामित्व, समन्वय र सहकार्यमा जोड दिन्छ ।

अन्य लघुवित्त
अन्य लघुवित्त प्रदायक संस्थाहरुद्वारा सञ्चालित कार्यक्रममा ग्राहकको व्यवहार, ऋण, सदस्यहरुको गौण स्वामित्व, मुनाफामा हकदार नरहने, निश्चित अवधिका लागि मात्र सहभागिता रहने, दीगोपनको अभाव एवम् परनिर्भरतामुखी जस्ता समस्या पनि देखिएका छन् ।

निष्कर्ष
सहकारी संघ÷संस्थाहरुको भवन, पुँजी, सदस्य संख्या, कर्मचारी, कार्यक्षेत्र भन्दा पनि गरिब, न्यून आय, विपन्न एवम् सिमान्तकृत वर्गलाई कस्तो र कति सेवा पुर्यायको छ  भन्ने विषय महत्वपूर्ण हुन्छ । हाल नेपालमा रहेका करिब ४५ लाख घर धुरीमध्ये करिव १५ लाख घर धुरी गरिब र विपन्न परिवार भएको हुँदा एउटा सहकारी संस्थाले ५० वटा गरिब परिवारको लागि बिशेष जोड दिएर वित्तिय एवम् गैर वित्तीय सेवा प्रदान गरेर उद्यमी बनाऊन सफल भयो भने १७ लाख घर परिवारको मुहारमा खुसीका किरणहरु छाउनेछन् ।

समुदायको मुहार हसाउने काम समुदायको जगमा उभिने बचत तथा ऋण सहकारी संस्थाहरुकै काम हो । बचत तथा ऋण सहकारीका पिता एफ.डब्लु राईफाईसन भन्नुहुन्छ “यदि बचत तथा ऋण सहकारीहरुले समुदायको विकासमा विशेष योगदान पु¥याउने हो भने, कहिल्यै पनि ऋण दिने कुरालाई सीमित गर्नु हुदैन, तीनीहरुको मुख्य उद्देश्य समुदायका व्यक्तिहरुलाई पैसा खर्च गर्न कम गरी आर्थिक विकास र मानिसको नैतिक र भौतिक मुल्य मान्यतालाई बढावा दिने साथै उनीहरुको चाहना अनुरुप कार्य गर्न सिकाउने हो ।” आज लघुवित्त समूहमा सदस्य रहेका महिलाहरुकै माझबाट सशक्त बन्दै संस्थाको ओजपूर्ण अध्यक्ष हुँदै मुलुककै राजनैतिक वृत्तमा समेत निर्णय तहमा पुगेको उदाहरण छ ।

लघुवित्तको मर्म र भावना बुझेर सहकारी संस्थाहरु त्यसमा पनि बिशेष गरी बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्नो उत्पादन तथा सेवाको एक महत्वपूर्ण अंशको रुपमा लघुवित्त कार्यक्रमलाई आत्मसात् गर्दे अघि बढाउनुपर्छ । भनिन्छ गरिबको महिना मर्दैन । यसको अर्थ जागिर, पेन्सन, व्यवसाय वा अन्य कारोबार गर्नेको महिनाको अन्त्यमा आम्दानी भएपनि ज्याला, मदजुरी गरेर जिवन निर्वाह गर्नेलाई १ गते आए पनि के, ३० गते आए पनि के ?  गरिबले पनि बचत गर्न सक्छ । बचत गर्ने तौरतरिका लघुवित्त सहकारीले सिकाउन सक्छ । तसर्थ सहकारी संस्थाहरुले उनीहरुलाई वित्तीय मुलधारमा ल्याई बचत गराउन सिकाउनु पर्छ । बचत, ऋण सँगै लघु उद्यमलाई पनि अगाडी बढाउनु पर्दछ ।

सहकारी संस्थाले राष्ट्रिय अन्तर्राष्ट्रिय सहकारी दिवस, संस्थाको साधारण सभा, स्थापना दिवस लगायतका मुख्य अवसरहरुमा राम्रो व्यवसाय गरेर अरुका लागि उदाहरण प्रस्तुत गर्ने उत्कृष्ट समूह सदस्यलाई पुरस्कृत गर्दा त्यसले अरुमा पनि सकारात्मक उत्प्रेरणा सञ्चार गर्दछ । लघुवित्त कार्यक्रममा स–सानो वित्तीय कारोवारको आवश्यकताका कारण सहकारी संस्थाको प्रशासनिक खर्च बढ्ने भएकाले यस अन्र्तगत लगानी गरिएका ऋणको व्याज केही बढी भएपनि, यसलाई लघुवित्त सदस्यले सहज रुपमा लिनु पर्दछ । सबैभन्दा अहम् विषय भनेको उद्यम गर्ने आँटहरुलाई वित्तीय श्रोत व्यबस्थापन हो । अलिकति व्याज महँगो परे पनि समयमै लगानीको जोहो गर्न र सही परामर्शका साथ लगानी गर्न सकियो भने त्यसले दिने प्रतिफल उक्त व्याजको तुलनामा नगन्य हुन्छ ।

लघुवित्त कार्यक्रमलाई महत्वपूर्ण बस्तु तथा सेवाको रुपमा आत्मसात् गरेका संस्थाहरुमा सदस्यता, पुँजी र साख वृद्वि भएको पाइएको छ । त्यसमा पनि सहकारी मोडेलको लघुवित्त कार्यक्रमको प्रभाव समुदायमा गहिरो रहेको पाइन्छ । सहकारी लघुवित्त त्यस्तो अचुक कार्यक्रम हो जसले अत्यन्त गरिब, विपन्न एवम् न्यून आय भएका सदस्यहरुको मुहार हसिलो बनाई वित्तीय सशक्तिकरण मात्र नभई उनीहरुको समग्र जीवन कायापलट गर्न सक्ने ल्याकत राख्दछ ।

लेखक : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून ) मा प्रशासन तथा समन्वय बिभाग प्रमुख हुन ) सहकारी क्षेत्रको लघुवित्त कार्यक्रममा बिशेष दख्खल राख्ने  अधिकारीसंग सहकारी र लघुवित्त कार्यक्रम सम्बन्धी देश विदेशका थुप्रै तालिम तथा कार्यक्रमहरुमा सहभागिताको लामो अनुभव रहेको छ । )  



Leave a comment