ललितपुर । कुमारीपाटीमा रहेको जनप्रिय बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य घरदैलो सेवालाई निरन्तरता दिँदै एक सय २० जनालाई सेवा दिइसकेको छ ।
नेपाल सरकारले चैत्र ११ गते कोरोना भाईरस (कोभिड–१९) विरुद्ध देशव्यापी लकडाउन जारी गरेपछि संस्थाले सदस्यहरुलाई घरमै रकम भुक्तानी दिने व्यवस्था मिलाएको हो । सरकारले लकडाउनको अवधि तेश्रो पटक थप गरेपछि संस्थाले घरदैलो सेवालाई निरन्तरता दिने निर्णय गरेको हो ।
संस्थाका कार्यकारी अध्यक्ष अविनाश कार्कीले लकडाउनको समयमा सदस्यलाई कार्यालय सम्म आउन असहज हुनुका साथै संक्रमणको जोखिम उत्पन्न हुनसक्ने भएकाले संस्थाले स्थानीय तहसंग समन्वय गरेर घरदैलो सेवा संचालन गरेको जानकारी दिए । ‘संस्थाले प्रदान गरेको सेवाबाट सदस्यहरु निकै खुशी हुनुभएको छ,’ घरदैलो कार्यक्रम मार्फत एक सय २० जना सदस्यले सेवा लिईसकेको जानकारी दिँदै उनले भने, ‘संस्थाले विपत्को समयमा दिएको सेवा भुल्दैनौं भन्नुभएको छ ।’
संस्थाले वित्तीय सेवाका साथै सहकारीको सामाजिक उत्तरदायित्व शीरोपर गर्दै मास्क, ह्यान्ड स्यानिटाईजर र पञ्जा लगायतका स्वास्थ्य सुरक्षा सामग्री समेत बितरण गर्दै आएको अध्यक्ष कार्कीले बताए ।
अध्यक्ष कार्कीले कुनै सदस्यलाई दैनिक उपभोग् बस्तु खरिद गर्न वा औषधि उपचार गर्नका लागि रकम आवश्यक परेको खण्डमा मोबाईल नं. ९८५११५५८९२ मा फोन गर्न आग्रह गरे । साथै लोन अफिसर सदीप भण्डारीको मोबाईल नं. ९८०१८८१५४५ र बरिष्ठ अधिकृत सम्राट श्रेष्ठको मोबाईल नं. ९८०१८८१७८७ मा सम्पर्क गरेर सदस्यले भुक्तानी लिन सक्ने बताउनुभयो ।
Leave a comment