सहकारीधर्मीहरुका लागि बैशाख, थप बिशेष छ । नव प्रवेशी २०७७ सालले धीरता, सर्तकता, मितव्ययिता, इमान, अर्चना, सद्भावना र सहकारिताको गुणधर्मितालाई आचरणमा बदल्दै कोरोनाबाट शीघ्रातिशिघ्र जयोल्लासतर्फ डोहोर्याउने शक्ति प्रदान गरोस् भन्ने कामना सहित, स्तम्भकार रञ्जनमणि पौड्याल बखान बा को स्मृतिमा लेख्छन् ।
-रञ्जनमणि पौड्याल
rmp19nefscun@gmail.com
सहकारीधर्मीहरुका लागि नवप्रवेशी बैशाख स्मरणीय मास हो । नव वर्षको प्रमोदबाहेक सहकारी महत्ताका सम्बन्धमा बहुसंख्यक सहकारीधर्मीहरुलाई त्यसको हेक्का छैन भन्नेमा म बढी विश्वस्त छु । यसको आशय अभ्युक्ति होइन ।
इतिहासदेखि नै प्रच्छन्न छ यो दिन । लेखक स्वयंको पनि यसतर्फ सायदै ध्यानाकर्षण हुँदो हो, यदि आत्म पृथकीकरणको सरकारी निर्देशन राजधानीको थलीस्थित ‘पौड्याल–पल्ली’ मा बिताउने अवसर प्राप्त नहुँदो हो त ।
सोही क्रममा बुबाको किताबी कुनोमा २०६६ सालमा मेरै कार्यकारी सम्पादनमा प्रकाशित ‘प्रवर्तमान सहकारी मासिक’ को चैत अंक भेट्टाए । प्रवर्तमान टीमले त्यस मास सहकारी दिवस पारेर पृथक कलेवरमा विशेषाङ्क प्रकाशन गरेको थियो ।
पाना पल्टाउँदै जाँदा आफैले स्थलगत भ्रमणबाट फर्केर तयार पारेको आलेखकको सिरानमा आँखा अडिए–‘अझै आत्मनिर्भर बन्न सकेन जेठो सहकारी’ । उक्त कभर स्टोरीको केन्द्रीय पात्र चितवनको शारदानगरस्थित ‘बखानपुर सहकारी ऋण समिति’ थियो भने त्यसको सुत्रधार बखान सिंह गुरुङ । उनै ‘बखान बा’ को जन्मजयन्ती हो बैशाख ५ ।
नेपाली सहकारी अयिभानका वैशिष्ट्य व्यक्तित्व, अगुवा वा संस्थापक पिताका रुपमा परिश्रुत ‘बखान बा’ (प्रवर्तमान टीमद्धारा त्यतिबेला प्रयुक्त पूजनीय शब्द) १९५६ बैशाख ५ गते तनहुँको पुलीमराङमा जन्मिएका थिए । सुरुमा सैन्य सेवामा संलग्न उनले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा छोरा गुमाए ।
राजनीति र समाजसेवाको जोडी परिचय बोकका उनी परिवारै लिएर चितवन बसाइँ सरे । २०१३ सालमा चितवनको राप्ती दून क्षेत्रमा.बाढीबाट बिस्थापितहरुलाई जग्गा दिलाएर बस्ती बसाउने कार्यक्रम राप्ती विकास आयोजना अन्तर्गत सहकारिताको माध्यमबाट ऋण सहयोग परिचालन गर्ने उद्देश्यबाट ऋण सम्बन्धी संस्था गठन कार्य शुभारम्भ भयो ।
इतिहासको वैभवमा मात्रै सधै बखान बा र उनको सहकारी बाँचिरहनुहुन्न भन्ने हो । इतिहासको कदर भावी पुस्तालाई सुसंस्कार सिकाउने उदाहरण पनि हो । तर, वर्तमान पुस्ताले गर्विलो इतिहासलाई चैत २० गते वार्षिक स्मरणको कर्मकाण्डी प्रचलनभित्र खुम्च्याएर भविष्यलाई के पाठ सिकाउँदै छ ? बखान बाको चिनोको यथोचित संरक्षण र सम्वद्र्धनमा सामूहिक ध्यान पुर्याउन सके आगामी बैशाखमा पालुवाहरु पल्लवित हुने थिए
सहकारिताको भावनाले ओतप्रोत बखान बाले बस्ती बसाउन जग्गा वितरण भइरहेको बेला स्थानीय ६० जनालाई भेला गराई प्रति सेयर १० रुपैयाँका दरले कुल सेयर पुँजी ६०० रुपैयाँ संकलन गरी २०१३ साल चैत २० गते “बखानपुर सहकारी ऋण समिति” संस्था गठन गरेको इतिहास छ ।
बखान बा नाति चन्द्रध्वज गुरुङ (त्यसबेला संस्थाका सल्लाहकार) मेरो रिपोर्टिङका मुख्य स्रोत व्यक्ति थिए भने संस्थाका तात्कालिक अध्यक्ष विचराम गुरुङ, सञ्चालक सदस्य शेषकान्त अधिकारी, व्यबस्थापक सरस्वतीजीको सहयोग मानसपटलबाट विशीर्ण भएको छैन । चन्द्रध्वजका अनुसार बखान बाका दुई छोरा थिए– धर्मध्वज र लालध्वज ।
२००७ सालको बन्दीपुर काण्डमा धर्मध्वज मारिएपछि उनी नेपाली कांग्रेसकातर्फबाट पूर्णरुपमा प्रजातान्त्रिक आन्दोलनमा होमिए । बीपी कोइरालासँग बखान बाको सान्निध्यता थियो । २०१५ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०१७ सालको महेन्द्रीय “कू” पछि बखानसिंह कोलकत्ता हुँदै बिहारको नरकटिया पुगे ।
पञ्चायती सरकारले उनको श्रीसम्पत्ति कब्जा गरेर बखानपुरस्थित घरमा आगजनी ग¥यो । बखान बाका अर्का छोरा लालध्वज पनि २०१८ सालको क्रान्तिमा कास्कीको कोत्रेमा सहिद भए । लगाएको एकसरो लुगाबाहेक घरबाट केही झिक्न नपाएको उनको परिवार ज्यान जोगाएर जङ्गलको बाटो हुँदै भारत पसेको थियो ।
जसरी भानु, देवकोटा, पृथ्वी, लेखनाथ, सम आदि जयन्तीहरु रौनकका साथ मनाइन्छन् त्यसरी नै सहकारी क्षेत्रले बैशाख ५ बखान जयन्तीका रुपमा भव्यताका साथ किन नमनाउने ? बखान बा र उनले रोपेको बीज संरक्षण र सम्वद्र्धनको संवाहक किन नबन्ने ? चैत २० को सहकारी दिवसले बखान सहकारीलाई कोल्टे फेर्ने अवसर प्रदान गर्न नसकेको स्थितिमा बैशाख ५ को यथोचित स्मरण आजको आवश्यकता जस्तो लाग्छ ।
भारतमा रहँदा बखान बा सुवर्ण शम्सेर निकट भए । पछि आन्दोलनकारीहरुलाई आममाफीको घोषणासँगै बखान बा स्वदेश फर्किए । २०३६ सालको जनमतसंग्रहमा नेपाली कांग्रेसका तर्फबाट बहुदलीय प्रजातन्त्रको पक्षमा वकालत गरेका उनी पार्टीमा खटपटपछि पञ्चायतका तर्फबाट निर्वाचनमा सहभागी भई राष्ट्रिय पञ्चायत सदस्य चुनिएको नातीले बताएका थिए ।
२०३९ सालमा बखान बा न्याय तथा कानून मन्त्री समेत भए । मन्त्री पदमै रहँदा अस्वस्थ्य भएका बखान बाले थाइल्याण्डको बैंकक पुगेर उपचार गराएका थिए । तर फर्केको केही समयपछि नै पुनः थलिएका उनलाई पाटन अस्पताल भर्ना गरियो । अस्पतालमै २०४० साल माघ २५ गते बखान बाले भौतिक संसार छाडे ।
त्यति बेला बस्ती बसाएको चितवनको उक्त स्थानलाई उनकै नामबाट बखानपुर नामाकारण समेत गरिएको थियो । तर पछि निर्दलीय पक्षधर भएका कारण देखाउँदै नाम परिवर्तन गरेर शारदानगर भन्न थालिएको गाउँलेहरुको भनाइ थियो । सहकारी अगुवा भएपनि कहिल्यै सञ्चालक समितिमा रहेर काम नगरेका उनी संरक्षकीय जिम्मेवारीमै रही नेतृत्वदायी भूमिका खेले ।
बखान बाका बिषयमा प्रवर्तमानको त्यही बिशेषाङ्कमा राष्ट्रिय सहकारी विकास बोर्ड (तत्कालीन साझा केन्द्र लि.) का संस्थापक अध्यक्ष विश्वबन्धु थापाले मसँग उनकै निवासमा भनेका थिए– “बखानसिंह गुरुङ चितवनमा नेपाली कांग्रेसमा काम गर्थे । सामाजिक र असल मानिस थिए । उनले त्यहाँ सहकारी अभियानमा काम गरेका थिए ।
सरकारले चितवनमा पहाडियालाई ल्याएर जग्गा बाँडेपछि हरेक गाउँमा सहकारी खोलिदिएको थियो, मिलेर काम गर भनेर । बखानसिंह त्यस अभियानका अगुवा थिए । त्यतिबेला एउटा बोर्ड थियो । बोर्डमा बखानसिंह जनताका प्रतिनिधि थिए । त्यसकारण बखानसिंहको नाम बढ्ता आएको हो ।
उनी गरिबका लागि केही गरौं भनेर लागेका असल मान्छे थिए, तर उनीसँग कन्सेप्ट थिएन । बरु कृष्णबम मल्ल भन्ने डाइरेक्टर थिए । उनी चाहिँ कन्सेप्ट भएका मान्छे थिए, पढेलेखेका कृषि विज्ञ पनि थिए । उनले बखानसिंहलाई सिकाएका हुन् । बखानसिंहले त जे–जे अहयो, त्यो इमान्दारीपूर्वक पूरा गरे । उनी सहकारीबाट धनीचाहिँ भएनन् । ”
जेजस्तो र जसको निर्देशनमा जसरी भएपनि बखान बा नै हुन नेपालमा सहकारीताको बीजारोपण गर्ने । बखान बा र सहकारिताबीच अविनाभाव सम्बन्ध उनको इहलीला समाप्त भएको १ सय २० वर्ष भन्दा बढी प्राचीन छ । बखान बाले रोपेको बीज राम्रो भएपनि हेरचाहका कारण अपेक्षित पल्लवित हुन सकेको छैन । चिन्ता र चासो यतापट्टि हो ।
नव वर्षको पर्दापण ‘पहिलो गाँसमै ढुङ्गा’ भएपनि शीघ्रातिशिघ्र जयोल्लासको घडी आउने कामना सहित ल्यापटपमा लतपतिएका औलाहरुलाई विश्राम दिदैं साबुन पानीले मिचिमिचि हस्त स्नान गर्नु अघि पाठकहरुलाई पनि स्मरण गराउँदछु
इतिहासको वैभवमा मात्रै सधै बखान बा र उनको सहकारी बाँचिरहनुहुन्न भन्ने हो । इतिहासको कदर भावी पुस्तालाई सुसंस्कार सिकाउने उदाहरण पनि हो । तर, वर्तमान पुस्ताले गर्विलो इतिहासलाई चैत २० गते वार्षिक स्मरणको कर्मकाण्डी प्रचलनभित्र खुम्च्याएर भविष्यलाई के पाठ सिकाउँदै छ ? बखान बाको चिनोको यथोचित संरक्षण र सम्वद्र्धनमा सामूहिक ध्यान पुर्याउन सके आगामी बैशाखमा पालुवाहरु पल्लवित हुने थिए ।
जसरी भानु, देवकोटा, पृथ्वी, लेखनाथ, सम आदि जयन्तीहरु रौनकका साथ मनाइन्छन् त्यसरी नै सहकारी क्षेत्रले बैशाख ५ बखान जयन्तीका रुपमा भव्यताका साथ किन नमनाउने ? बखान बा र उनले रोपेको बीज संरक्षण र सम्वद्र्धनको संवाहक किन नबन्ने ? चैत २० को सहकारी दिवसले बखान सहकारीलाई कोल्टे फेर्ने अवसर प्रदान गर्न नसकेको स्थितिमा बैशाख ५ को यथोचित स्मरण आजको आवश्यकता जस्तो लाग्छ ।
बैशाख ५ को सेरोफेरो पारेर बखान बाको इतिहास खोतल्ने, उनको विषयमा चर्चा परिचर्चा गर्ने र मुलतः उनको “सन्तान” लाई अन्तर्राष्ट्रिय आर्कषणको केन्द्र बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ । त्यसबाहेक बैशाख ५ लाई बिम्ब वा व्यञ्जनावृत्तिको रुपमा पनि सहकारीधर्मीहरुले बुझिदिनसके सुनमा सुगन्ध हुने छ ।
बैशाखमा पल्लवको आश कुनै अत्युक्त होइन । अबका बैशाख ५ हरु मापनयोग्य परिणामको असीम तृष्णामा नछट्पट्याई तृप्तिको परितोषक बन्न सकुन् । सहकारीकर्मीहरुका अबका प्रत्येक बैशाख महिना बखान बाका नाममा (सामूहिक र एकल अठोटसहित) समर्पित हुनुपर्दछ ।
यस वर्ष बखान बाकै जन्म महिनामा हामी विश्वव्यापी महामारीको अचानोमा छौं । कोरोना कर्तुतको यो समय धीरता, सर्तकता, मितव्ययिता, इमान, आराधना, अर्चना, सद्भावना,.सहकार्य र सहकारिताको हो । घरआगँनीको नवप्रवेशी २०७७ सालमा बखान बालाई शीरमा राख्दै समस्त सहकारीकर्मीलाई उल्लेखित गुणधर्मितालाई चीरस्थायी आचरणमा बदल्ने सुअवसर प्रदान गरोस् ।
नव वर्षको पर्दापण ‘पहिलो गाँसमै ढुङ्गा’ भएपनि शीघ्रातिशिघ्र जयोल्लासको घडी आउने कामना सहित ल्यापटपमा लतपतिएका औलाहरुलाई विश्राम दिदैं साबुन पानीले मिचिमिचि हस्त स्नान गर्नु अघि पाठकहरुलाई पनि स्मरण गराउँदछु । जय सहकारी ।
लेखक : नेफ्स्कूनका तालिम अधिकृत हुन् ।
(प्रवर्तनमान सहकारी मासिक–२०६६ चैत अंकमा प्रकाशित लेखमा परिमार्जनसहित तयार पारिएको । )
Leave a comment