हाइलाइट

बचत तथा ऋण सहकारीका पिता, राइफाइसनप्रति शाब्दिक सुमन

बचत तथा ऋण सहकारीका पिता, राइफाइसनप्रति शाब्दिक सुमन :: Sahakari Akhabar

राइफाइसनले ३ पटक जर्मनीका ३ सहरमा मेयर भएर काम गरे । २७ वर्षको उमेरमा वेयरवुस्चको मयेर नियुक्त भए । त्यसपछि उनले फ्ल्यामर्सफेल्ड र हेड्सडर्फको मेयरका रुपमा काम गरे । सक्रिय जीवनबाट अवकासपछि उनले सन् १८६६ “द क्रेडिट युनियन्स्” नामक बहुचर्चित पुस्तक प्रकाशित गरेका थिए

-रञ्जनमणि पौड्याल

rmp19nefscun@gmail.com

संसारभरका बचत तथा ऋण सहकारीहरुका लागि एफ डब्लु राइफाइसन पक्कै नयाँ नाम होइन । उनलाई विश्वले बचत तथा ऋण सहकारीका संस्थापक पिता पूज्दछ । नेपालमा पनि अधिकांश प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था एवम् संघले औपचारिक कार्यक्रमको शुभारम्भ उनको तस्वीरमा माल्यार्पणका साथ गर्ने परम्परा बसाएका छन् ।

उनका उत्तराधिकारीका रुपमा विश्वभर बचत तथा ऋण सहकारी संस्थाहरु स्थापना मात्र होइन उम्दा भएका उल्लेख्य उदाहरणहरु छन् । तर, यति हुँदा हुँदै पनि सही अर्थमा हामीले उनलाई चिन्न सकेनौं कि जस्तो लाग्छ ?  भर्खरै छेउ लागेको मार्च महिना उनको जन्म मात्र होइन मृत्युको पनि महिना थियो । कोरोनाको संत्रास र लगत्तैको लकडाउन बहाना हुन सक्ला तर यथार्थमा हामी सबै बचत तथा ऋण सहकारी धर्मीहरुले हाम्रा साझा पितालाई बिर्सेकै हो ।

स्मृति केवल चर्तिकला (फेसबुकका लागि लेखकले प्रयोग गर्ने निजी शब्द) मा फोटो अपलोड होइन, उनको पथ प्रदर्शनको सामयिक बिश्लेषणसहित अबलम्बन र प्रतिफल सुनिश्चितता हो । बाटो बिराउनेहरुले सम्झेर गोरेटो निर्माण र उनका सैद्धान्तिक, आध्यात्मिक (यो उनको उल्लेख्य पाटो हो, जसका बारेमा आलेखमा समेटिएको छ), र व्यावहारिक देनका बुतामा सफलता उन्मुख कृत्यमा सहभागिता हो ।

राइफाइसनका सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय अध्ययन सामाग्रीहरुको सहयोगमा तयार पारिएको यस लेखनी मार्फत ढिलै भएपनि उनलाई शाब्दिक श्रद्धा व्यक्त गर्न चाहन्छु । कोरोना कहर सम्बन्धी मिथ्या खबर बाजीलाई केलाउँदै आवश्यक सजगता, सर्तकता र सावधानीका साथ केही समय जर्मनी भ्रमणको लागि पाठकहरुलाई एकमुष्ठ निम्तो दिन चाहन्छु ।

फेड्रिक विल्हेल्म (विलियम होइन) राइफाइसनको जन्म र मृत्यु एकै अंग्रेजी महिना अर्थात मार्चमा जर्मनीमा भएको थियो । उनको जन्म ३० मार्च १८१८ मा ह्याम यान डर सिज्मा भएको थियो भने मृत्यु ६९ वर्षको उमेरमा ११ मार्च १८८८ मा हेड्सडर्फमा भएको थियो । परिवारका ९ सन्तानमध्ये राइफाइसन ७ औं थिए ।

उनका पिता गटफ्राइड फेड्रिक राइफाइसन पहिला किसान र पछि मेयर थिए, जसले स्वास्थ्य समस्याका कारण मेयर पदत्याग गर्नु परेको थियो । कहीकतै उनका पिताले अत्यधिक रक्सी सेवनको कुलतका  कारण मेयर पदबाट हात धुनुपरेको विवरण समेत पाइन्छ । राइफाइसन युवावस्थामै हुँदा उनका पिताको निधन भएको थियो । त्यसपछि उनको रेखदेख गाउँकै चर्चका एक पूजारीले गरेका थिए । ती पूजारीले उनलाई समकालीन अवस्थाको भन्दा निक्कै माथिल्लो स्तरको शिक्षा प्रदान गरेका थिए ।

गटफ्राइड फेड्रिक राइफाइसनले जागिर छोडेपछि उनको परिवार गरिबीसँग पौठेजोरी खेल्न बाँध्य भयो । धार्मिक आस्थाका आधारमा राइफाइसनको परिवार प्रोटेस्टेन्ट थियो । आमा बढी नै धार्मिक भएकी कारण राइफाइसन पनि धार्मिक प्रवृत्तिले ओतप्रोत थिए । अन्य धार्मिक सम्प्रदायकाहरुसँग पनि उनको राम्रो सम्बन्ध थियो । १७ वर्षको उमेरमा सन् १८३५ सैनिक सेवामा प्रवेश गरेका उनले त्यहाँ ८ वर्षसम्म काम गरे ।

राइफाइसनले एक पुस्तकका अतिरिक्त थुप्रै चिठ्ठीहरु लेखका थिए जसमा छोरी अमालियाको ठूलो साथ थियो । छोरा भने बाबुको अग्लो अपेक्षाको दबाबमा परेर घर छोडी हिडेका थिए ।

आँखाको चोटका कारण राइफाइसनले छोटो समयमै सैन्य सेवाबाट अलग्गिनुपरेको थियो । उनका २ पत्नी थिए । मारिया प्यानसर्थ र एमिली स्टर्क । उनकी जेठी पत्नीको ३६ वर्षको उमेरमा निधन भएको थियो । राइफाइसनका जम्मा ७ सन्तान थिए । तीमध्ये ३ जनाको कलिलो उमेरमै निधन भएको थियो भने १ छोरी अमालिया राईफाइसन र छोराको बारेमा केही उल्लेख भएपनि अन्यका सम्बन्धमा लेखकको खोजनीले सार्थकता पाएन ।

राइफाइसनले एक पुस्तकका अतिरिक्त थुप्रै चिठ्ठीहरु लेखका थिए जसमा छोरी अमालियाको ठूलो साथ थियो । छोरा भने बाबुको अग्लो अपेक्षाको दबाबमा परेर घर छोडी हिडेका थिए । केही समय बेकामे बनेर उनले पितालाई केही ऋण समेत लगाएको सम्म लेखकको पहुँच पुगेको अवगत गराउदछु ।

राइफाइसनले ३ पटक जर्मनीका ३ सहरमा मेयर भएर काम गरे । २७ वर्षको उमेरमा वेयरवुस्चको मयेर नियुक्त भए । त्यसपछि उनले फ्ल्यामर्सफेल्ड र हेड्सडर्फको मेयरका रुपमा काम गरे । सक्रिय जीवनबाट अवकासपछि उनले सन् १८६६ “द क्रेडिट युनियन्स्” नामक बहुचर्चित पुस्तक प्रकाशित गरेका थिए । पुस्तक प्रकाशनमा उनकी छोरी अमालियाले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन ।

आँखाको विरामीका कारण उनले ४७ वर्षको उमेरमै राजनीतिक कामबाट अवकाश लिनुपरेको थियो । मेयरका रुपमा अवकाशपछि उनले गुजाराका लागि धेरै विकल्पहरु रोजे । लगत्तै उनले चुरोट (सिगार) फ्रयाक्ट्री चलाए जुन पूर्णतः असफल भयो र त्यपछि वाइन सप.चलाए । त्यसमा भने उनी सफल भए । सन् १८४७ मा उनले गरिबीले आक्रान्त वेयरपुश्चबासीका लागि पहिलो सहायता संगठन स्थापना गरे ।

सन् १८६४ मा हेड्सडर्फ ऋण समाज (हेड्सडर्फ लोन सोसाइटी) स्थापना गरे । उक्त समाज नै राइफाइसन परम्पराको पहिलो सहकारीका रुपमा चिनिन्छ । आध्यात्मिक (लोककल्याणकारी) स्वभावका राइफाइसन धर्मलाई मानव कल्याणसँग जोड्दथे । भाइचारा र पारस्परिकता उनको सोचाईमा सधै रहिरह्यो । सहकारीभित्र पनि राइफाइसनले नैतिक पक्ष र आचरणलाई निक्कै जोड दिन्थे । त्यसै भएर उनले बचत तथा ऋण सहकारीहरु सदस्यहरुलाई नैतिक र मानसिक उठानको शसक्त माध्यम भएकोमा विश्वास गर्दथे । शक्तिको दुरुपयोग र अन्यायप्रति उनी असहिष्णु हुन्थे ।

आफ्नो गृह जिल्लाका किसानहरुलाई बर्बाद गर्नेलाई राइफाइसन घृणा गर्दथे । उनले केही विद्यालयहरुको स्थापनाका साथै वेयरवुश्चबाट फ्ल्यामर्सफेल्ड, हेड्सडर्फ, रेन्ङ्गडर्फहुँदै रायनसम्मको बाटो निर्माणमा सक्रिया भूमिका निर्वाह गरेका थिए । शैक्षिक वा बौद्धिक दृष्टिकोणबाट राइफाइनस उनका समकालीनहरु भिक्टर एइम–हुभर, हर्मन शुल्ज डेलित्स्ज वा फर्डिनान्ड लासाले जस्तो तीक्ष्ण थिएनन् ।

उनको शिक्षामा केही कमी भएपनि त्यसको सुधारका निम्ति केही पहलकद्मी गरेनन् । यसका साथै उनी वाक्पटुतामा पनि त्यति निपूर्ण थिएनन् । यद्यपि, सामाजिक चेत, दृढ इच्छाशक्ति, निरन्तरता, संलग्नता र परिश्रमका लागि भने उनी सबैतिर कहलिएका थिए । उनी यथार्थवादी र व्यावहारिक प्रवृत्तिका थिए । उनी जिद्दि स्वाभवका थिए भन्ने समेत उल्लेख छ ।

आफ्ना एक मित्रले उनलाई “लिटल बिस्र्माक” (तत्कालिन जर्मनीका प्रथम चान्सलर एवम् प्रधानमन्त्री ओटो भ्यान बिस्मार्क, जसलाई क्रुर शासनका रुपमा चित्रित्र गरिन्छ) को नाम दिएका थिए । ग्रामीण बस्तीहरुमा सहकारी प्रयासका लागि जीवन समर्पित गरेका राइफाइसनलाई स्थानीय कृषक समुदायले “फादर राइफाइसन” का नामले कृतज्ञता र सम्मान व्यक्त गर्दथे ।

प्रारम्भिक अर्थात सन् १८४० र १८५० तिर राइफाइसनले गरिबहरुलाई सहयोगको लागि स्थापना गरेका समाजहरु “गरिबहरुको संगठन” नभई “आवश्यकहरुका लागि खोलिएका संगठन” थियो । खासगरी प्रोटेस्टेन्ट् विश्वासका आधारमा उनी ठान्दथे–धनीले गरिबलाई सहयोग गर्नु नैतिक दायित्व हो ।” त्यही भएर उनको अग्रसरतामा “परोपकारी संस्था” गठन गरिएका थिए नकि आत्म (स्व) सहयोग ।

जर्मनीको ग्रामीण सहकारीका पयार्यका रुपमा चिनिने राईफाइसन लगत्तै विल्हेल्म हासको पनि महत्वपूर्ण योगदान रहेको पाइन्छ । हासलाई धेरैले चिन्दैनन वा उनको योगदानको चर्चा कम हुन्छ किनकि राइफाइसनको १८६० पछिको महत्वपूर्ण योगदानले हासको छवि छायाँमा पारेको थियो । तर पनि हासलाई कम आँक्न भने मिल्दैन ।

सन् १८४० को दशकलाई भोकमरी दशकका रुपमा चित्रित्र गरिन्थ्यो । वेयरवुश्च जहाँ राइफाइसन काम गरिरहेका थिए– सन् १८४६–४७ को जाडो महिनामा अवस्था अत्यन्त नाजुक थियो । एकदम जटिल अवस्थाका कारण राइफाइसनले एक समाज स्थापना गरे जसमार्फत आलु र बीउहरु एकमुष्ठ खरिद गरिन्थ्यो । उक्त समाजले पाउरोटी कारखाना पनि स्थापना गर्यो, जसलाई पाउरोटी सङ्गठन (बे्रड असोसिएशसन) भनिथ्यो । त्यसले स्थानीय मूल्य भन्दा आधा रकममा पाउरोटी बेच्दथ्यो ।

यसले उक्त समाजलाई सफल बनायो । तर यो पूर्णत धनीहरुको दान दातव्यमा आधारित थियो । यसले राइफाइसनलाई सहकारीताका आधारमा सफलता सम्भव हुने प्रमाण भने उपलब्ध गरायो । सन् १८४९ मा उनले फ्ल्यामर्सफेल्डमा अर्को समाज स्थापना गरे । सम्पन्न परिवारका करिब ६० जना यसमा सहभागी भए । एकमुष्ठ गाइवस्तु खरिदको उद्देश्यका साथ स्थापना गरिएपनि लगत्तै यसलाई बचत तथा ऋण सहकारीका रुपमा परिणत गरियो जहाँ सदस्यको असिमित दायित्व कायम गरियो । यो समाज सफल भएपनि राइफाइसन सन् १८५२ मा हेड्र्सडर्फको मयेर नियुक्त भएपछि भने बन्द भयो ।

तेस्रो प्र्रयासका रुपमा राइफाइनसले हेड्र्सडर्फमा १८५४ मा दानमा आधारित अर्को समाज स्थापना गरे । उक्त समाजले टुहुराहरुको पालनपोषण, काम गर्न नखोज्नेहरुका लागि रोजगारीका अवसरहरु जुटाइदिने, जेलबाट रिहा भएकाहरुलाई पुस्तकालय स्थापना गर्ने र गरिब किसानहरुलाई गाईवस्तु खरिद गरिदिने र सँगै ऋण पनि उपलब्ध गराउने काम गर्दथ्यो । यसमा पनि उनी केही हदसम्म सफल नै भए । यसमा ऋणको कारोबार बढी हुने गर्दथ्यो ।

यसपटकको समाजको नवीन पक्ष भनेको मुनाफाबाट छुट्टाएको केही रकम अविभाज्य बनाइएको थियो । सुरुवाती समयमा केही सफल जस्तो देखिएपनि ऋण कारोबार बाहेक यो कार्यक्रम पनि परित्याग गर्नुपर्ने भयो । दीर्घकालीन रुपमा यस्ता समाजहरु सञ्चालनका लागि सहभागी (सदस्य) हरुको तत्परता विना असम्भव हुने निक्र्यौलमा राइफाइसन पुगे । भाइचारा भन्दा स्वचासो बलशाली हुने उनको ठम्याई रह्यो ।

सन् १८६२ मे महिनामा राइफाइसनले जर्मन बचत तथा ऋण सहकारीका अर्का संस्थापक मानिने हर्मन शुल्ज डेलित्स्सँग सम्पर्क गरे । परोपकारितामा आधारित सुरुवाती संस्थाहरु असफल भएपछि राइफाइसनलाई चेत आयो– धनीहरुमार्फत सहयोग प्रदान गरेर मात्र गरिबहरुको उत्थान सम्भव छैन । त्यसपछि मात्र उनले सांसारिक उदारबादी राजनीतिज्ञ शुल्ज जस्ताहरुसँगको सहकार्यमा स्वसहयोगको नवीन अवधारणामार्फत गरिबहरु आफैले आफ्ना लागि गर्ने अवधारणामा आधारित ४ वटा बचत तथा ऋण सहकारी स्थापना गरे ।

सोही वर्ष मार्चमा अनहाउसेन गठन गरे । यसमा सदस्यता शुल्क, सेयर पुँजी र खुद बचतको बाँडफाँड जस्ता प्रावधान थिएन । खुद बचत समाजको सम्पत्तिको रुपमा रहने गरी एउटा कोषमा राखिने व्यबस्था गरियो । साधारण सभाले निर्णय गरेपनि त्यो जगेडा रकम भने सदस्यहरुलाई बाँडफाँड गर्न नमिल्ने प्रावधान कायम गरियो । सदस्यहरुलाई मात्र ऋण लगानी गरिने र नियमितरुपमा तिर्नुपर्ने नियम बनाइयो ।

उनीहरु सहकारी समाजहरु सहकार्यमार्फत आत्मसहयोग र पारस्परिकताका आधारमा सञ्चालन हुनुपर्ने निष्कर्षमा पुगे । राइफाइसनसँगै शुल्ज ( शहर केन्द्रित श्रमिकहरुका लागि समाज निर्माणमा लागि परेका) ले पनि बचत तथा ऋण सहकारीहरुको पक्षमा वकालत गरे । सन् १८६४ मा राइफाइसनले हेड्सडर्फमा बचत तथा ऋण सहकारी समाज स्थापना गर्दा शुल्जको प्रभाव स्पष्ट देखिन्थ्यो 

सदस्यता शुल्क, सेयर पुँजी र खुद बचतको केही भाग बाँडफाँडका साथै सदस्यहरुमा ऋण कारोबारको सीमितता जस्ता प्रावधान थिए । सन् १८६५ मा उक्त समाजमा शुल्जको समाजपनि समावेश गर्ने निर्णय गरिएपनि १८६६ मा उक्त निर्णय फेरि खारेज गरिएको थियो ।
राइफाइसनको अवधारणा अन्तर्गतका सहकारीहरुले छोटो अवधिको बचत तथा लामो अवधिको ऋण सुविधा प्रदान गर्दथे ।

यद्यपि, आवश्यक परेमा छोटो सूचनाको आधारमा ऋण चुक्ता गर्नुपर्ने नियम “असफलताको परिकार” थियो । पछि यस प्रकारको नियममा आवश्यक परिमार्जन गरिएको थियो । राइफाइसन प्रारुपको सहकाारितामा लेखापरीक्षकको भूमिका पनि महत्वपूर्ण थियो । सबै बैधानिक आत्मसहयोगी समूहरुले आफ्नो हिसाबकिताब लेखापरीक्षकलाई बुझाउनुपर्ने कानूनी प्रावधान थियो ।

त्यस्ता आधिकारिक लेखापरीक्षक स्थानीय न्यायाधीशले नियुक्त गर्ने वा ती समूहहरु आबद्ध क्षेत्रीय संघद्धारा निर्दिष्ट अधिकारी रहने व्यबस्था थियो । तीनै लेखापरीक्षकले समूहरुको क्षमता अभिवृद्धिका साथै स्थानीय तहमा विश्वासको वातावरण सृजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दथे । जसरी हामी राइफाइसनलाई बचत तथा ऋण सहकारीका पिताका रुपमा चिन्दछौं, जर्मन आर्थिक सहायताका पिताका रुपमा शुल्ज्लाई लिने गरिन्छ ।

शुल्जको आर्थिक सहयताको आधारस्तम्भका रुपमा बचत तथा ऋण बैंकहरु थिए, जो पछि “जनताको बैंक” का रुपमा लोकप्रिय भए । सन् १८६० को दशकमा करिब २ सयको संख्यामा यस्ता बैंकहरु सेवारत थिए । जर्मनीको ग्रामीण सहकारीका पयार्यका रुपमा चिनिने राईफाइसन लगत्तै विल्हेल्म हासको पनि महत्वपूर्ण योगदान रहेको पाइन्छ । हासलाई राइफाइसनको उत्तराधिकारीका रुपमा समेत हेरिन्छ ।

सन् १८६० ताका जर्मनीको ग्रामीण क्षेत्रमा सहकारीहरु स्थापनामा हासको उल्लेखनीय योगदान रहेको थियो । यद्यपि, हासलाई धेरैले चिन्दैनन वा उनको योगदानको चर्चा कम हुन्छ किनकि राइफाइसनको १८६० पछिको महत्वपूर्ण योगदानले हासको छवि छायाँमा पारेको थियो । तर पनि हासलाई कम आँक्न भने मिल्दैन ।

उत्कृष्ट व्यावसायिक प्रारुपको सृजना एकै पटकमा सम्भव छैन । यसका लागि परिक्षण र त्रुटी विधि नै सर्वोत्तम हो, जुसलाई राइफाइसनले पनि अवलम्बन गरे र सफल भए । उनको यही दर्शन हामीले पनि हाम्रा संस्थाहरुमा लागू गरि सफल हुन सक्छौं । खाँचो केवल इमानदार अथक प्रयासको हो । मार्च महिना राइफाइसनको नाउँमा समर्पणका साथ ल्यापटपमा लतपतिएका औलाहरुलाई विश्राम दिदैं साबुन पानीले मिचिमिचि हस्त स्नान गर्नु अघि पाठकहरुलाई पनि स्मरण गराउँदछु । जय सहकारी ।

(नोटः राइफाइसनका सम्बन्धमा इन्टरनेटमा उपलब्ध सामाग्रीहरुमा विविधता पाइन्छ । यस आलेख तयार पार्ने क्रममा सकेसम्म धेरै सामाग्रीहरुको तुलनात्मक अध्ययन गरिएको सविनय जानकारी गराउँदछु । यद्यपि, विमतिको स्थान सुरक्षित रहेको अवगत गराउँदछु । )

लेखक : नेफ्स्कूनका तालिम अधिृकत हुन् ।



Leave a comment