सहकारीमा बेला बखत कतिपय नियमन मापदण्ड र कानुनका बारेमा बहस चल्ने गर्दछ, यो स्वभाविक पनि हो । तर कतिपय नियमन मापदण्ड र कानुनले हामीलाई यस्ता संकटमा सुरक्षित हुने विधि अगाडि सारिरहेका पनि हुन्छन् । संकटमा सदस्यको स्वामित्व र मायाले मात्र संस्थालाई बचाउन सकिन्छ ।
–सन्जय तिमिल्सीना
sanjay.timilsena@gmail.com
आज ६३ औं राष्ट्रिय सहकारी दिवस “मर्यादित श्रम र पर्यटनका लागि सहकारी” भन्ने मूल भाव सहित मनाईदै छ । यस वर्ष सहकारी दिवस विगतमा भन्दा भव्यरुपमा मनाउन नेपाल सरकारले केन्द्र तहमा सहकारी अभियान समेतको सहभागितामा विभिन्न ११ वटा समितिहरु गठन गरी जिम्मेवारी तोकेको थियो ।
तर परिस्थिति प्रतिकुल हुँदा समितिका बैठक नै बस्न समेत नसक्ने अवस्था सिर्जित भयो, दिवसका समारोह त परैको कुरा भयो । विगत वर्षहरुमा सहकारी दिवस विभिन्न औपचारिक कार्यक्रमहरु सहित जिल्ला जिल्ला र केन्द्रमा मनाउने गरिन्थ्यो तर यस वर्ष परिस्थिति फरक र असहज बन्यो अहिले राष्ट्रिय मात्र नभई विश्वव्यापी संकटको अवस्था छ ।
मानिसहरुलाई कुनै दिवसको उत्सव भन्दा पनि आफ्नो जीवन सुरक्षित गर्ने प्राथमिकतामा छन् । हो यस वर्ष हामी सुरक्षित बाँच्न सक्यौं, हाम्रा सदस्यहरु सुरक्षित हुन सके भने अर्को वर्षको दिवस तामझाम र उल्लासका साथ नै मनाउँला ।
यस वर्ष आफु बचौं र अरुलाई पनि बचाऔं । जो जहाँ छौं त्यहिंबाट आफ्ना सदस्य र सहकारीकर्मीप्रति विभिन्न सञ्चारमाध्यमबाट शुभकामना व्यक्त गरौं, स्वास्थ्य सुरक्षाप्रति सदस्यहरुलाई सचेत बनाऔं कोरोनाको संक्रमण हाम्रो कार्यक्षेत्र र हाम्रा सदस्यको परिवारमा पुग्न सकेन भने हाम्रो दिवस यसै कारणले सफल हुनेछ ।
यस वर्ष नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी शुभारम्भ गरिसकेको सन्दर्भमा सहकारी अभियानले पनि पर्यटनलाई आफ्नो मुख्य लक्ष्यकोरुपमा नारामा समावेश गरेको थियो यद्यपी सहकारी दिवस सुरु नहुँदै नेपाल सरकारले पर्यटनको सचिवालय समेत खारेज गर्ने प्रक्रियामा अगाडि बढेको छ ।
नेपालमा पर्यटन सहकारी संख्यात्मकरुपमा न्युन भएतापनि उद्देश्यमा आधारित कार्य सञ्चालन गर्ने हो भने थुप्रै अवसरहरु छन् भने अन्य उद्देश्यका सहकारी संस्थाहरुले समेत त्यसमा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सक्दछन् । तर यस वर्ष विश्वव्यापीरुपमा कोरोनाको महामारीले आर्थिक मन्दीको स्थिति सिर्जना गर्ने अनुमान गरिएको छ ।
यदि विश्वव्यापीरुपमा आर्थिक मन्दी भयो भने मानिसहरुको खर्च गर्ने क्षमता कमजोर हुने र पर्यटन क्षेत्रमा दीर्घकालिन प्रभाव पर्न सक्ने सम्भावनाहरु देखिन थालेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी आर्थिक मन्दी सुरु भएको घोषणा गरिसक्यो ।
सन् २००८ मा अमेरिकाको एउटा ईन्भेष्टमेन्ट बैंकिङ्ग कम्पनी (लेम्यान ब्रदर्श) टाट पल्टिंदा विश्वव्यापी आर्थिक मन्दीको अवस्था सिर्जित भएको थियो भने यसपटक विश्वव्यापी महामारीले धेरै उद्योग र वित्तीय संस्थाहरु जोखिमको अवस्थामा पुगेका छन् । त्यसैले यसपटक सन् २००८ को भन्दा भयावह आर्थिक मन्दी आउन सक्ने सम्भावनाहरु देखिएकाछन् ।
सन् २००८ को आर्थिक मन्दीबाट आफुलाई सुरक्षित राखेको विश्व सहकारी अभियानसँग यसपटक पनि आफुलाई सुरक्षित राख्नु पर्ने चुनौति छ । हामीलाई चुनौतिको चाङबाट भाग्ने छुट पनि छैन यसको डटेर सामना गर्नुपर्ने छ ।
अधिकांश सहकारी संस्थाहरुले समुदायमा आफ्नो जिम्मेवारी यो संकटको घडिमा समेत निरन्तर निर्वाह गरिरहेका छन् । यस्ता व्यवहारले सदस्य र संस्थाबीचको सम्बन्ध सघन, आत्मीय र अनौपचारिक बन्ने हुँदा संस्थामा कुनै संकटको अवस्था सिर्जना हुँदा सदस्यहरुलाई सामुहिक प्रयासको लागि गरिएको आह्वान स्वीकार्य हुन सक्दछ जसले गर्दा आर्थिक मन्दीको प्रभावबाट आफ्नो संस्थालाई मुक्त गर्न सकिन्छ ।
अझ नेपालको सन्दर्भमा अझै कहालिलाग्दो चुनौति देखिँदैछ । संख्यात्मक वृद्धि सँगै गुणस्तर, वित्तीय सुरक्षा र स्वास्थ्य जस्ता विषयमा मापदण्डको पालनामा कतिपय संस्थाहरु रहन सकेका छैनन् । सदस्यहरुसँग ग्राहकसँग जस्तो व्यवहार गर्ने गरिएको छ जसले गर्दा संस्था अफ्ठ्यारो पर्दा सदस्यहरुले संस्था नै त्याग्न सक्ने अवस्था छ ।
जबकी २००८ को आर्थिक मन्दीमा सहकारी संस्थाहरु टाट नपल्टिनुको प्रमुख कारण सदस्य केन्द्रित सञ्चालन र सदस्यले स्वामित्व बोध गर्नु नै थियो । सदस्यले स्वामित्व बोध गरेको संस्थामा अफ्ठ्यारो पर्दा सदस्यले अन्य क्षेत्रमा रहेको आफ्नो पुँजी र श्रोतहरु सहकारीमा केन्द्रित गरिदिन्छन् जसले गर्दा सहकारी संस्थाले वित्तीय संकटको सामना सहज तरिकाले गर्न सक्दछ ।
सहकारीको जिम्मेवारी पुँजी वा श्रोत परिचालनको मध्यस्थता गर्नु मात्र नभई उनीहरुका जीवनशैली, उपभोग संस्कृति, बचतको बानी विकास, वित्तीय साक्षरता जस्ता व्यवहारमा सहजिकरण गरी जीवनशैली परिवर्तन गराउनु हो । सदस्यहरुमा सहकारी संस्कृतिको विकास, उपभोक्तावादी चिन्तनमा रुपान्तरण र वित्तीय साक्षरता प्रबद्र्धन गर्न सक्ने हो भने सहकारीले अहिलेको चुनौतिबाट समेत आफुलाई सुरक्षित राख्न सहजै छ ।
अहिले केहि सहकारी संस्थाहरुले आफ्ना सेवाहरुलाई पुर्णरुपमा बन्द गरेका छन्, धेरैले व्यक्तिगत सम्पर्कको आधारमा सदस्यहरुका आवश्यकताको सम्बोधन गर्ने गरेका छन् भने कतिपय संस्थाले नियमित सेवा सञ्चालन गरेका छन् । कतिपय संस्थाहरुले संक्रमणबाट बच्नको लागि आवश्यक सुरक्षा सामाग्री वितरण सहित जागरणको काम गरिरहेका छन् भने कतिपय संस्थाले सो सहित विपन्न र श्रमिक सदस्यहरुको लागि राहत वितरणका कार्य समेत गरिरहेका छन् ।
यसरी हेर्दा अधिकांश सहकारी संस्थाहरुले समुदायमा आफ्नो जिम्मेवारी यो संकटको घडिमा समेत निरन्तर निर्वाह गरिरहेका छन् । यस्ता व्यवहारले सदस्य र संस्थाबीचको सम्बन्ध सघन, आत्मीय र अनौपचारिक बन्ने हुँदा संस्थामा कुनै संकटको अवस्था सिर्जना हुँदा सदस्यहरुलाई सामुहिक प्रयासको लागि गरिएको आह्वान स्वीकार्य हुन सक्दछ जसले गर्दा आर्थिक मन्दीको प्रभावबाट आफ्नो संस्थालाई मुक्त गर्न सकिन्छ ।
सहकारीमा बेला बखत कतिपय नियमन मापदण्ड र कानुनका बारेमा बहस चल्ने गर्दछ, यो स्वभाविक पनि हो । तर कतिपय नियमन मापदण्ड र कानुनले हामीलाई यस्ता संकटमा सुरक्षित हुने विधि अगाडि सारिरहेका पनि हुन्छन् । संकटमा सदस्यको स्वामित्व र मायाले मात्र संस्थालाई बचाउन सकिन्छ ।
तर सहरी क्षेत्रका कतिपय व्यक्तिहरु एकैप्रकृतिका दर्जनौं संस्थामा सदस्य बनेका छन्, संस्थालाई माया मान्नु वा स्वामित्व ग्रहण गर्नुको अर्थ आफ्ना सबै आवश्यकतालाई तिलान्जली दिनु होइन जसले गर्दा आफु सदस्य रहेको वा भनौं कारोबार गरिरहेका सबै संस्थाको चाहेर पनि माया गर्न सक्ने अवस्था नहुन सक्दछ ।
सदस्यहरुको स्वास्थ्य सुरक्षाको लागि जनचेतनामुलक सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्ने । यसको लागि विद्युतीय माध्यमको अधिकतम प्रयोग गर्ने । वित्तीय सहकारी संस्थाले नगद र उपभोक्ता सहकारीले सदस्यहरुलाई आवश्यकताका वस्तु घरदैलोमा पुर्याइदिने सुनिश्चित गरी घरबाहिर ननिस्कन आग्रह गर्ने ।
यदि सदस्यले चाहेर पनि स्वामित्व ग्रहण गर्न, आवश्यकताको त्याग गर्न नसक्ने अवस्था हुने हो भने सहकारी संस्थामा संकट सिर्जना हुन सक्दछ । विश्वव्यापीरुपमा नै उद्योग व्यावसायहरु ठप्प भएकोले यो संकट जति लामो हुन्छ त्यति नै बजारमा उपभोग्य वस्तुको अभाव हुँदै जाने निश्चित छ ।
उत्पादन नै नहुने अवस्था भएपछि उपलब्ध वस्तुको मुल्य वृद्धि हुने, उपभोग्य वस्तुको खरीदमा तँछाड मछाड हुन सक्दछ । त्यसले गर्दा वित्तीय कारोबार गरिरहेका संस्थाहरुमा बचत फिर्ताको चाप बढ्न जान्छ । कतिपय संस्थाहरुले नाफा वृद्धिका लागि मापदण्ड भन्दा धेरै न्युन तरलता कायम गर्ने गरिरहेका छन् जसलाई बचत फिर्ता दिन समस्या सिर्जना हुन सक्दछ ।
यस्तो अवस्थामा थोक ऋण प्रदायकहरुले पनि ऋण प्रवाहको चाप थेग्न नसक्ने हुन सक्दछ । त्यसको लागि हाम्रा पुर्व तयारीहरु यो लकडाउनको समयमा नै सोच्नु जरुरी छ ।
चुनौतिले हामीलाई सिकाएको पाठ
१. सहकारी संस्थाहरुले सदस्य केन्द्रित (सदस्यको प्रजातान्त्रिक नियन्त्रण, प्रतिफलको समानुपातिक वितरण, स्वामित्वको आधारमा मात्र कारोबार) सञ्चालन गर्नु आवश्यक छ ।
२. सहकारी संस्थाहरुले विषयगत कार्यमा केन्द्रित (बचत तथा ऋण सहकारीले वित्तीय सन्तुलन कायम गरी प्रविधि मार्फत सेवा प्रवाह, उत्पादकले आवश्यकताका वस्तु उत्पादन, उपभोक्ताले आवश्यक वस्तु तथा सेवाहरुको बिक्री वितरण, स्वास्थ्यले स्वास्थ्य उपकरणको उत्पादन तथा विक्री वितरण र स्वास्थ्य सेवा प्रवाह) हुनु जरुरी छ ।
३. आधुनिक प्रविधि (विद्युतीय प्रविधि) मार्फत सेवा प्रवाह गर्नु पर्ने ।
४. नागरिक साक्षरता, वित्तीय साक्षरता, उपभोक्ता साक्षरता सहितको सदस्य शिक्षा प्रदान गर्नुपर्ने ।
५. सञ्चालकहरुले पदलाई जिम्मेवारीको रुपमा बुझ्ने र संस्थागत क्षमता विकासको लागि एकीकरण मार्फत संख्यात्मक न्युनिकरण गर्ने ।
उल्लेखित शिक्षा लिंदै गर्दा तत्काल सहकारी अभियानले गर्नै पर्ने र गर्न सक्ने विषयहरु पनि स्पष्ट हुन जरुरी छ ।
तत्काल के गर्न सकिन्छ ?
१. सदस्यहरुको स्वास्थ्य सुरक्षाको लागि जनचेतनामुलक सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्ने । यसको लागि विद्युतीय माध्यमको अधिकतम प्रयोग गर्ने । वित्तीय सहकारी संस्थाले नगद र उपभोक्ता सहकारीले सदस्यहरुलाई आवश्यकताका वस्तु घरदैलोमा पुर्याइदिने सुनिश्चित गरी घरबाहिर ननिस्कन आग्रह गर्ने ।
२. सदस्यहरुको अवस्थाको बारेमा कार्यक्षेत्रलाई टोलटोलमा बिभाजन गरी टोलको जिम्मेवारी तोक्ने र सदस्य एवम् सदस्यका परिवारको अद्यावधिक सुचना ग्रहण गर्ने ।
३. सदस्यहरुलाई स्वास्थ्य समस्या वा खाद्यान्न अभाव वा अन्य कुनै पारिवारिक र सामाजिक समस्या परेको भएमा तत्काल आफ्नो तर्फबाट समाधान हुनेमा समाधान गर्ने र संस्थाबाट नहुनेमा सम्बन्धित निकायमा समन्वय र सहजिकरण गर्ने ।
४. आपतकालिन आवश्यकताको लागि सम्पर्क व्यक्ति तोक्ने र सोको जानकारी विभिन्न माध्यमबाट गराउने । विद्युतीय वित्त प्रणाली सञ्चालन गरेका संस्थाहरुले प्रविधि प्रयोगमा लाग्ने शुल्क छुट वा न्युनिकरण गर्ने ।
५. स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध हुन सक्ने भए संस्थाको क्षमताको आधारमा निःशुल्क वा सःशुल्क उपलब्ध गराउने ।
६. गरिब, विपन्न, अशक्त र दैनिक ज्यालादारीमा आधारित सदस्यहरुको पहिचान गर्ने र राहत उपलब्ध गराउने वा राहतको लागि सहजिकरण गरी दैनिक जीवन यापनलाई सहज बनाउन सहजिकरण गर्ने ।
उल्लेखित पाठ सिकौं र आफ्ना जिम्मेवारी पुरा गर्दै ६३ औं राष्ट्रिय सहकारी दिवस भव्य र सभ्यरुपमा मनाऔं । सहकारी दिवसको सम्पुर्ण सहकारीकर्मीहरुमा हार्दिक शुभकामना । ( लेखक : नेफ्स्कूका व्यवसाय विभाग प्रमुख हुन् )
Leave a comment