ललितपुर । ललितपुरका चारवटा सहकारीबीच एकिकरण हुने भएको छ । जिल्लाका विभिन्न प्रकृतिका ४ वटा सहकारी संस्था एकिकरण हुन लागेको हो । एकिकरण हुने सहकारीहरुमा युनिभर्सल बहुउद्देश्यीय सहकारी, सातदोबाटो, कोशिस उपभोक्ता सहकारी मानभवन, श्री पूर्णचण्डी बचत तथा ऋण सहकारी, पूर्णचण्डी र आदिशक्ति कृषि बहुउद्देश्यीय सहकारी संस्था हरिसिद्धि रहेका छन् । एकिकरणमा जान लागेका ३ वटा सहकारीले संयुक्त रुपमा साधारणसभा समेत गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौड्यालको प्रमुख आतिथ्यतामा एकिकरण घोषणा सभा आयोजना गरिएको थियो । सभामा बोल्दै पौड्यालले एकिकरणले शेयरपूँजी, सदस्य र संस्थागत कोषमा वृद्धि भई सञ्चालन खर्चमा कमी आउने हुँदा सदस्यले नै बढि लाभ पाउने धारणा राखे । सदस्य नै संस्थाको श्रोत, ज्ञान र सीप भएकाले एकिकरणबाट यी सबै कुरा भित्रने हुँदा संस्था सबल भई सदस्यालाई गुणस्तरीय सेवा प्रदान गर्न सक्ने उनले बताए ।
सहकारीले सहकारी भएर सदस्यलाई सेवा दिन नसकेको र अर्थतन्त्रमा अपेक्षाकृत योगदान पुर्याउन नसकेको अवस्थालाई मध्यनजर गरी राज्यले सहकारीमा एकिकरणको कुरा विशेष रुपमा अगाडि बढाएको उनले जनाए । स्थानीय, प्रादेशिक र केन्द्रिय सरकार, एनजिओ, आइएनजिओ, सम्पत्ति शुद्धिकरण विभाग जस्ता धेरै वटा निकायले सहकारीलाई निगरानी गरिरहेकाले अब सहकारीलाई ऐननियम पालना गरी दिगो रुपमा सञ्चालन गराउन समेत एकिकरण आवश्यक रहेको पौड्यालले औंल्याए ।
सबल सहकारी बनाउन सक्रिय सदस्य आवश्यक पर्ने भन्दै उनले मासिक सय होइन कमाइको २० देखि ३० प्रतिशत बचत गर्ने बानीको विकास गर्न जरुरी रहेकोमा जोड दिए । संस्थालाई कुन उचाईमा पुर्याउने हो, त्यसको निक्र्यौल गरी शेयरपूँजी वृद्धि र थप बचतका लागि सदस्यहरुलाई आव्हान गर्न समेत उनले सुझाव दिए । कार्यक्रमका विशिष्ट अतिथि एवं एकिकरणको नेतृत्व गरेका जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरद कुमार महर्जनले एकिकरणको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका थिए ।
मुलुकमा ३५ हजार भन्दा बढि सहकारी भएको, एउटै घरमा तीनचार वटा सहकारी संस्थाको बोर्ड रहेको र एउटै पसलमा पाँचसात वटा संस्थाको पासबुक भेटिँदा सहकारीप्रति सर्वसाधारणको विश्वास बलियो हुन नसकेको उनले बताए । यो अवस्थालाई मध्यनजर गरी आफूहरु एकिकरणको प्रयासमा जुटेको र यसबाट सहकारीप्रति सबैले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने विश्वास महर्जनले व्यक्त गरे ।
केहि सहकारी कमाउन र सीमित व्यक्तिको लागि मात्र भएको अवस्थामा आम सदस्यलाई गुणस्तरीय सेवा दिन आफूहरु एकिकरणमा जुटेको उनले प्रष्ट्याए । एकिकरणबाट सञ्चालन खर्च घट्ने र नाफामा समेत वृद्धि हुनेहुँदा यसको लाभ सदस्यले नै पाउने भएकाले ढुक्क भएर सबैलाई कारोबार गर्न उनले आग्रह गरे । एउटै सिद्धान्त र मूल्यमान्यताबाट सञ्चालित सहकारीहरुबीच एकिकरणको प्रयास गरिएको र एकिकरणबाट जिल्लाकै नमूना संस्थाको रुपमा स्थापित गर्ने योजना रहेको उनले बताए ।
सदस्यहरुलाई दुविधामा नपर्न अनुरोध गर्दै एकिकरणबाट संस्थालाई व्यवस्थित गरी चुस्तदुरुस्त र पारदर्शी रुपमा सञ्चालन गरिने हुँदा यसबाट सदस्यकै अधिकतम हित हुने महर्जनले जानकारी गराए । कार्यक्रममा कोशिस उपभोक्ता सहकारीका उपाध्यक्ष रेशमराज डुम्रेले स्वागत मन्तब्य राख्दै दूरदराजमा रहेका न्यून र मध्यम आय भएका व्यक्तिहरुलाई समेटेर सहकारीले काम गर्दै आएको बताए । धेरैवटा बैंक तथा वित्तीय संस्थाहरु एकिकरणमा गएर सबल संस्था बनेको उदाहरण दिँदै उनले अब सहकारीहरु पनि एकिकरणमा जाने बेला आएको बताए ।
बैंकिङ पहुँचबाट टाढा रहेका जनतालाई सहकारीको माध्यमबाट सेवा दिई मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने र एकिकरणमार्फत सबल र दिगो संस्था बनाउन आफूहरु पनि एकिकरण अभियानमा समाहित भएको डुम्रेले जनाए ।
कार्यक्रमका सभापति एवं यूनिभर्सल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले विगत ६ महिनादेखि आफूहरु एकिकरणको प्रयासमा जुटेको जानकारी दिए । राज्यले लिएको नीतिलाई केहि हदसम्म टेवा पुर्याउनुपर्छ र सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्छ भन्ने हेतुले ४ वटा संस्थाबीच एकिकरण गर्ने प्रयासमा जुटेको उनले बताए । राज्यले लिएको नीति मान्नु सबैको दायित्व भएको र समुदाय र मन मिल्ने संस्थाहरुबीच एकिकरण प्रक्रिया अघि बढाइएको समेत उनले प्रष्ट पारे ।
एकिकरणलाई सफल बनाएर जिल्लाकै एक उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्ने र जिल्लाभर कार्यक्षेत्र विस्तार हुने हुँदा तीनचार ठाउँमा सेवा केन्द्र स्थापना गरी सदस्यले पायक पर्ने स्थानबाट सेवा दिने सक्ने उनले जानकारी दिए ।
Leave a comment