ललितपुर । लगनखेलमा रहेको अर्थ बहुउद्देश्यीय सहकारीले बहुउद्देश्यीय परियोजनामा लगानी वढाउने भएको छ । संस्थाले कृषि, यातायात, पर्यटन, स्वास्थ्य, शिक्षा, बीमा लगायतका क्षेत्रको अध्ययन गरी उचित प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी बढाउने जनाएको हो ।
संस्थाको सम्पन्न दशौं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अरविन्दचन्द्र अमात्यले सदस्यलाई १६ प्रतिशत लाभांश वितरण गर्ने पनि जानकारी दिए । सभाले सदस्यलाई १० प्रतिशत शेयर लाभांश र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाको सहकारी विभागका उपरजिष्ट्रार शशिकुमार लम्सालले उद्धघाटन गरेका थिए ।
अध्यक्ष अमात्यले नयाँ सहकारी ऐन २०७४ र नियमावलीले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई मुख्य कारोबारको आधारमा प्रतिशत तोकेकाले आफूहरुले यस वर्ष देखिनै बचत तथा ऋण कारोबार र अन्य कारोबारको अनुपातलाई मिलाएर लैजान शुरु गरेको बताए ।
सहकारी मूल्यमान्यतालाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणमा संस्था निरन्तर लागिरहेको र सदस्यहरुलाई गुणस्तरीय एवं भरपर्दो सेवा दिइ जिल्लाको एक अग्रणी तथा सुरक्षित संस्थाको रुपमा स्थापित गर्न सकेको उनले बताए । संस्थाले कृषि, यातायात, पर्यटन, स्वास्थ्य, शिक्षा, बीमा लगायतका क्षेत्रको अध्ययन गरी उचित प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी बढाउने उनले बताए ।
संस्थाले यस वर्षदेखि सदस्यहरुको जीवनरक्षाका लागि निर्जीवन तथा सामुहिक म्यादी जीवनबीमा सञ्चालन गर्ने उनले जानकारी दिए । त्यसैगरी सदस्यहरुको आवश्यकता र मागलाई ध्यानमा राखी सेवाकेन्द्र विस्तार गर्ने समेत उनले बताए । संस्थाले यस आ.व.मा सदस्यहरुलाई एटिएम तथा ई–बैंकिङ उपलब्ध गराउने, विप्रेषण सेवालाई विस्तार गर्ने, संस्थाको आफ्नै भवन खरिदका लागि कोष व्यवस्थालाई निरन्तरता दिने, स्वरोजगार कोष तथा अन्य संघसंस्थाबाट कर्जा लिइ कारोबार वृद्धि गर्ने जस्ता योजना रहेको उनले बताए ।
संस्थाले सदस्यको मृत्यु हुँदा आर्थिक राहत उपलब्ध गराउँदै आएको र सबै सदस्यहरुलाई अधिकतम शेयर खरिद गर्न समेत उनले आग्रह गरे । संस्थाले आर्थिक वर्ष २०७५ ०७६ को असार मसान्तसम्म ९५ लाख ७८ हजार शेयरपूँजी, ६ करोड ६२ लाख बचत संकलन र ७ करोड ६२ लाख ऋण लगानी गरेको थियो ।
Leave a comment