हाइलाइट

सामाजिक संजालको प्रयोग ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड’

सामाजिक संजालको प्रयोग ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड’ :: Sahakari Akhabar

भदौ २२ गते सामाजिक संजाल फेसबुकको सहकारी सम्बन्धी एउटा च्याट गु्रपमा सहकारी ऐन—२०७४ को कार्यान्वयन, दोहोरो पदाधिकारी, राष्ट्रिय सहकारी महासंघको कार्यकाल, चुनावलगायतका विषयमा बहस चलिरहेको थियो । सुदर्शन प्रसाद ढकाल, टेक प्रसाद चौलागाई, बैकुण्ठ मिश्र, डिल्ली सापकोटालगायत बिच बहस चलिरहेकै बेला राष्ट्रिय सहकारी महासंघको नाममा संचालित फेसबुक एकाउन्ट (एनसिएफ) बाट उक्त गु्रपमा टिप्पणी आयो—‘महासंघको अधिवेशन सहितको साधारणसभा आगामी पौषमा हुदैछ । किन यत्रो टाउको दुखाई हो महानुभावहरुको…’

त्यसपछि सोहि गु्रपमा फेरी बैकुण्ठ मिश्रलाई जवाफ आयो ‘ऐन कानुनको वहस गर्नु त राम्रो हो तर बैकुण्ठ सर त पहिले लेखा समितिको सदस्य पनि हुन हुन्थ्यो त्यहि बेलादेखि महासंघको चुनाव सर्दै चैत्रमा अनि श्रावणमा भएको हो, स्मरण गराउनु पर्ला र..’ फेरी कानुन कार्यान्वयन सम्बन्धी सुदर्शन ढकालको टिप्पणीमा एनसीएफको जवाफ आयो ‘अरुलाई सिकाउन धेरै सजिलो छ…..’

एनसिएफको नामबाट लगातार ठाडो जवाफ आउन थालेपछि च्याट गु्रपमा संस्थाको नामबाट संचालित एकाउन्टबाट व्यक्तिगत तवरमा आएको जवाफ, भाषाशैली, संस्थाको भूमिकाप्रति आपत्ति जनाउन थाले । टेक प्रसाद चौलागाईले त्यसको ‘स्क्रिनसट’ नै हालेसँगै जवाफ दिन बन्द भयो ।

इन्टरनेटको पहुँच र स्मार्ट फोनको बढ्दो प्रयोगले सामाजिक संजालमा प्रवेश गर्ने नेपालीको संख्या पनि बढिरहेका छन् । नेपालीमाझ फेसबुक, टुईटर, इन्टाग्राम लगायतका सामाजिक संजालको लोकप्रियता बढ्दो छ । फलस्वरुप सदस्य र सरोकारवालासम्म पुग्नका लागि सहकारी संघसंस्था पनि यीनै सामाजिक संजालमा प्रवेश गर्न थालेका छन् । तर, सामाजिक संजाल उपयोगिताबारे पर्याप्त ज्ञान नहुँदा र यसको उपयोग गर्न नजान्दा सहकारी संघसंस्थाका लागि सामाजिक संजाल नेपाली उखान ‘वादरको हातमा नरिवल’ जस्तो बनेको देखिन्छ । यसको एउटा उदाहरण माथी उल्लेख गरियो ।

इन्टरनेट क्रान्तिले विश्व एउटा सानो गाउँ भएको छ । विश्वभरका करोडौं मानिसमाझ आफ्नो सूचना प्रवाह गर्नका लागि सामाजिक संजालहरु महत्वपूर्ण प्लेटफर्मको रुपमा विकास भइरहेको छ । सहकारी संस्थाहरुले सदस्यहरुलाई सूचना तथा जानकारी पुर्याउन, संस्थाका गतिविधिहरु समेत प्रचार गर्न र सदस्यसँग सम्पर्कमा रहनका लागि सामाजिक संजाल अपरिहार्य जस्तै बनेको छ ।

त्यसले नेपालीमाझ लोकप्रिय सामाजिक संजाल फेसबुकको अकाउन्ट सहकारी संघसंस्थाहरुका लागि समेत अनिवार्य आवश्यक्ता बनेको छ । तर, संस्थाहरुले यो प्लेटफर्मलाई प्रभावकारी उपयोग गर्न सकेका छैनन् । उपयोगिताबारे ज्ञान नहुँदा विषयवस्तु भन्दा बाहिरी विषयमा टिप्पणी लेख्ने र कमेन्ट गर्ने गरेको पाइन्छ । कतिपय संस्थाका एकाउन्टबाट अध्यक्ष वा व्यवस्थापकको व्यक्तिगत फोटो समेत सेयर हुने गरेको छ । कतिपय स्ट्याटसमा व्यक्तिगत जस्तो टिप्पणी गर्ने गरेको भेटिन्छ । यस्तै सहकारीको सरोकार नहुने राजनीतिक घटनामा पनि पूर्वाग्रह राखेर स्ट्याटस लेख्ने, कमेन्ट गर्ने गरेको पाइन्छ ।

यस्तै फेसबुक जस्ता सामाजिक संजाललाई सहकारी संघसंस्थाले समाचारमूलक वेव पोर्टलका रुपमा पनि प्रयोग गरेको भेटिन्छ । सहकारी महासंघ, नेफ्स्कूनजस्ता संघहरुले नै आफ्ना गतिविधि समाचारको ढाँचामा सामाजिक संजालमा हाल्ने गरेका छन् । केहि संघसंस्थाले सामाजिक संजालको प्रभावकारी उपयोग पनि गरेको देखिन्छ । संस्थाका सूचनाहरु सदस्यमाझ पुर्याउनदेखि सदस्यहरुलाई चाडपर्वको खुशियालीमा शुभकामना दिन, सदस्यहरुको दुखःमा सात्वना दिन पनि सामाजिक संजालको प्रयोग भएको भेटिन्छ । व्यवसायीक र प्राविधिक व्यक्तिको सहायता लिएर नै गुणस्तरिय भिडियो तथा फोटोमार्फत र टिप्पणीमार्फत पनि सामाजिक संजाललाई संस्थाको साखः वृद्धिका लागि समेत प्रयोग गरेका छन् ।

सामाजिक संजालको प्रयोग ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड’ हो । यसको प्रयोग सचेत र व्यवसायीक रुपमा गर्नुपर्छ । संस्थागत रुपमा प्रयोग गर्दा अझै जिम्मेवार हुनुपर्छ । त्यसका लागि संस्थासँग सामाजिक संजाल प्रयोगसम्बन्धी स्पष्ट गाइडलाईन र त्यसलाई व्यवस्थापन गर्ने दक्ष कर्मचारी हुनुपर्छ ।



Leave a comment