विगत १२ वर्ष अगाडिदेखि कार्यान्वयनमा आइरहेको एक्सेस कार्यक्रमका ८६ वटा सूचकहरु पनि देशको अवस्था हेरि अद्यावधिक गर्नुपर्ने आवश्यक रहेको छ ।
मानव सभ्यताको विकास सँगसँगै विश्वमा अनेक प्रकारका सकारात्मक घटनाक्रमहरु विकसित भएका छन् । अनेक प्रकारका युगान्तकारी उपलव्धीहरु भएका छन् । जसमा सूचना संचार देखि वित्तीय क्षेत्र हुँदै नविनतम् प्रविधिको विकास आदि रहेको छ । यी उपलब्धीहरुलाई मध्यनगर गर्दा यसको सफलतामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरु र त्यसमा आबद्ध व्यक्तिहरुको अतुलनीय भूमिका रहेको छ ।
अब चर्चा गरौ वित्तीय क्षेत्रको, बढ्दो प्रतिस्पर्धा बीच वित्तीय क्षेत्र, आम मानिस र समुदायको जीवनशैलीको आत्मीय पाटो, अभिन्न सहयोगीको रुपमा रहँदै आइरहेको छ । त्यसमा सहकारी क्षेत्रको पनि भूमिका कम छैन । यो क्षेत्र शसक्त वित्तीय संस्थाको रुपमा सदस्यहरु र समुदाय माझ उभिँदै आइरहेको छ । समुदायको आर्थिक, सामाजिक, सास्कृतिक विकास गर्ने मुख्य उद्देश्य लिएर अगाडी बढिरहेको सहकारी क्षेत्र दह्रो खम्वाको रुपमा स्थापित भई आफ्नो पहिचान बनाई सकेको छ ।
सहकारी क्षेत्र प्रति रहेको नकारात्मक धारणालाई चिर्न सहकारी अभियानकर्ताहरु सफल हुँदै आइरहेको छन् । जसको श्रेय सहकारी क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई जान्छ । सहकारी क्षेत्र गतिशिल हुनुमा अन्तर्राष्ट्रिय संघ संस्थाहरु आइसिए, वोक्कु, अक्कु आदिका साथ साथै राज्य भित्र रहेका अभिभावक संघहरु राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय संघहरु र विशेष गरी बचत तथा ऋण सहकारीले फड्को मार्नुमा नेफ्स्कूनको अतुलनीय भूमिका रहेको छ ।
देशमा १३ हजार पाँच सय भन्दा बढि साकोसहरु रहेको अवस्थामा एक्सेसमा साकोसहरुको सहभागिता न्यून रहेकोमा सोलाई पनि मध्यनजर गरी कार्यक्रमहरु आयोजना गर्नुपर्ने आवश्यक देखिएको छ ।
सहकारी क्षेत्रमा संस्थागत विकास, दिगोपना, नेतृत्वकर्ताको दायित्व, व्यवस्थापनको कार्य शैलीमा आत्मियपन र सहकारी प्रति सदस्यहरुका अपनत्व हुनुमा नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरु प्रति निभाउने अभिभावकीय भूमिका विशेष रुपमा रहन आउँछ । नेफ्स्कूनले नीतिगत रुपमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने क्रममा १२ वर्ष अगाडी अक्कुद्वारा विकास गरिएको एक्सेस ब्राण्डिङ्ग कार्यक्रमलाई साकोसहरुमा वित्तीय औजारको रुपमा प्रयोगमा ल्याउन अग्रणी भूमिका खेल्नु सह्रानीय कदम रहेको छ । साकोसहरुको संस्थागत विकासमा एक्सेस कार्यक्रमको भूमिका विशेष रहनेमा दुईमत नहोला ।
बचत तथा ऋण सहकारी संस्थाहरुलाई व्यवस्थित, सुरक्षित, दीगो र नविनतम प्रविधिको माध्यमद्वारा संचालन गर्नको लागि Association या Asian Confederation या Credit Unions (ACCU) द्वारा विकास गरिएको मापन औजार हो एक्सेस । यसको सफल कार्यान्वयनले वचत तथा ऋण सहकारी संस्था गतिशील, रचनात्मक, पारदर्शी र सबल रुपमा अगाडी बढ्ने छ भन्ने कुरामा दुईमत छैन । जसरी मानव शरीरमा विभिन्न तत्वहरु स्वस्थ रुपमा क्रियाशिल रहन उचित र सन्तुलित समिश्रणको आवश्यक छ । त्यस्तै सहकारी संस्थाहरु पनि सदस्य सेवा, वित्तीय स्वस्थता, व्यवसायिकता र सिकाईका क्षेत्रहरुको उचित र सन्तुलित समिश्रणबाट मात्र उत्कृष्ट रुपमा संचालन हुने कुरामा एक्सेस ले विशेष रुपमा जोड दिएको छ ।
एक्सेसले विशेषतः प्रमुख चार दृष्टिकोणहरुलाई समेटिएको छ
१) वित्तीय दृष्टिकोणमा १३ वटा सूचक
२) सदस्य दृष्टिकोणमा २७ वटा सूचक
३) आन्तरिक व्यावसायिक दृष्टिकोणमा २६ वटा सूचक
४) सिकाई तथा सम्बृद्धि दृष्टिकोणमा २० वटा सूचक जम्मा ८६ वटा सूचकहरु समाबेश रहेको छ । ८६ वटा सूचकहरुमा पनि प्रत्येक सूचकहरुलाई उत्तम, असल, उपयुक्त र कमसल गरी छुट्याइएको छ ।
एक्सेस ले समेटिएका चार दृष्टिकोणहरुः
१) वित्तीय दृष्टिकोण : वित्तीय परिवेशमा बचत तथा ऋण सहकारी संस्थाहरुको कारोबारको सुरक्षण, स्वस्थता एवं उचित रुपमा उपयोगिता सम्बन्धमा जोड दिएको छ । विशेष गरी यसमा पल्र्स प्रणालीलाई अंगिकार गरिएको छ । पल्र्स भित्रको सुरक्षा, प्रभावकारी वित्तीय संरचना, गुणस्तर, प्रतिफल दर, तरलता, बृद्धिको संकेटको सन्तुलित बृद्धिमा जोड दिएको छ ।
२) सदस्य दृष्टिकोण सदस्य दृष्टिकोण अन्तर्गत गुणस्तरीय उत्पादन र सेवाहरु तथा सदस्यहरुको चाहना र सन्तुष्टिलाई प्राथमिकता दिइएको छ । यस दृष्टिकोण अन्तर्गत उत्पादन तथा सेवाको उद्देश्य, प्रस्तुति \ श्रृंखलामा ध्यान दिनुका साथै ब्राण्ड बारेको मनस्थितिमा पनि जोड दिएको छ । यसका अतिरिक्त धन सम्पत्ति श्रृजना गर्ने उत्पादनहरु, क्षमतामा आधारित लगानी, पहुँच तथा सुविधा, मूल्य महत्व र बजार प्रवद्र्धन बारेमा पनि ध्यान दिइएको छ ।
त्यस्तै उत्कृष्ट सदस्यहरुलाई प्रोत्साहन र सम्मान गर्नुका साथै सदस्यहरु बारे पूर्ण ज्ञान हुनु पर्ने, उनीहरु संग सुमधुर सम्बन्ध स्थापना गर्नुका साथै सदस्यहरुको सन्तुष्टिमा पनि जोड दिइएको छ । यसका अतिरिक्त संस्थाप्रति सदस्यहरुको सामिप्यता, उनीहरुलाई गरिने संस्थागत व्यवहारका साथै सदस्यहरुले पाउने लाभबारे पनि उल्लेख गरिएको छ ।
नेपाल सरकारले एक्सेस ब्राण्डिङ्ग कार्यक्रमलाई प्रमाणित गरेर कार्यान्वयनमा ल्याउनु पर्ने जरुरी देखिन्छ
त्यस्तै वार्षिक साधारण सभा तथा अन्य कार्यक्रमहरुमा नियमितता, योजना तथा नीति निर्माणमा सदस्यहरुको सहभागिताका साथै सदस्यहरुले धन श्रृजना हुने उत्पादनहरुको प्रयोग, ऋणको उचित प्रयोग सम्बन्धमा पनि उल्लेख गरिएको छ । प्रविधि तर्फ ईमेल, टेलिफोन, फ्याक्स, नेटवकिङ, एसएमएस, वेवसाईट, एप्लिकेसन इत्यादि प्रविधिहरु प्रयोग गरी सदस्यहरुको विवरण लाई अद्यावधिक गर्नेमा पनि जोड दिइएको छ ।
३) आन्तरिक व्यवसायिक दृष्टिकोण आन्तरिक व्यवसायिक दृष्टिकोणमा संस्थाले नीति नियमहरु, कार्यविधिहरु एवं लक्ष्य तथा प्रणालीहरु विकास गरी सोहि अन्तर्गत रही कार्यहरु सम्पादन गर्नु पर्ने उल्लेख गरेको छ । यस अन्तर्गत संस्थाको विभिन्न नीति तथा कार्यविधिहरु निर्माण, कर्मचारीहरुको उत्पादकत्व, गल्ती व्यवस्थापन, सदस्यहरुलाई दिइने वचत तथा ऋणको सेवा, कार्यालय सामाग्रीहरुको उपयोग, आन्तरिक संचारको प्रकृया, दूरदृष्टि मा प्रष्टता एवं साहसीपन, सुपरिभाषित ध्येय, मूल्य मान्यता एवं लक्ष्यहरु, वार्षिक व्यवसायिक योजनाहरु, रणनीतिक योजनाहरु, स्थानिय समुदायमा संलग्नताका साथै सदस्यहरुको विविधता (उमेर, पेशा, शिक्षा, जाति, इत्यादि), लैङ्गिक सन्तुलन, केन्द्रिय संघसंगको सम्बन्धतथा नियमन सम्बन्धी दायित्वकोव्यवस्थापनमा जोड दिइएको छ ।
एक्सेस कार्यक्रमलाई थप मजबुत बनाउन धेरै कार्यहरु गर्नु पर्ने चुनौती पनि रहेको छ । एक्सेस कार्यक्रम साकोसहरुको लागि उपयोगी हुँदा हुँदै पनि यसको प्रभाव आंशिक साकोसमा मात्र रहेको छ ।
४) सिकाई तथा सम्बृद्धि सम्बन्धी दृष्टिकोण सिकाई तथा सम्बृद्धि सम्बन्धी दृष्टिकोण अन्तर्गत नेतृत्वमा रहने संचालकहरु जाने बुझेका तथा सक्रिय हुनुपर्ने, उनीहरु मुख्य निर्णय केन्द्रको रुपमा रहनु पर्ने, प्रतिकात्मक र उदाहरणीय हुनु पर्ने, शिक्षा दिने गाइडको रुपमा रहनु पर्नेका साथै उनीहरुको कार्य विश्वसनीय एवं उदाहरणीय हुनु पर्ने रहेको छ ।
यसका अतिरिक्त नेतृत्व पंक्तिमा लैङ्गिक समानतालाई पनि जोड दिइएको छ । त्यस्तै कर्मचारीहरु जागरुक, इमान्दार तथा सक्षम हुनु पर्ने लगायत उनीहरुको नियुक्ति, कार्य विवरण, कार्य सम्पादन, मूल्यांकन तथा हर्जाना सम्बन्धमा पनि ध्यान दिइएको छ । साथै उनीहरुको वृत्ति विकास तथा तालिम कार्यक्रमहरुको लागि पनि जोड दिइएको छ ।
एक्सेसका उल्लेखित चारवटा दृष्टिकोणहरुलाई उचित र व्यवस्थित रुपमा व्यवस्थापन गर्न सके प्रत्येक सहकारी पहिलो रोजाईको सहकारी हुनेछ, यी सहकारीहरुले सदस्यहरुलाई दिने सेवाहरु पनि उत्कृष्ट, स्तरीय र सुरक्षित हुनेछ, यहि नै एक्सेसको उपलब्धी र प्रतिफल हुनेछ । यति हुँदा हुँदै पनि एक्सेस कार्यक्रमलाई थप मजबुत बनाउन धेरै कार्यहरु गर्नु पर्ने चुनौती पनि रहेको छ । एक्सेस कार्यक्रम साकोसहरुको लागि उपयोगी हुँदा हुँदै पनि यसको प्रभाव आंशिक साकोसमा मात्र रहेको छ ।
त्यस्तै नेपाल सरकारले एक्सेस ब्राण्डिङ्ग कार्यक्रमलाई प्रमाणित गरेर कार्यान्वयनमा ल्याउनु पर्ने जरुरी देखिन्छ । राज्यबाट प्रमाणित भएको खण्डमा यसको विस्तारमा थप टेवा पुग्ने निश्चित छ । यसको अलावा विगत १२ वर्ष अगाडिदेखि कार्यान्वयनमा आइरहेको एक्सेस कार्यक्रमका ८६ वटा सूचकहरु पनि देशको अवस्था हेरि अद्यावधिक गर्नुपर्ने आवश्यक रहेको छ ।
किनकि धेरै समयसम्म एउटै सूचकले काम गर्नु समय सापेक्ष नहोला । त्यस्तै एक्सेस कार्यक्रममा हुने लगानी पनि अधिक भएको गुनासो सुनिन आएको हुनाले सोलाई पनि व्यवस्थापन गर्नु पर्ने जरुरी देखिन्छ । यसका अतिरिक्त देशमा १३ हजार पाँच सय भन्दा बढि साकोसहरु रहेको अवस्थामा एक्सेसमा साकोसहरुको सहभागिता न्यून रहेकोमा सोलाई पनि मध्यनजर गरी कार्यक्रमहरु आयोजना गर्नुपर्ने आवश्यक देखिएको छ ।
त्यस्तै एक्सेस कार्यक्रमलाई बचत तथा ऋण सहकारी संस्थाहरुमा मात्र सीमित नराखी अन्य उद्देश्य भएका सहकारीहरुमा पनि लागू गर्नु पर्ने देखिन्छ । उपरोक्त चुनौतीहरुलाई उचित तरिकाले व्यवस्थापन गर्न सके एक्सेसको प्रभावकारीता र महत्व अझ वृद्धि हुन्छ । (लेखक स्कोप बचत तथा ऋण सहकारीका प्रबन्धक हुन्)
Leave a comment