काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को वर्तमान कार्य समितिको कार्य अवधी एक वर्ष बाँकी रहँदै राजनितिक पार्टीको दबावमा निर्वाचन मिति तोकिएको छ ।
संघको २७ औं वर्षिक साधारणसभाले सञ्चालक समितिको कार्यकाल चार वर्षको हुने निर्णय गरेको थियो । उक्त निर्णय सहकारी विभागबाट स्विकृती पनि भैसकेको छ । तर संघको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले पौष ४ र ५ गते निर्वाचन सहितको साधारणसभा गर्ने निर्णय गरेको छ ।
यो वर्ष संघको निर्वाचन भएमा वर्तमान सञ्चालक समिति चयन भएको तीनवर्ष मात्र पुग्ने छ । नेफ्स्कूनको विनियम अनुसार वर्तमान सञ्चालक समितिको कार्य अवधि अझै एक वर्ष बाँकी छ । विनियममा व्यवस्था भए विपरित निर्वाचन सहितको साधारणसभा तय भएको स्रोतले बतायो ।
विनियममा सञ्चालकको कार्यकाल चार वर्ष भए पनि एक वर्ष अघि नै निर्वाचन गर्न राजनितिक दलका ठूलै नेताले दबाव दिएको श्रोतको दावी छ । कार्यसमितिको बैठकमा आएर पार्टीको निर्णय हो भन्दै यसै वर्ष निर्वाचन गर्न दबाव दिएको स्रोतले भन्यो । गत वर्ष २७ औं साधारणसभाले विनियम संसोधन गरी सहकारी ऐन २०७४ ले तोके अनुसार संचालक समितिको कार्यकाल ४ वर्ष बनाएको थियो ।
संसोधित विनियम अनुसार नेफ्स्कूनको कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । तर, कात्तिक १६ गते वसेको संघको बैठकले पुस ४ र ५ गतेका लागि निर्वाचन सहितको साधारणभा बोलाएपनि यसबारे नियामक निकाय मौन छ । यसै वर्ष निर्वाचन गर्न चाहने वर्तमान वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल पार्टीको सोर्स लगाएर भए पनि निर्वाचन गराउने पक्षमा रहेका छन् भने अर्को पक्षधर साधारण सभावाट पारित विनियम विपरित निर्वाचन गर्नु गलत हुने बताउछन् ।
यसै बिचमा चुनाव गर्नका लागि अध्यक्ष बस्नेतलाई नेकपा पार्टीका उच्च नेताबाट दवाव दिइएको समाचार स्रोतले बताएको छ । अध्यक्ष बस्नेतमाथी दवाव सिर्जना गराउन पौड्यालले माओवादी समर्थीत सहकारीकर्मीलाई आफ्नो पक्षमा पारेको समेत बताइन्छ । संघको बैठकमा अल्पमतमा पर्ने भएपछि अध्यक्ष बस्नेत निर्वाचन सहितको साधारणसभा गर्न सहमत भएको स्रोतले जानकारी दिएको छ ।
Leave a comment