ललितपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले रजत वर्षका कार्यक्रमहरु समापन गरेको जानकारी दिएको छ ।संघले कार्तिक २१ गते कार्यक्रम गरी रजत वर्षका कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको हो । एकै दिन संघले २५ औं वार्षिक साधारण समेत गरेको थियो ।
कार्यक्रममा संघले जिल्लाका उत्कृष्ठ साकोसहरुलाई पुरस्कृत गरेको थियो । पुस्कृत हुने संस्थाहरुमा ललितपुर महानगरपालिकाबाट सुप्रिम साकोस, महालक्ष्मी नगरपालिकाबाट, सिलुलाइट साकोस, गोदावरी नगरपालिकाबाट कर्मठ सामुदायिक साकोस, बागमती गाउँपालिकाबाट धुसेल सामुदायिक साकोस, कोञ्ज्योसोम गाउँपालिकाबाट कल्पवृक्ष साकोस, र महाकाल गाउँपालिकाबाट विश्वासिलो साकोस रहेका छन् ।
त्यसैगरी कार्यक्रममा संस्थापक अध्यक्ष रोहिणी जोशी, निवर्तमान अध्यक्ष रामशरण घिमिरे लगायत पूर्व अध्यक्षहरु, संस्थापक सदस्यहरु, पूर्व सञ्चालकहरु, पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक र सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सभामा संघका अध्यक्ष रामहरि बजगाईंले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै संघले संस्थाहरुको प्रवद्र्धन तथा सहकारीमैत्री नीति निर्माणमा पैरवी तथा पहल गर्दै आएको बताए ।
त्यसैगरी सदस्य संस्थाहरुको विकास र प्रवद्र्धनमा संघले शिक्षा, सूचना, तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया, गोष्ठी, समिट र सेमिनारमार्फत सदस्यहरुलाई व्यवस्थित गर्ने कार्यमा लागेको उनले जानकारी दिए । संघमा आवको अन्त्यसम्म ५११ संस्था आवद्ध रहेको, २ करोड ६८ लाख ५३ हजार शेयरपूँजी, २ करोड ९५ लाख ६८ हजार जगेडा तथा अनय कोषहरु, ७१ करोड २ लाख ११ हजार बचत तथा ४२ करोड ९० लाख ३७ हजार ऋण लगानी गरेको छ जानकारी दिए ।
सभामा प्रतिनिधि सभा सांसद पम्फा भुषाल, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समिति संयोजक धर्मदत्त देवकोटाले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी ललितपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जन, महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ, प्रदेश नं ३ सांसद शोभा शाक्य, ललितपुर क्षेत्र नं. १ का सांसद नवराज सिल्वाल, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल, कास्कुनका अध्यक्ष दिपक पनेरु लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सभामा संघले रजत वर्षको अवसरमा प्रकाशित स्मारिका विमोचन तथा संघको वेबसाइटको शुरुवात गरेको छ ।
Leave a comment