काठमाडौं । सहकारी अभियानका निकायहरुमा ३ दशकदेखि अगुवाई गरेका पुराना राजनीतिक दलहरुलाई समस्या सुधार गर्न नसकेको आरोप लाग्ने गरेको छ । तर, अहिलेसम्म पनि यिनै पार्टीहरुले सहकारी अभियानका संघसंस्थाहरु कब्जा गर्नेगरी नीति निर्माणदेखि नेतृत्व चयनसम्म हस्तक्षेप गर्दै आएका छन् ।
पुराना तीन राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले सहकारी अभियानको स्वायत्ततामाथि गर्दै आएको हस्तक्षेपको नाङ्गो चरित्र आसन्न सहकारी बैैंकको निर्वाचनमा पनि देखिएको छ।सहकारी क्षेत्रको एकमात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकको नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा निर्वाचन चलिरहेको छ।
सात प्रदेशबाट एक एक जना सञ्चालक निर्वाचित हुने विनियमको व्यवस्था अनुसार अन्य छ प्रदेशबाट सर्वसम्मत सञ्चालकहरु निर्वाचित भएका छन्, तर बागमती प्रदेशमा भने नेकपा एमालेकै दुइजना नेताहरु उम्मेदवार बनेका छन् ।
नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य परितोष पौड्याल र पूर्व सहकारी विभागका सदस्य रामशरण शर्मा घिमिरेबीच प्रतिस्पर्धा हुदैछ । तर, सहकारी संघसंस्थाका प्रतिनिधिहरुको अधिकारमाथि हस्तक्षेप गर्दै तीन दलका तर्फबाट साझा उम्मेदवार पौड्याललाई मतदान गर्न पार्टीले दवाव दिन थालेका छन् ।
काठमाडौको हार्दिक होटलमा केही दिनअघि भएको साझा उम्मेदवार घोषणा कार्यक्रममार्फत सार्वजनिक रुपमा जानकारी गराइएको थियो । त्यही कार्यक्रममा नेकपा एमालेका नेता, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष (दुइ कार्यकाल) केशव बडाल र एमाले नेता तथा राष्ट्रिय सहकारी महासंघका वर्तमान कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल लगायतका नेताहरुले तीन दलका तर्फबाट प्रस्तावित उम्मेदवार पौड्याललाई विजयी बनाउन आव्हान मात्र गरेनन्, निर्देशन नै दिए ।
यस्तै सोमबार मात्रै नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले निर्देशानुसार भन्दै एमालेका प्रदेश र जिल्ला अध्यक्षहरुलाई दलीय उम्मेदवार जिताउन सर्कुलर नै गरेका छन । सोमबार नै सहकारी भर्चुअल मिटिङ नै गरेर पौड्याललाई मतदान गर्न देशभरका सहकारीकर्मीलाई निर्देशन दिइएको छ । पार्टीका नेताहरुमार्फत सहकारीकर्मीलाई धक्याउने, तर्साउने र प्रलोभन देखाउने काम भइरहेको बताइएको छ।
२०७६ सालमै भएको थियो साझा सहमती माथि घात
दलहरुबीच गठबन्धन हुने प्रचलन त पुरानै हो, २०७६ पुस तेस्रो साता राष्ट्रिय सहकारी महासंघको निर्वाचन थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेको थियो, नेकपा र नेपाली कांग्रेसबीच महासंघमा साझा उम्मेदवार उठाउने सहमति भयो ।
सहमति पत्रमा नेपाली कांग्रेसका तर्फबाट सहकारी विभाग प्रमुख बालकृष्ण खांड र सहकारी अभियानका तर्फबाट डिल्लीराम तिवारी तथा नेकपाका तर्फबाट सहकारी विभागका प्रमुख पशुपति चौलागाइ र अभियानका तर्फबाट धर्मदत्त देवकोटाले दस्तखत गरेर मिनराज कंडेलको नेतृत्वमा महासंघमा साझा टिम अगाडि बढाउने निर्णय गरेका थिए ।
त्यतिबेला महासंघका पदाधिकारी तीन जनाको थियो, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नेकपालाई र उपाध्यक्ष नेपाली कांग्रेसले लिने सहमति भएको थियो । अध्यक्षमा कंडेल, वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल र उपाध्यक्षमा डिल्लीराम तिवारीलाई उम्मेदवार बनाइयो ।
दुइ दलका चार जनाले लिखित सहमति गरेर साझा उम्मेदवार उठाएको विषयमा राष्ट्रिय सहकारी महासंघका तत्कालिन अध्यक्ष समेत रहेका नेकपाका नेता केशव बडालले त्यो सहमतिलाई मानेनन् उनले उपाध्यक्षमा रमेशप्रसाद पोखरेललाई उम्मेदवार बनाए ।
प्रत्येक मतदातालाई अध्यक्षको कार्यकक्षमा बोलाउदै रमेश पोखरेललाई अन्याय भयो, पार्टीले ठिक निर्णय गरेन, सहमतिका नाममा पेल्ने काम भयो भन्दै सम्झाउने र मत माग्ने काम गरे । नेकपा अन्तरगतको एमालेको बहुमत थियो, कांग्रेसको पनि एक समुह असन्तुष्ट थियो, अन्तत अरु सबै पदमा साझा उम्मेदवार निर्वाचित हुँदा उपाध्यक्षमा बागी उम्मेदवार पोखरेललाई बिजयी गराए ।
तिनै केशव बडाल र रमेश पोखरेलले भर्खरै हार्दिक होटलमा भएको कार्यक्रममा दलहरुको साझा उम्मेदवारलाई जिताउन देशभरका प्रतिनिधिहरुलाई आव्हान गर्दा विगत विर्सियएछन् भन्ने चर्चा सहकारी क्षेत्रमा छ।२०७६ सालमा पार्टीको सहकारी विभाग र अभियान बसेर गरेको सहमति ठिक नहुने, गलत हुने र त्यसका विरुद्ध बागी उम्मेदवार उठ्ने र उठाउनेले अहिले साझा उम्मेदवारको नारा लगाउदा सहकारी अभियानकर्मीहरुले पुरानो नजिरलाई चर्चाको विषय बनाएका छन् ।
त्यो बेलाका नेकपाका सहकारी विभाग प्रमुख पशुपति चौलागाईको २०७८ बैशाख २८ गते कोरोना संक्रमणका कारण निधन भइसकेको छ । अभियानमा रहेका सहकारीकर्मीहरु त नेताको विरोध गर्दा पद नपाइएला, सत्य कुरा बोल्दा अप्ठेरोमा परिएला भनेर मौन बसेपनि भित्रभित्रै विरोधको आवाज भने घन्किएको छ।
Leave a comment