काठमाडौं । सहकारी संस्थाहरुबाट लिएको ऋण समयमै तिर्न सूर्यविनायक नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नियम अनुसार ऋण नतिर्नेहरुलाई सहकारी ऐन अनुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
‘सहकारी संस्थाहरुबाट ऋण लिई तोकेको समयभित्र नियमानुसार साँवा र ब्याज नबुझाउने र साँवा र ब्याज बुझाउन ताकेता गर्दा समेत ऋणी सदस्यहरुले सावाँ, व्याज फिर्ता नगर्दा बचतकर्ता बचत फिर्ता गर्न र सहकारी संस्था सञ्चालनमा कठिनाई परेको गुनासो आएको छ’ नगरपालिकाको सूचनामा उल्लेख छ, ‘ऋणी सदस्यहरुले तोकेको भाखामा नियमानुसार साँवा र ब्याज बुझाई बचतकर्ता सदस्यहरुको नियमानुसार बचत फिर्ता गरी सहकारी संस्थाहरुमा देखिएको हालको समस्यालाई समाधान गर्न सहयोग गर्नुहुन ऋणी सदस्यहरुलाई अनुरोध छ । ऋणी सदस्यहरुले समयमा नियमानुसार साँवा, ब्याज नबुझाएमा नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम जायजेथा नामसारी, बिक्री गर्न नपाउने गरी रोक्का तथा लिलाम बिक्री समेत हुन सक्ने भएकोले जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
संघियता कार्यान्वयनसँगै डिभिजन सहकारी कार्यालयले नगरपालिकालाई १२८ वटा संस्थाहरुको अभिलेख हस्तान्तरण गरेको थियो । हाल नगरपालिकाभित्र सहकारी संस्था र सेवाकेन्द्र गरी २२३ वटा संस्थाहरु संचालनमा छन् । त्यसमध्ये अधिकांश सूचिकृत छन् ।

Leave a comment