काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक डा. बाबुकाजी थापाले सहकारीका कारण महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा ठूलो योगदान पुगेको बताएका छन् । घरेलु तथा साना उद्योग स्थापना गरी महिलाहरुले वस्तु उत्पादन तथा बजारिकरणमार्फत् आय आर्जनमा वृद्धि गर्न सकेको उनले बताए ।
मुलुकभर रहेका सहकारीमार्फत् महिलाहरुले कृषि, घरेलु तथा साना उद्योग स्थापना गरी आम्दानी गर्न सक्ने सम्भावना समेत उत्तिकै रहेको उनले बताए । महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले ‘पोलिसी’ र ‘लिगल फ्रेमम’लाई बलियो बनाउन सके सहकारी मार्फत् महिलाले उल्लेख प्रगति गर्न सक्ने जनाए ।
नेपालको सहकारीमा महिलाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले सदस्यको हिसावले ५६ प्रतिशत महिला सहकारीमा आवद्ध रहेको, सञ्चालक समितिमा ४० प्रतिशत र व्यवस्थापनमा २० प्रतिशत महिला रहेको उनले जानकारी दिए ।
त्यसैगरी सहकारी मार्फत् ५० प्रतिशत महिलाले रोजगारी पाएको भन्दै उनले ४ सय भन्दा बढी उद्योग सहकारीले सञ्चालन गरेको जानकारी दिए । सहकारीकै कारण महिलाहरुमा वित्तीय तथा सम्पत्तिमा पहुँच वृद्धि र पारिवारिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सकेको उनको भनाई छ ।
महिलाहरु वित्तीय रुपमा सक्षम बन्दै जाँदा श्रीमानको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनु सबल पक्ष भएको थापाले उल्लेख गरे । सहकारीले आय आर्जनको क्षेत्रमा समेत स–सानो पुँजी लगानी गरी उद्यमी बनाएको र यसले परिवारको आम्दानी बढेको अध्ययनले देखाएको उनको भनाई छ । जसले गर्दा बालबच्चालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको भन्दै महिलाद्धारा सञ्चालन गरेको सहकारीमा समस्या नआएको समेत उनले जनाए ।
मुलुकमा अन्य प्रकृतिको सहकारी धेरै भए पनि श्रम सहकारीको संख्या कम भएको उनले बताए । अन्य प्रकतिको तुलनामा श्रम सहकारी संस्थाको सख्यामा बढाउन सके रोजगारी सृजना र आय आर्जन वृद्धिमा थप टेवा पुग्ने उनको विश्वास छ । नेपालमा भएका ३२ हजार सहकारी संस्थाले १० खर्र्ब पुँजी सकलन गरी ९ खर्ब माथि पुँजी परिचालन गरेको उनले बताए ।
सहकारी महासंघले सरकारका साथै अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्ने तथा ‘लबिङ र एड्भोकेसी’मा समेत काम गर्दै आएको प्रस्तुतीकरणको क्रममा उनले जानकारी दिए । त्यसका साथै सहकारीमा शुसासन कायम गर्ने, व्यवसायिक र आत्मनिर्भर संघ बनाउने जस्ता कार्यमा महासंघको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ।
सहकारी क्षेत्र व्यवस्थित नहुनुमा अभियान र सरकारी निकायबिच समन्वयको अभाव, नियामक निकायबिच समन्वयका साथै सहकार्यको अभाव, सहकारीमैत्री कानुनको अभाव र प्रभाकारी नियमनको अभाव जस्ता समस्या रहेको उल्लेख गरे । त्यसैगरी लेखा समिति र सञ्चालक समितिको काम, कर्तव्य र जिम्मेवारी जस्ता ज्ञानको अभाव पनि सहकारीमा समस्या आउनुको कारण उनले सुनाए ।
सदस्यहरुमा सहकारी शिक्षाको अभाव, सहकारी मूल्य, मान्यता र सिद्धान्तसँगै नीतिगत र कानूनी ज्ञानको अभावले पनि नेपालको सहकारी अभियान व्यवस्थित हुने नसकेको उनले जनाए । अर्कोतर्फ सहकारीको लगानी अनुत्पादक क्षेत्रमा रहेको र बैंकले लगानी गर्दा सम्पूर्ण प्रक्रिया पुरा गर्ने भए पनि सहकारीले सहज लगानी गर्नु पनि अर्को समस्या रहेको थापाको भनाई छ।
लगानी प्रक्रिया फितलो हुँदा असुलीमा समस्या हुने भएकाले बलियो कागजात पुरा गरेर मात्र लगानी गर्न उनको सुझाव छ। सदस्यले जम्मा गरेको बचतलाई समग्र पक्षको विश्लेषण गरेर लगानी गर्नु पर्नेमा उनको जोड छ । लगानीका क्रममा ऋणीको परियोजना लगायत व्यवसायिक क्षमतालाई समेनत ध्यान दिनसके ऋण लगानी सुरक्षित हुने उनले बताए ।
पुरुषको तुलनामा महिलाहरु इमानदार हुने र आर्थिक पाटोमा पारदर्शी भएकाले महिलाले सञ्चालन गरेको सहकारीमा कुनै समस्या नआएको उनले बताए । सुदुरपूर्वदेखि सबै क्षेत्रका महिलाहरु समेत सहकारीकै कारण यस्ता राष्ट्रिय सम्मेलनमा भाग लिन सकेको भन्दै उनले सहकारीले विभिन्न सीप विकासको अवसर प्रदान गरेको जनाए ।
जसले गर्दा महिलाहरु सबल बन्न थप सहयोग पुगेको र निर्णय तहमा महिलाको भूमिका बढेको उनले प्रस्तुतीकरणका क्रममा जानकारी दिए । सेसनको चेयर गर्दै महासंघकी सल्लाहकार डा. उषा झाले मुलुकभरका महिलाहरु एकै ठाउमा भेला भई छलपल गर्ने र अनुभव आदान प्रदान गर्ने अवसर यो सम्मेलनले प्रदान गरेको बताइन् । यसलाई सहकारीले प्रदान गरेको अवसरको रुपमा लिन उनको आग्रह छ।
कतिपय सहकारी संस्थामा महिलाहरुलाई नेतृत्वको चुनौति रहेको भन्दै महिलामैत्री वातावरण बनाउन सबै पक्ष लाग्नु पर्नेमा उनको जोड छ । कतिपय सहकारीमा सदस्यलाई हित हुने भन्दा पनि पदाधिकारीहरुलाई लाभ हुने गरी नीति बनाउने गरेको उनले सुनाईन् । महिलाहरु पनि सहकारीको लिडरसीप रहेको र ४० प्रतिशत महिला लिडरसीपमा हुनु उपलब्धि रहेको उनले बताईन् ।
Leave a comment