जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था कर्णाली प्रदेशकै नमुना सहकारीको रुपमा स्थापित हुदै गएको छ । माथिल्लो कर्णालीका मुगु, कालिकोट र जुम्लाका ग्रामीण भेगमा महिलालाई बचत गर्न सिकाउने, व्यवसाय गर्नका लागि ऋण लगानी गर्नेदेखि उनीहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिमलगायतका सेवामा केन्द्रित रहेको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए ।
सहकारीमा हालसम्म सहकारीमा २० हजार सदस्य बनिसकेका छन् ।संस्थाले गत आवमा एक करोड पाँच लाख ४० हजार खुद नाफा गरेको छ । गत आवसम्ममा एक अर्ब ५८ करोड आठ लाख ७२ हजार कर्जा प्रवाह गरेको १२औँ साधारणसभामा सहकारीका अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिइन् ।
साधारणसभामा बोल्दै सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जुम्लामा स्थापना भएको सहकारी नेपालकै लागि गौरवको सहकारीका रुपमा स्थापित भएको बताए । ‘सेयर लगानी बढाउनुपर्छ भने सहकारी शिक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ’, उनले भने, ‘यहाँका महिलालाई आर्थिकरुपमा परिपक्क बनाउन सहकारीले विशेष प्रकारका योजना ल्याउनु आवश्यक छ ।’
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जिल्लामै एक अर्ब बढी कारोबार गर्ने सहकारीले आर्थिक र सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताए ।पातारासी गाउँपालिकाका पूर्वध्यक्ष लक्षिमन बोहराले सहकारीको समृद्धिका लागि सबै लाग्नुपर्ने भन्दै कुशल नेतृत्वमा जोड दिनुपर्ने बताए । तिला गाउँपालिका पूर्व उपाध्यक्ष विष्णुमाया बुढाले चन्दननाथ सहकारीमा महिला सहभागिता र बचत गर्ने सिकाइ निकै राम्रो भएको भन्दै अझै अगाडि बढाउन सुझाव दिए ।
Leave a comment