चीना थापा, विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले आगामी आर्थिक बर्षमा सदस्य बृद्धि गर्ने, सदस्यहरुको उत्पादन तथा सेवा प्रति प्रतिक्रिया बुझ्न सदस्यहरुको सर्वेक्षण गर्ने योजना अघि सारेको छ । संघको २९ औं साधारण सभाको अबसरमा सचिव एकराज निरौलाद्धारा बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै उत्पादन तथा सेवाको विक्री वितरणका लागि उपकरण तथा बजार सामग्री निर्माण गर्ने, असल सदस्यहरुलाई प्रोत्साहन गर्नका लागि पुरस्कार तथा सम्मानको व्यवस्था गर्ने, सदस्य साकोसहरुका ज्ञान तथा गुनासो प्राप्त गर्न विभिन्न उपायको अवलम्वन गर्ने बताए ।
यसैगरी संघले संस्थाहरुमा गुणस्तरीयता कायम राख्ने तथा अनुगमन गर्ने उपायहरुको अवलम्वन गर्ने, सदस्यहरुलाई आन्तरिक सूचना तथा सञ्चार पुर्याउन विभिन्न क्रियाकलाप गर्ने, सदस्यहरुलाई आन्तरिक सूचना तथा सञ्चार पुर्याउन विभिन्न क्रियाकलाप गर्ने, सदस्य संस्थाहरुलाई ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न तालिम÷गोष्ठी सञ्चालन गर्ने, संघलाई प्रविधियुक्त बनाउँदै सदस्यहरुलाई सेवा प्रदान गर्ने लगायतका कुराहरु संघमा आगामी कार्य योजना बनाएको छ ।
संघमा आवद्ध सहकारीहरुको कुल सम्पति १६ अर्व ४७ करोड ४७ लाख ४१ हजार ६१४ रुपैया रहेको छ । आफ्नै भवन भएका सहकारी संस्थाहरु ७९ वटा रहेको छन् भने सफ्टवेयरबाट कारोबार गर्ने संस्थाहरु ८४ वटा रहेका छन् । त्यसैगरी जम्मा सदस्य संस्था २ लाख १२ हजार १२६ जना रहेका छन् । जसमा महिला १ लाख २५ हजार २६ जना रहेका छन् भने पुरुष सदस्य ८७ हजार १ सय रहेका छन् । कर्मचारी संख्या ८१८ जना रहेका छन् । शेयर पुँजी २ अर्व ९ करोड ५ लाख २० हजार, कोष हिसाब १ अर्व ९१ करोड ४२ लाख ७ हजार, निक्षेप १२ अर्व ३२ करोड ३७ लाख ४४ हजार, ऋण लगानी १३ अर्व १२ करोड ८३ लाख १३ हजार पुगेको जानकारी दिइयो ।
जिल्ला बचत संघमा २६९ वटा सहकारी शेयर सदस्य रहेका छन् । संघका कोषाध्यक्ष जीवन बस्नेतद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संघको शेयरपुँजी १३ करोड ८७ लाख ७ हजार, कोष हिसाव ६८ लाख ३६ हजार, बचत निक्षेप ११ करोड ५८ लाख १६ हजार रहेको जानकारी दिए ।
संघले आगामी आर्थिक बर्षमा १० करोडसम्म वासलतमा रहेको सदस्य प्रति सहकारीबाट एक हजार, १० करोड देखि २० करोडसम्मको वासलतमा रहेको सदस्य प्रति सहकारीबाट २ हजार, २० करोडदेखि ३० करोडसम्म वासलतमा रहेको सदस्य प्रति सहकारीकाट ३ हजार, ३० करोड देखि ४० करोडसम्म वासलतमा रहेको सदस्य प्रति सहकारीबाट ४ हजार र ४० करोडमाथि वासलत रहेको सदस्य प्रति सहकारीबाट ५ हजार मासिक बचत योजना ल्याएको छ । २०७९ माघबाट नै बचत बृद्धि योजना लागु गर्ने कोषाध्यक्ष बस्नेतले बताए ।
संघका लेखा समिति संयोजक विष्णुप्रसाद ओझाले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिले ऋण लगानी र सदस्यता वृद्धिका लागि थप प्रभावकारी योजना बनाई कार्यान्वयन गर्नुपर्ने, सञ्चालक समिति र अन्य उपसमितिले कार्ययोजनामा उल्लेखित कार्यक्रमहरुलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने, साकोस युनिट गठन भई क्रियाशिल रहेको छ, त्यसलाई अझ प्रभावकारी बनाउनुपर्ने, सदस्य संस्थाहरुसँग विभिन्न कार्यक्रमहरु मार्फत सघन सम्पर्क बढाउनु पर्ने, नविनतम् प्रकृतिका तालिमहरु सञ्चालन गरी सदस्य संस्थाहरुलाई दिक्षित गर्नुपर्ने, मासिक रुपमा बिल भरपाई र भौचर प्रमाणित गनुृपर्ने र सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिलाई समयानुकूल क्षमता अभिवृद्धि तालिमको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
Leave a comment