काठमाडौं । सहकारीकर्मी ज्ञान बहादुर तामाङ वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट समानुपातिक कोटाबाट तामाङ निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको छ । पार्टीले आयोगमा बुझाएको बन्दसूचीमा आदीवासी जनजातीको कोटामा तामाङलाई राखेको थियो ।
लामो समयदेखि सहकारी अभियन्ताको रुपमा सक्रिय तामाङ जिल्ला सहकारी संघ काठमाडौैंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका संचालक छन् । उनी नेकपा एमालेको सहकारी तथा गरिवी निवारण विभागको सदस्य समेत रहेका छन् ।
सहकारीमैत्री ऐन कानुन तथा नीतिका लागि सहकारीकर्मीका रुपमा लविङ गरेपनि सुनुवाई नभएकाले आफु राजनीतिमा सक्रिय भएको उनले बताए । संसदमा पुगेपछि राज्यका ऐन, कानुन सहकारीमैत्री बनाउनका लागि पहिलो प्राथमिकता रहने उनले उल्लेख गरे । ‘अहिलेसम्म बाहिर बसेर सहकारी मैत्री ऐन कानुन, नीति तथा कार्यक्रमका लागि लविङ, एड्भोकेसी गरिरहेको छु’ उनले भने, ‘कतिपय हाम्रा माग सम्बोधन भएपनि कतिपय बाँकी छन्, अधुरा कामलाई पुरा गर्नका लागि नीतिगत ठाउँबाट मेरो सक्रिय भूमिका रहनेछ ।’
एमालेले घोषणपत्रमै ‘सहकारीबाट व्यवसाय प्रवर्धनः नागरिकको आर्थिक उन्नयन’ भन्ने नारा सहित आगामी ५ वर्षभित्र सहकारीका सदस्य एक करोड र बचत परिचालन १० खर्ब रुपैयाँ योजना बनाएको तथा सहकारीका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको र त्यसलाई कार्यान्वयन गर्न आफ्नो भूमिका रहने उनले बताए ।
Leave a comment