तनहुँ । ऋण दिएर व्यवसायीक पशुपालनमा प्रोत्साहन गर्दै आएका सहकारी संस्थाहरुले सदस्यको उत्पादन बजारीकरणका लागि समेत काम गर्न थालेका छन् । किसानका उत्पादनले उचित बजार र मूल्य नपाएको गुनासो गरेपछि सहकारी संस्थाहरुले वजारीकरणमा पनि काम गर्न थालेका हुन् ।
तनहुँको घिरिङ गाउँपालिकामा महिलाको सक्रियतामा खोलिएको सहकारीले पाठापाठी खरिददेखि उत्पादित खसीबोकाको बजारीकरणमा सहजीकरण गर्न थालेपछि किसानलाई निकै सजिलो भएको छ । सहकारीमार्फत खसी बेच्न थालेपछि कसलाई बेच्ने, कतिमा बेच्ने, उचित मूल्य पाइएला कि नपाइएला भन्ने जस्ता चिन्ता नभएको घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी सदस्य देवीकला थापा बताउछिन् । उनले यस वर्षको दसैंमा तीनवटा खसी ४८ हजार रुपैयाँमा बेचिन् । ‘सहकारीमार्फत खसी बेच्दा उचित मूल्य पाएँ आफैंले बेचेको भए मुस्किलले ३५–३८ हजार रुपैयाँ पनि पाउँथिनँ होला’ उनले भनिन् ।
व्यापारीले हचुवामा लगिने खसी अहिले सहकारीले उचित मूल्य दिएर किनिदिन्छ । भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीबाट दसैंका लागि २ सय ४५ वटा खसीबोका बिक्री भए । यसबाट गाउँमा ३५ लाख ६७ हजार २ सय रुपैयाँ भित्रिएको सहकारीकी अध्यक्ष देवीमुक्तान आलेले बताइन् ।
राम्रो मोलभाउ गर्न नसक्दा बिचौलियाबाट धेरै ठगिने गरेको भिमाद–९ की सुमाया थापाको भनाइ छ । ‘चाडपर्वमा खसी लिन व्यापारी घरघरमै आउँथे । तर हामीबाट कम दाममा खरिद गरी उनीहरूले उपभोक्तालाई बढी मूल्यमा बेच्दा रहेछन्,’ उनले भनिन्, ‘अहिले भने सहकारीले प्रतिकिलो यतिउति भनेर छुट्याइदिएको छ । हामीलाई मोल गर्न पनि सहज भएको छ ।’
तनहुँका ८ र लमजुङका २ गरी १० सहकारीले दसैंमा मात्रै साढे दुई करोड रुपैयाँ बराबरको खसीबोका बिक्री गरेका हुन् । किसानबाट सहकारीले प्रतिकिलो ५६० रुपैयाँमा खरिद गरी व्यापारीलाई ५६५ रुपैयाँमा बिक्री गर्ने गरेका छन् । यसरी बिक्रीवितरण गर्दा किसानलाई नै बढी फाइदा हुने देखिएको छ ।
Leave a comment