हाइलाइट

सुदुरपश्चिमका सहकारीद्धारा बैंकको शाखा माग 

सुदुरपश्चिमका सहकारीद्धारा बैंकको शाखा माग  :: Sahakari Akhabar

काठमाडौं । सुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुले सहकारी बैंकको शाखा माग गरेका छन् । अछामको साँफेबगरमा बैंकले गरेको अन्तरक्रिया कार्यक्रममा अछाम, बाजुरा र डोटी जिल्लाका सहकारीकर्मीहरुले बैंकको शाखा स्थापना गर्न माग गरेका हुन् । 

जिल्लामा सहकारी बैंकको शाखा नहुँदा कारोबार गर्नका लागि निजी बैंकको भर पर्नुपरेको गुनासो गर्दै उनीहरुले वित्तीय सहजता र संस्थागत विकासका लागि शाखा खोल्न आग्रह गरे । हाल सुदुरपश्चिममा सहकारी बैंकका धनगढी र महेन्द्रनगरमा गरी दुई वटा मात्र शाखा संचालनमा रहेका छन् । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी संस्थाहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि सहकारी बैंकको शाखा वा सेवाकेन्द्र आवश्यक रहेको बताए । साँफेवगर नपरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवर तथा बडिमालीका नगरपालिकाका प्रमुख अमर खड्काले सहकारी बैंकको शाखा वा सेवाकेन्द्र संचालनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले सहकारीलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि सहकारी अभियान र स्थानीय सरकारबीच सहकार्यमा जोड दिए । 

बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका संचालक तथा सुदुरपश्चिम प्रदेश संयोजक शिवा थापा, सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुरत बहादुर थापा, जिल्ला सहकारी संघ अछामका अध्यक्ष अमरनाथ न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ अछामका अध्यक्ष चन्द्र प्रसाद भण्डारी, अछाम नगरपालिका सहकारी शाखा प्रमुख टंकप्रसाद पन्तलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा अछाम, डोटी तथा बाजुरा जिल्लाका ९० भन्दा बढि सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । 
 
 



Leave a comment