म्याग्दी । सहकारी संस्थाहरुलाई नाफामा भन्दा पनि सदस्यहरुको सेवामा केन्द्रीत गर्नु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालकहरुका गरेको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा बोल्दै वक्ताहरुले सहकारी नाफामुखी नभई सेवामुलक व्यवसाय भएकोमा जोड दिए ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सदस्यहरुलाई सहकारीका बारेमा धेरै भन्दा धेरै जानकारी दिनु पर्ने आवश्यक्ता औल्याए । सहकारी सदस्यहरुको सहभागितामा सञ्चालन हुने व्यवसाय रहेकोमा जोड दिदै उनले सदस्यले नै यसलाई प्रवद्र्धन र नियन्त्रण गर्न सक्ने र सदस्यहरुका लागि फाइदा हुने खालका योजना र कार्यक्रमहरु बनाएर काम गर्नु औलाए । ‘सहकारीलाई नाफामा भन्दा पनि सदस्यहरुको सेवामा बढी केन्द्रीत गर्नु पर्दछ’ उनले भने ।
सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा भएको कार्यक्रममा सहकारी व्यवस्थापन, वित्तीय सुशासन, सहकारी सञ्चालनका लागि सञ्चालक र लेखा तथा सुपरीवेक्षण समितिको भूमिका लगायतका विषयमा तालिम प्रदान गरिएको अध्यक्ष चिना बाँनियाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले सहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनका हिसावले प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारी सचेतना आवश्यक रहेको बताए ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश कुमार थापाले सहकारी र सामाजिक विकास कार्यालयको सम्बन्ध लगायतका विषयमा सहजीकरण गरेका थिए ।
तालिमका सहभागीहरुको तर्फबाट बोल्दै संस्थाका लेखा समितिका संयोजक पशुपति शाहीले तालिमले सहकारीलाई थप प्रभावकारी रुपमा सञ्चालनका लागि सहयोग पुग्ने बताए ।
Leave a comment