बागलुङ । सहकारीमा पछिल्लो समय देखिएको समस्या समाधान नभए आन्दोलन गर्नुपर्ने आवाज उठ्न थालेको छ । अभियान र सरकारबीच सहकार्य र समन्वय गरेर अघि बढेमा समस्या समाधान हुने म्याग्दी जिल्लाका सहकारीकर्मीले जनाएका छन् ।
जिल्ला सहकारी संघ म्याग्दीले बिहीवार आयोजना गरेको ‘सहकारीको समसामयिक अवस्था, समस्या पहिचान र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए ।
सहकारीकर्मीले सहकारी विभागलाई सन्दर्भ ब्याजदर परिमार्जनका लागि तत्काल वैठक बस्ने वातावरण मिलाउन माग गरे । उनीहरुले संविधानको मर्म र भावना अनुसार अर्थतन्त्रको एक खम्बा सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्ने दायित्व सहकारी विभागको भएकाले समस्या समाधानका लागि पहल गर्न माग गरेका हुन् ।
राष्ट्रिय सहकारी महासंघलाई सहकारीका विद्यमान समस्या समाधानका लागि सरकारसँग समन्वय गर्न, दवाव सिर्जना गर्न तथा आवश्यक पर्दा देशव्यापी आन्दोलनका लागि समेत लाग्न सुझाव पठाउने निर्णय सहकारीकर्मीले गरेका छन् ।
राज्यसँग समन्वय गरेर विद्यमान समस्या समाधानका लागि सहकारी अभियानले थप सक्रियता बढाउन आवश्यक भएको जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले बताए । ‘समन्वय गर्दा पनि समस्या समाधानमा राज्यका तर्फबाट सुनुवाई भएन भने देशभरका सहकारीकर्मीलाई सडकमा उतार्न राष्ट्रिय सहकारी महासंघले आव्हान गर्नु पर्दछ’ उनले भने ।
‘सहकारी वित्तीय कारोबार गर्ने क्षेत्र हो, यसले राज्यसँग समन्वय गरेर काम गर्नुपर्छ,’ कार्कीले भने,‘सहकारीलाई समस्या पर्दा राज्यका तर्फबाट पहलकदमी भएन भने दवाव सिर्जना गर्ने र आवश्यक पर्दा आन्दोलनको अगुवाई समेत अभियानले गर्नुपर्छ ।’
सहकारी संघ संस्थालाई सुशासनमा रहेर सञ्चालन गर्न, सहकारीका शेयर सदस्यलाई वर्तमान समस्याका बारेमा जानकारी गराउन, सेयर र बचत वृद्धिका साथै ऋणको किस्ता र ब्याज समयमै बुझाउनका लागि योजना बनाउन, सहकारीका सकारात्मक विषय र पछिल्लो समयको समस्याका बारेमा सदस्यहरुलाई जानकारी हुने गरी नियमित रुपमा सहकारी शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आव्हान गरिएको छ ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, जिल्ला सहकारी संघ म्याग्दीका पूर्वअध्यक्ष देउप्रसाद छन्त्याल, राष्ट्रिय सहकारी बैंक म्याग्दी जिल्ला स्तरीय समन्वय उपसमितिका संयोजक रमेश गिरी लगायतले सहकारीमा समस्या आउनुका कारण, समस्या समाधानका लागि सहकारी अभियानकर्मी र राज्यका तर्फबाट गर्नुपर्ने कामका विषयमा धारणा राखे ।
Leave a comment