विराटनगर । बेलबारी नगरपालिकाकै ठुलो सहकारीको रूपमा परिचित लालीगुराँस बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा १ करोड ३९ लाख ४७ हजार नाफा गरेको छ । ५ करोड १२ लाख आम्दानी गरेको संस्थाले ३ करोड ७२ लाख ५२ हजार खर्च गरेको २८ औ वार्षिक साधारणसभामा जानकारी दिइयो ।
संस्थाका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा भएको साधारणसभाले वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ ।साधारणसभाको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले सहकारीले पुर्याएको योगदानको कदर गर्दैै सदस्यको मनोभाव बुझेर अघि बढ्नुपर्ने बताए । उनले संचालक तथा सबै सदस्यमा आर्थिक इमान्दारिताको खाँचो समेत औल्याए । नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइरालाले नगरकै जेठो संस्थाले सेयर सदस्यको हीतमा काम गरिरहेकोमा खुसी व्यक्त गरिन् ।
साधारणसभामा जिल्ला वचत संघका सचिव रेकराज निरौला, प्रदेश वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरिप्रसाद सुवेदी, दीपज्योति नारी विकास सहकारीका अध्यक्ष एवम् जिल्ला बचत संघकी उपाध्यक्ष पार्वती बराल, बेलबारी नगरपालिकाका सहकारी विभागका प्रमुख इन्द्रमणि कट्टेल, हिमालय साकोसका अध्यक्ष शिवप्रसाद लामिछाने सहभागिता रहेको थियो ।
साधारणसभामा जिल्ला बचत संघ मोरङका संस्थापक अध्यक्ष चन्द्रप्रकाश गौतमलाई लालीगुराँस सहकारी अवार्डबाट सम्मानित गरिएको थियो भने लालीगुराँस सहकारीको सदस्य रही आसन्न स्थानीय निर्वाचनमा विजयी बेलबारी नगरपालिका नं १, २ र ३ का अध्यक्षहरू क्रमशः मणिबहादुर पुलामी मगर, कृष्णबहादुर गुरुङ, योगेन्द्र सुवेदी र सदस्यहरूमा सञ्चमाया लिम्बू, दीपक लिम्बू लगायतका सातजनालाई सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा पूर्व संचालक सम्मान, जेष्ठ नागरिक सम्मान, उत्कृष्ट सेयर खरिदकर्ता सम्मान आदिबाट सेयर सदस्यलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण संस्थाका सचिव नारायणप्रसाद आचार्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजेन्द्र थापा र लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक राजु बस्नेतले प्रस्तुत गरेका थिए ।
साधारणसभाकै अवसरमा भएको रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको व्यवस्थापक केशव रुपाखेतिले जानाकारी दिए ।
Leave a comment