काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको संघीय तथा प्रदेशको चुनावका लागि सहकारीका नेताहरु पनि आकांक्षी देखिएका छन् । सहकारी संघसंस्थाको नेतृत्वबाट सामाजिक तथा राजनीतिक रुपमा पहुँच बनाएका सहकारीकर्मीहरुले संघ र प्रदेशको सांसदका लागि दावी पेस गरेका हुन् ।
विभिन्न राजनीतिक दलका स्थानिय कमिटीहरुले संघीय सांसद तथा प्रदेशका लागि गरेको उम्मेदवार सिफारिसमा सहकारी क्षेत्रका नेताहरु पनि अटाएका छन् । कांग्रेस, एमाले र माओवादीले सहकारीकर्मीलाई सांसदको टिकटका लागि सिफारिस गरेका हुन् । एकल सिफारिसमा नपरेपनि अधिकांशले टिकट पाउने दावी गरेका छन् ।
हालसम्म सार्वजनिक भएको विवरण अनुसार सहकारी अभियान्ताहरु दक्ष पौडेल, सीताराम काफ्ले र इन्दिरा पन्तको नाम संघीय सांसदका लागि सिफारिसमा परेको छ । त्यस्तै केदार मानन्धर, जीवसराज खड्का, जगतलाल महर्जन, मनोज थापा मगर, सिवी लामालगायतका सहकारीकर्मीहरु प्रदेश सांसदको सिफारिसमा परेका छन् ।
राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सहअध्यक्ष तथा हब कोअपरेटिभका अध्यक्ष पौडेल काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा चुनावका लागि सिफारिसमा परेका हुन् । पौडेलसहित ७ जनालाई कांग्रेस क्षेत्रीय समितिले सिफारिस गरेको हो । जिल्ला कमिटी हुँदै केन्द्रीय कमिटीले सिफारिस गरेका नामबाट उम्मेदवार छनोट गर्नेछ ।
यस्तै उपभोक्ता केन्द्रीय सहकारी संघका पूर्व महासचिव सीताराम काफ्ले काठमाडौं क्षेत्र नम्बर ५ को सांसदका लागि सिफारिस भएका छन् । रोयल बहुउद्देश्यीय सहकारी सस्थाका प्रबन्ध संचालक,मुक्तिनाथ क्यापिटलको अध्यक्ष, मुक्तिनाथ कृषि कम्पनि र मुक्तिनाथ फाउण्डेसनको संचालक रहेका काफ्ले कांग्रेसबाट सिफारिस भएका हुन् ।
सहकारीकर्मी इन्दिरा पन्त काठमाडौं क्षेत्र नं ७ बाट संघिय सांसदका लागि सिफारीसमा परेकी छिन् । रोयल बहुउद्देश्यीय सहकारीकी उपाध्यक्ष रहेकी उनलाई नेकपा एमालेले सांसदका लागि सिफारीस गरेको हो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक केदार मानन्धर काठमाडौं क्षेत्र नम्बर ८ (ख) का लागि सिफारिस भएका छन् । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका मानन्धर कांग्रेसबाट सिफारिस भएका हुन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक जीवसराज खड्का दोलखा (क) मा प्रदेश सांसदका लागि सिफारिस भएका छन् । नेकपा एमाले दोलखाले जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष निर्वाचन क्षेत्रतर्फ खड्कासहित ४ जनाको नाम सिफारिस गरेको छ ।
बागमती प्रदेश सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन ललितपुर क्षेत्र नम्बर ३ प्रदेश (क) को उम्मेदवार सिफारिस भएका छन् । स्वागतम बचत तथा ऋण सहकारी संस्था ललितपुरका अध्यक्षसमेत रहेका महर्जनलाई कांग्रेसले सिफारिस गरेको हो ।
काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगर काठमाडौं क्षेत्र नं ९ को प्रदेश (ख)का प्रत्यक्षतर्फबाट उम्मेदवार सिफारिस भएका छन् । तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेका थापालाई नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेको हो ।
यसैगरी पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिवि लामा काभ्रे–१ (क) बाट प्रदेश सांसदका लागि प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका हुन् । लामा यसअघि पनि सोहि क्षेत्रबाट प्रदेश सांसदको उम्मेदवार बनेका थिए । अर्का सहकारीकर्मी मधुसुदन पाठक (सिते बा) ले पनि स्वतन्त्र रुपमा काठमाडौं क्षेत्र नं ५ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
Leave a comment