धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेशभित्र संचालिक सहकारी संस्थाहरुलाई सहूलियत ब्याजदरमा स्वरोजगार कर्जा उपलब्ध गराउने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले सुदूरपश्चिम प्रदेश स्वरोजगार कोषमार्फत सहुलियत कर्जाका लागि सहकारी संस्थाहरुसँग प्रस्ताव आवहान गरेको हो ।
कर्जा लिन चाहने सहकारी संस्थाहरुले भदौ २९ गतेसम्म आवेदन दिन पाउने छन् । कर्जाका लागि असार मसान्तसम्म सञ्चित नोक्सानीमा नरहेको हुनुपर्ने र ५ प्रतिशत भन्दा बढी भाखा नाघेको संस्थाहरुले सहुलियत कर्जा नपाउने ब्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार कोषले दार्चुला, बझाङ, बाजुरामा सञ्चालन भएका सहकारीको सेयर पुँजी २ लाख भएको, बचत रकम ४ लाख भएको र न्यूनतम सेयर सदस्य ५० सदस्य भएको सहकारीले २० लाखदेखि ३० लाखसम्म ऋण पाउने जनाएको छ ।
यस्तै बैतडी, डढेल्धुरा, डोटी, अछाममा ३ देखि ४ वर्ष सञ्चालनमा आएका सहकारीले ३० देखि ५० लाखसम्म ऋण पाउनेछन् । ती सहकारीको सेयर पुँजी गाउँपालिकामा ४ लाख, नगरपालिकामा ७ लाख ५० हजार र सदस्य २ सय भएका हुनुपर्ने प्रावधान छ ।
सहूलियत कर्जाका लागि सहकारीले आफ्ना सदस्यलाई कर्जा प्रवाह गरी ऋण प्रदान गर्ने निर्णय र प्रतिवद्धता पेश गर्नुपर्छ । कर्जा छनोट गर्ने सम्पूर्ण अधिकार कोषमा रहने जनाइएको छ । वैदेशिक रोजगारीमा गएका क्षेत्र, दुर्गम क्षेत्र, कोषको लक्षित वर्गक्षेत्रमा समूह बढी भएको क्षेत्र वा जिल्लालाई कर्जा प्रवाहमा प्राथमिकता हुने छ ।
कृषि, माछापालन, पशुपालन, मौरीपालन लगायत उत्पादन मूलक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्छ । कर्जा फारम पूर्ण नभएका, मापदण्ड पूरा नभएका, कागजात पूरा नभएका संस्थाको कर्जा प्रस्वाव रद्ध हुने कोषले जनाएको छ ।
Leave a comment