स्याङजा । सहकारी संघसंस्थामा जम्मा भएको बचत सहकारी प्रणालीभन्दा बाहिर जादा सहकारीमा तरलता समस्या भएको सरोकारवालाहरुले बताएका छन । अहिले देखिएको तरलता समस्या हल गर्नका लागि सहकारी प्रणालीमा जम्मा भएको रकम सहकारी बैंकलगायत संघहरुमा राख्नुपर्नेमा उनीहरुको जोड छ ।
राष्ट्रिय सहकारी बैंक वालिङ शाखाले बिहीवार वालिङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्याङ्जाका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको रकम सहकारी बैंक तथा अन्य संघहरुमा राख्न सुझाव दिए । यसैगरी सहकारीमा रहेको पुँजी, प्रविधिलगायतको स्रोतलाई अधिकतम परिचालनमार्फत समुदायको हितमा काम गर्न सहकारीहरुको संस्थागत विकास र प्रविधिको अधिकतम उपयोगमा ध्यानदिनु पर्नेमा सहभागीहरुले जोड दिए ।
कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले सदस्यहरुमार्फत समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा थप भूमिकानिर्वाह गर्ने गरी सहकारीहरुको संस्थागत विकास र वित्तीय सक्षमता बढाउनु पर्नेमा जोड दिए । सहकारी क्षेत्रलाई राम्रो बनाउदा जनताको आर्थिक तथा सामाजिक उन्नतीमा सहयोग पुग्नुका साथै राज्यको आर्थिक भार घटाउनमा समेत महत्वपूर्ण भूमिका हुने भएकाले राज्यका निकायहरु, मिडिया लगायत सरोकारवालाहरुले यसको प्रवद्र्धनमा सहयोग पुग्ने गरी धारणा तथा सञ्चार सामग्री प्रशारण गर्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा वालिङ नगरपालिकाकी उपप्रमुख कविता गैरेले सहकारी क्षेत्रको सवलीकरणका लागि राष्ट्रिय सहकारी बैंक र स्थानीयतहको सहकारी शाखाबीच समन्वय आवश्यक रहेको बताइन् । उनले बैंकसँग सहकार्य गरेर सहकारीको प्रवद्र्धन र विकासमा योगदान गर्न वालिङ नगरपालिकाले समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
Leave a comment