बागलुङ । सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरोकारवालाबिच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा आयोजना गरेको ‘सहकारी बैंकको सेवा र सहकारीका समसामयिक विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सबै एकजुट भएर समस्या समाधान गर्नुपर्ने बताए
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटाले सहकारीमा समस्या देखिदा आम समुदायममा नकारात्मक धारणा बनेको भन्दै सहकारीका समस्या समाधान गर्न सुझाव दिए । ‘सहकारीले जनतालाई आर्थिक सामाजिक रुपमा सक्षम बनाउने काम गरेको छ’ उनले भने,‘तर केही सहकारीले मूल्य, मान्यता, सिद्धान्त र ऐन नियम विपरित काम गरेका कारण समस्या आएको छ ।’ सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यलाई प्राथमिकतामा राख्ने सहकारीमा समस्या नआएको उनको दावी छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा, जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा लगायतले सहकारीमा पछिल्लो समय देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका सञ्चालक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा प्रस्तुतिकरण गरेका थिए । उक्त अवसरमा राष्ट्रिय सहकारी बैंकमा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट र नियमित कारोबार गर्ने जिल्ला वचत तथा ऋण सहकारी संघ र एकता सहकारी संस्थालाई सम्मान गरिएको छ ।
यसैगरी बैंक बागलुङ शाखाले सोमबार गलकोटमा आयोजना गरेको अर्काे कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि नगरपालिका र सहकारी अभियानबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले गलकोट क्षेत्रका सहकारीहरुलाई सक्षम बनाउनका लागि आवश्यक प्रविधि र शिक्षा प्रदान गर्न समन्वय गर्ने तथा बैंकको शाखा तथा सेवा केन्द्र सञ्चालनका लागि सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
Leave a comment