हाइलाइट

सुदूरपश्चिमका सहकारीलाई प्रदेश सरकारको २० करोड अनुदान 

सुदूरपश्चिमका सहकारीलाई प्रदेश सरकारको २० करोड अनुदान  :: Sahakari Akhabar

धनगढी । सुदूरपश्चिम प्रदेशले उत्पादन, प्रशोधन, बजारीकरण र भण्डारणको काम गर्नका लागि सहकारी संस्थाहरुलाई २० करोड रुपैयाँ अनुदान दिने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदानका लागि सहकारी संस्थाहरुबाट प्रस्ताव आवहान गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवम् प्रदेश रजिष्ट्रार गोकुलप्रसाद बोहराले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको बमोजिम सहकारीलाई अनुदान दिन प्रस्ताव मागिएको जानकारी दिए । प्रदेशका ९ वटै जिल्लाका कृषि तथा पशुपन्छी कार्यालयमार्फत अनुदान दिने ब्यवस्था छ । ‘केही जिल्लाले प्रस्ताव आह्वान गरिसकेका छन्, केही जिल्ला प्रस्ताव आह्वान गर्ने तयारीमा छन्’ उनले भने ।

कृषि उत्पादनका लागि सहकारी उपयुक्त मोडेल भएकाले प्रोत्साहन गरिएको उनले बताए । ‘उत्पादन र बजारीकरणमा सहकारीलाई महत्व दिएका छौं’ बोहरा भन्छन्,‘कृषिको रुपान्तरणका लागि सहकारीले महत्वपूर्ण योगदान पुर्याउने छ ।’

प्रदेश अन्र्तगत ३ सय ५५ वटा सहकारी छन् । सुदूरपश्चिम प्रदेश सरकारले सहकारी क्षेत्रको समग्र विकासका लागि भने १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्ष २०७९÷८० मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका लागि ३ अर्ब १० करोड ३६ लाख बजेट विनियोजन भएको छ । सरकार, निजी क्षेत्र र सहकारीको सहकार्यमा गरिबी निवारण, रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम बनेको बोहरा बताउँछन् ।

सहकारीमार्फत सिँचाइ व्यवस्था गरी उत्पादन बढाउने, कृषि यान्त्रिकरण तथा कष्टम हायरिङ, उत्पादनमूलक सहकारीलाई अनुदान दिइने बोहराले बताए । वस्तु खरिद र भण्डारणमा पनि सहकारीलाई प्रोत्साहन गर्ने मन्त्रालयको तयारी छ । 



Leave a comment