हाइलाइट

कर्णालीमा सहकारीको अवस्था  : पुँजी र बचतको तुलनामा अधिक कर्जा 

कर्णालीमा सहकारीको अवस्था  : पुँजी र बचतको तुलनामा अधिक कर्जा  :: Sahakari Akhabar

काठमाडौं । कर्णाली प्रदेशका सहकारी संस्थाहरुले पुँजी र बचतको तुलनामा अधिक कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनले सहकारीहरुमा बचतको तुलनामा कर्जा प्रवाह उच्च भएको औल्याएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तको तुलनामा आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ३३.८७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो पुँजी १०४.९७ प्रतिशतले बढेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तमा २१.५४ प्रतिशतले बढेको कुल बचत चालु आर्थिक वर्षको सोही अवधिमा १३.९ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा कुल ऋण प्रवाह करिव २७ प्रतिशतले वृद्धि भएको छ । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षको सोही अवधिमा करिव १६ प्रतिशतले बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सहकारीमा आबद्ध सदस्य संख्या पनि बढेको छ । गत वर्ष ७.०९ प्रतिशतले बढेको सदस्य संख्या चालु वर्षमा ४.६५ प्रतिशतले वृद्धि भएको छ । सहकारी संस्थाले सिर्जना गरेको रोजगारी पनि ११.११ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशमा रहेका सहकारी संस्थाको संख्या भने यथावत रहेको उल्लेख छ । रुकुम पश्चिमबाट ३, दैलेखबाट २, सुर्खेतबाट ४ र कालिकोटबाट १ गरी १० वटा सहकारी संस्थाहरु छनौट गरी प्रदेशको समग्र सहकारी क्षेत्रको अवस्थाबारे विश्लेषण गरेको हो ।



Leave a comment