विराटनगर । एउटा सहकारीको ऋण तिर्नका लागि अर्को सहकारीबाट ऋण लिने विकृती बढ्दै गएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजनामा भएको साकोस गोष्ठी–२०७९ वक्ताहरुले पनि यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा बोल्दै पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाह तुम्हाङ्फोले सहकारी क्षेत्रमा कमी कमजोरी र विसंगती पनि धेरै रहेको बताए । सञ्चालकले सहकारीको पैसा हिनामिना गरेको, सहकारीको मुल्य मान्यतालाई पालना नगरी सहकारी संस्था सञ्चालन गरेको पाईएको बताए । संघले आफुले नेतृत्व गरिरेको मात्र हैन गाउँ ठाउँमा रहेको साना तथा अन्य सहकारीको पनि उचित नेतृत्व दिन संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । एक जना व्यक्ति ५/६ वटा सहकारीमा आवद्ध हुने र एउटाबाट एक उदेश्यले ऋण लिने अनि त्यसको लागि खर्च नभई अर्को सहकारीको ऋण तिर्नको लागि प्रयोग हुने प्रवृत्ति रहेकाले यसले व्यक्ति र संस्था दुवैलाई असर पुग्ने हुँदा यस्ता गतिविधिहरु नियन्त्रण गर्नुपर्ने मेयर तुम्हाङ्फोले बताए ।
गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै सुनसरी बचत संघ बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले गोष्ठीहरुबाट सहकारी संञ्चालकहरुलाई सिकाई हुने बताईन । उनले सहकारीमा काम गर्दै र सिक्दै गईरहेको अवस्थामा यस्ता कार्यक्रमहरुले पनि संस्थालाई अगाडी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

गोष्ठीमा नेपाल सरकारका पूर्व सचिव गोनीनाथ मैनाली, नेफ्स्कुनका महासचिव दामोदर अधिकारी, कानेपोखरी गाउँपालिकाका निर्वतमान अध्यक्ष तारा बहादुर काफ्ले, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाई र डिग्री क्याम्पस विराटनगरका प्राध्यापक डा. अर्जुन बरालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संघले यसअघि २०७५ बैशाख ३० र ३१ गते पहिलो साकोस गोष्ठी गरेको थियो । संघ स्थापनाको दिन साकोस गोष्ठी गर्ने योजना रहेपनि यस बर्ष कोरोना तथा चुनावका कारण अन्तराष्टिय सहकारी दिवसको अवसर पारेर गरिएको संघका सचिव एकराज निरौलाले जानकारी दिए ।
Leave a comment