काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले कानुन कार्यान्वयन नगर्न कसैलाई पनि छुट नभएको बताए । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले विभागको सहकार्यमा शुक्रबार ‘कोपोमिसमा विवरण प्रविष्ट गर्न सहकारी संघको भूमिका’ विषयक कार्यक्रममा बोल्दै रजिष्ट्रार पण्डितले राज्यको अभियानभन्दा बाहिर जाने सहकारीलाई कारवाही गरिने बताए ।
सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रणालीमा आबद्ध नहुन कसैलाई छुट नभएको बताए । सहकारी अभियान पनि कोपोमिसप्रति सकारात्मक भएको भन्दै कारवाही गर्नुपर्ने अवस्था आएमा कुनै सहकारीलाई कारवाही नगर्न दवाव नआउने बताए ।
‘अभियानले कारवाहीको विरोध गर्नेछैन’ उनले भने,‘निश्चित समयमा पनि सहकारी नआए कारवाहीमा पर्छन् ।’ सहकारी ऐन २०७४ मा कोपोमिसमा सूचना प्रविष्ट नगर्ने सहकारीलाई ३ लाखसम्म जरिवाना गर्ने व्यवस्था छ। सहकारी अभियानसँगको साझेदारीमा कोपोमिस व्यापकरुपमा कार्यान्वयन गर्ने उनले बताए ।
कोपोमिस कार्यान्वयनका लागि सरकारले १ करोड बजेट विनियोजन गरेको रजिष्ट्रार पण्डितले बताए । ‘कोपोमिस कार्यान्वयन गर्न विभागले उच्च प्राथमिकता दिएको छ’ उनले भने,‘सहकारीमा राम्रा÷नराम्रा सबै पक्ष छन्’, उनले भने,‘नराम्रा फिल्टर गर्दै जान्छौं ।’
रजिष्ट्रार पण्डितले हालसम्म १५ हजार सहकारीले कोपोमिसको पासवर्ड लगेपनि हालसम्म ९ हजारले मात्रै प्रविष्ट विवरण राख्ने गरेको बताए । ‘आबद्ध भएका सहकारीलाई पनि विवरण भराउने र नयाँ सहकारीलाई पनि जोड्ने योजना छौं’ उनले भने ।
रजिष्ट्रार पण्डितले बागमती प्रदेश सरकारले बजेटमा सफ्टवेयर राख्ने भने पनि पछिल्लो समयमा स्थगत गर्ने प्रतिवद्धता आइसकेको बताए । बागमती प्रदेशले सहकारीको तथ्यांक व्यवस्थित गर्न बजेट विनियोजन गरेको छ। तर, बजेटपछि औपचारिक कार्यक्रममा बागमती प्रदेशका रजिष्ट्रारले संघीय सरकारको कोपोमिस अपडेट गरेमा नयाँ सफ्टवेयर स्थगन गरेर गर्न सकिने बताएको रजिष्ट्रार पण्डितले बताए ।
कोपोमिस कार्यान्वयन गर्न नसक्दा सहकारीको आधिकारिक तथ्यांक राख्न नसकिएको उनले बताए । कोपोमिस कार्यान्वयन गर्न संघीय मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्र गर्न अनुरोध गरिएको रजिष्ट्रार पण्डितले बताए ।
विभागले यसअघि आन्तरिक राजस्व विभागका महानिर्देशकलाई पत्राचार गर्दै कोपोमिसमा गएका सहकारीलाई मात्र करचुक्ता प्रमाणपत्र दिन अनुरोध गरेको थियो । रजिष्ट्रार पडितले विभागका ८४ वटै आन्तरिक राजस्व कार्यालयमा पत्राचार गरिसकेको जानकारी पाएको बताए ।
Leave a comment