भक्तपुर। सूर्यविनायक नगरपालिकाले सहकारीको प्रवर्धन गर्नका लागि ३१ लाख बजेट विनियोजन गरेको छ । सहकारी संघ संस्था अन्तरक्रिया छलफल कार्यक्रम तथा सहकारी दिवसका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
सहकारी सम्बन्धी विभिन्न तालिम ७ लाख, संस्था सवलीकरणमा ५ लाख, सहकारी अनुगमन, मुल्याङ्कन, सुपरिवेक्षणका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सहकारीसँगको साझेदारीमा आधारित कार्यक्रममा १५ लाख बजेट विनियोजन गरिएको छ ।
उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले १ अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट ल्याउँदै सहकारीलाई प्राथमिकता दिएकी हुन् ।स्थानीय श्रम पूँजी र प्रविधिलाई सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा एकीकृत ढङ्गबाट परिचालन गरी रोजगारी सिर्जना गर्ने बजेटको उद्देश्य छ ।
तीन तहको सरकार, सहकारी र निजीक्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सर्जना गर्ने बजेटमा उल्लेख छ ।कृषिमा आत्मनिर्भर बन्न सार्वजनिक, सहकारी र निजीक्षेत्रको साझेदारीमा बीउबिजन बैंक, प्रांगारिक मल उत्पादन केन्द्र, चिस्यान केन्द्र, कृषि प्रयोगशाला स्थापना गरी यसलाई क्रमशः स्तरीकृत गर्दै लगिने भएको छ ।
प्रांगारिक खेती प्रणालीलाई प्रोत्साहन स्वरुप माटो सुधारका कार्यक्रम अन्तर्गत कृषकलाई चुन र प्रांगारिक मल वितरण गर्न बजेट विनियोजन गरिएको छ ।
हातमा सीप नभएका तर अवसर पाए केही गर्छु भन्ने भावना भएका महिला तथा युवालाई दक्ष र सीपयुक्त बनाई रोजगारीको सुनिश्चितताको लागि सहकारी, निजी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा छोटो अवधिको प्राविधिक तथा सीपमूलक तालिम र सिर्जनशील उद्यम व्यवसाय संचालन गर्ने साथै त्यस्ता उद्यमीलाई वर्ष उद्यमी सम्मानबाट पुरस्कृत गर्न बजेट विनियोजन गरिएको छ ।
उर्जा र जैविक मल उत्पादन गर्न सार्वजनिक, सहकारी, निजी, साझेदारी कार्यक्रम अगाडि बढाइनेछ । सहकारीको विश्वव्यापी सिद्धान्त र मूल्य मान्यता तथा सहकारी कानून अनुरुप सहकारीको दर्ता, संचालन, नियमन र अनुगमनलाई प्रभावकारी बनाउँदै नगरक्षेत्रमा संचालित सहकारी संस्थाको संस्थागत क्षमता विकासको लागि विविध सीपमूलक तालिम तथा कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरिएको तिमसिनाले बताइन् ।
नगरपालिकाभित्र रहेका शिक्षा, स्वास्थ्य, कृषि, सहकारी तथा अन्य विभिन्न संघ संस्थाको संख्या यकीन गर्न नगर डाटा बैंकको स्थापना गर्न बजेट छुट्याएको छ ।
Leave a comment