जनकपुर । मधेश प्रदेशले कृषियोग्य बाँझो जग्गालाई उपयोगमा ल्याउन सामूहिक वा सहकारी कृषि प्रणाली अबलम्बन गर्ने भएको छ । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीमार्फत बगर खेतीलाई प्रोत्साहित गरिने जानकारी दिए ।
नीतिमा प्रदेश स्तरीय सहकारीलाई सुव्यवस्थित गर्न सरोकारवालाको परामर्शमा प्रादेशिक सहकारी प्रवद्र्धन नीति तर्जुमा गर्ने उल्लेख छ । यसैगरी निजी, सहकारी, सार्वजनिक तथा गैरसरकारी क्षेत्र समेतको समन्वय र सहकार्यमा प्रदेशको प्रत्येक जिल्लामा एउटा नमूना एकीकृत जैविक फार्मको विकास गरिने र यो प्रविधिलाई क्रमशः विस्तार गर्दै लगिने समेत नीति कार्यक्रममा जनाइएको छ ।
मधेश प्रदेशले कृषि क्षेत्रको संभावना, विकास तथा प्रवद्र्धनका लागि गुरुयोजना तयार गर्ने भएको छ । कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नका लागि निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेती प्रणालीमा रुपान्तरण गरिने उल्लेख छ । किसानलाई प्रत्यक्ष लाभ हुनेगरी मल, बिउ, प्राविधिक सेवा तथा अन्य सेवा सुनिश्चित गर्नुका साथै मधेश प्रदेशले वस्तुपरक आधारमा अनुदान दिने भएको छ ।
कृृषिलाई प्रविधिमैत्री, व्यवसायिक, उच्च प्रतिफलयुक्त तथा मर्यादित पेशाको रुपमा विकास गरिने जनाइएको छ । कृषि उपजहरुको उत्पादन, प्रशोधन र भण्डारणमा सहयोग पु¥याउन स्क्रिन हाउस, भण्डारण गृह, बिउ प्रशोधन केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
Leave a comment