दाङ । सहकारीकर्मी हुमाकुमारी डिसी घोराही उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकी डिसीले सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् ।
डिसीले ३० हजार ४ सय ३ मत ल्याएर विजयी भइन् । उनका प्रतिष्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका झुपबहादुर डाँगीले ३० हजार ३ सय ७४ मत ल्याएर पराजित भए । डिसीले सहकारीमार्फत आर्थिक सम्वद्धिको हासिल गर्ने भिजन अगाडी सारेकी छिन् । उनले सहकारीमार्फत उद्यमशिलताको विकास, रोजगारी सिर्जना गर्दै गरिबी निवारण गर्ने प्रतिवद्धता गरेकी छिन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को पूर्व लेखा समिति सदस्य समेत रहेकी डिसी घोराहीकै सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् । सहकारीमार्फत सडकमा मकै बेच्ने र फुटपाटमा तरकारी बेच्नेलाई सस्तोमा ऋण दिएर उद्यमी बनाउने उनको योजना छ।
उपमहानगरपालिका भित्रका सबैलाई सहकारीमा आबद्ध गराउने र यसैबाट आर्थिक रुपान्तरण गर्न सकिनेमा उनी विश्वस्त छिन्। सहकारीमार्फत गृहणी महिलालाई उद्यमी बनाइने डिसीको योजना छ । ‘सहकारीको चर्को ब्याजलाई नियन्त्रण गर्दै सहुलियत ब्याजमा ऋण प्रदान गरेर बढी भन्दा बढी व्यक्तिलाई उद्यमी बनाउनेतर्फ लाग्ने छु’ उनले भनिन् ।
नीति, विधि र प्रविधिमा संस्था संचालन गर्दै सहकारीमा सुशासन कायम गर्ने उनको योजना छ । सहकारी नपुगेका ठाउँमा दर्ता गर्ने र बाक्लो उपस्थिति भएका शहरी क्षेत्रका भने मर्जर अभियान संचालन गर्ने तथा दोहोरो सदस्यता हटाउने उनले सुनाइन् ।
Leave a comment