हाइलाइट

घोराही उपमहानगर :  १८७ वटा सहकारी, ६ सयलाई रोजगारी

घोराही उपमहानगर :  १८७ वटा सहकारी, ६ सयलाई रोजगारी :: Sahakari Akhabar

दाङ । घोराही उपमहानगरपालिकामा १ सय ८७ वटा सहकारी छन् । यी सहकारीले ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । घोराही उपमहानगरपालिकाका सहकारी शाखा अधिकृत होमलाल भुसालका अनुसार डिभिजन सहकारी कार्यालयले हस्तान्तरण गरेको बाहेक १ वटा सहकारी दर्ता भएको छ ।

घोराहीमा बचत तथा ऋण सहकारी भन्दा कृषि सहकारी बढी छन् । मुख्य बजार क्षेत्रमा बचत सहकारी भएपनि ग्रामीण क्षेत्रमा कृषि सहकारीको बाहुल्यता छ ।

भुसालका अनुसार ७८ वटा कृषि, ७० वटा बचत तथा ऋण सहकारी, ११ वटा सामाजिक उद्यमी सहकारी,  ९ वटा उपभोक्ता र ५ वटा बहुउद्देश्यीय सहकारी छन् । त्यस्तै, दुग्ध, पशुपन्छी, बीउ उत्पादक, मौरीपालन ३÷३ वटा, सञ्चार र तरकारी उत्पादक सहकारी १/१ वटा छन् ।

घोराही उपमहानगरपालिकाका सहकारीको सेयर पुँजी १ अर्ब पुगेको छ । २ अर्ब ५० करोड बचत संकलन गरी ३ अर्ब ७० करोड कर्जा प्रवाह गरेका छन् ।

सहकारीमा ७० हजार व्यक्ति आबद्ध भएका छन् । शाखा अधिकृत भुसालका अनुसार कृषिका साथै व्यापार व्यवसायमा कर्जा परिचालन भएको छ । अन्य प्रकृतिका पनि बचतमा धेरै सक्रिय छन् । २० वटा कृषि सहकारी निश्क्रिय रहेको उपमहानगरले जनाएको छ ।

यहाँका सहकारी कोपोमिसमा आबद्ध भइसकेका छैनन् । कोपोमिसमा आबद्ध गराउनका लागि तयारी भइरहेको भुसालले बताए । ‘उपमहानगरकाले युजर नेम र पासवर्ड लिए पनि सहकारीलाई कार्यान्वयन गराएको छैन’ उनले भने ।

सहकारीले नियमित प्रतिवेदन बुझाउने गरेका छन् । अनुगमनमा पनि ध्यान दिइएको भुसालले बताए । घोराहीले कोपोमिसलगायत सहकारी सम्बन्धी सचेतना कार्यक्रम गर्ने गरेको छ ।

उपमहानगरले सहकारी क्षेत्रका लागि साढे ८ लाख बजेट विनियोजन गरेकोमा अधिकांश कार्यक्रम सम्पन्न भइसकेका छन् । सचेतना तालिम, एकीकरण लगायतका कार्यक्रम सञ्चालन गरिएको उनले बताए उपमहानगरले केही बजेट भने सम्झौता गराएर साझेदारीमा समेत कार्यक्रम गर्ने गरेको छ ।



Leave a comment