बुटवल । प्रदेश ५ सरकारले सहकारी विकास कोष सञ्चालन गर्ने बाटो खुला गरिदिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सहकारी विकास कोष परिचालन कार्यविधि २०७७ स्वीकृत गरेसँगै कोष परिचालनको बाटो खुला भएको हो ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले १५ करोड रकम विनियोजन गरेको भए पनि कार्यविधि नबन्दा उक्त कोषको रकम परिचालन हुन सकेको थिएन । प्रदेश ५ सरकारले जारी गरेको सहकारी ऐन र सहकारी नियमावलीमा सहकारी विकास कोष स्थापना गर्ने व्यवस्था छ । कोषमा २० करोड रकम जम्मा भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले उक्त कोषका लागि आर्थिक वर्ष २०७६ /०७७ मा १५ करोड विनियोजन गरेको थियो । त्यसैगरी नयाँ आर्थिक वर्ष २०७७/७८ मा ५ करोड बजेट विनियोजन गरिसकेको छ । कोषको रकम सहकारीले तीन वर्षका लागि शून्य ब्याजदरमा परिचालन गर्न पाउँछन् ।
उक्त रकम परिचालन गर्न प्रदेश सरकारले थप ३ प्रतिशत रकम दिने व्यवस्था गरेको छ । वर्षको दुई पटक भदौ र फागुन महिनामा सूचना प्रकाशित गर्ने कोष परिचालन कार्यविधिमा उल्लेख छ ।
Leave a comment