काठमाडौं । राष्ट्रिय सहकारी महासंघले बाढी पहिरो पीडितलाई उद्वार गर्न सहकारीकर्मीलाई निर्देशन दिएको छ । प्रकोप पिडितको उद्धारका लागि सहकारीकर्मीलगायत जिल्ला सघहरुलाई महासंघले निर्देशन दिएको हो । महासंघले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो तथा डुबान र कटानले मानवीय तथा भौतिक क्षति भएकोमा दुःख व्यक्त गर्दै सम्पूर्ण सहकारी संघ÷संस्थाहरुलाई आ–आफ्नो क्षेत्रमा खोजी, उद्वार, राहत, स्वास्थ्य शिविर पुर्नस्थापनालगायतका कार्यमा जुट्न अनुरोध गरेको छ ।
‘बेपत्ता नागरिक तथा सहकारीकर्मीको खोजिका लागि जिल्लास्थित सुरक्षाकर्मीलाई सहयोग गर्न स्थानीय सहकारी संघ÷संस्थाहरुलाई हार्दिक अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ । महासंघका अध्यक्ष मिनराज कडेलद्वारा जारी विज्ञप्तिमा केन्द्रीय तथा जिल्लास्तरीय सहकारी संघहरुलाई स्थलगल अध्ययन गरी क्षतिको विवरण संकलन गरी महासंघमा बुझाउन अनुरोध गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय व्यवस्थापन समितिसँग समन्वय गरी बाढी पहिरो पीडितका लागि तत्काल खाद्य सामाग्री मिलाउन, खोजी, राहत वितरण तथा पुर्नस्थापना र घाइतेलाई अस्पतालसम्म पुर्याउन सहकारीकर्मीलाई महासंघले अनुरोध गरेको छ ।
असार २४ गते गएको बाढीका कारण सिन्धुपाल्चोकको जम्बु बचत तथा ऋण सहकारी संस्था र श्री तपाई हाम्रो नमूना साना किसान कृषि सहकारी संस्थामा मानवीय तथा भौतिकरुपमा पुर्ण क्षति भएको छ ।
Leave a comment