ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले स्थानीय तहलाई सहयोग गरेको छ । ललितपुरका ६ वटै स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको संघले जनाएको छ ।
संघले पहिलो चरणमा आज ललितपुर महानगरपालिकालाई एक लाख रुपैयाँ सहयोग गरेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनलाई संघका अध्यक्ष रामहरि बजगाईंले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
त्यसैगरी संघले महानगरपालिकालाई १ लाख, नगरपालिकालाई ७० हजार र जिल्लाका प्रत्येक गाउँपालिकालाई ४० हजार रुपैयाँका दरले सहयोग निर्णय गरेको अध्यक्ष बजगाईले बताए । संघले सामुदायिक विकास कोषमा जम्मा भएको रकमबाट स्थानीय तहमा सहयोग गरेको हो ।
विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने लगाएतका विपन्न वर्गलाई राहत पुगोस् भन्ने उदेश्यले उक्त कोषमा सहयोग गरेको अध्यक्ष बजगाईंले बताए ।
Leave a comment