दोलखा । लकडाउनले रगत अभाव भएर अकालमा ज्यान गुमाउनु नपरोस् भनी जिल्ला सहकारी संघ दोलखा, रेडक्रस सोसाईटी, स्वयँसेवी रक्तदाता र हाम्रो जनकल्याण सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार सदरमुकाम चरिकोटस्थित रक्त सञ्चार सेवाको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १७ महिला र ४० पुरुष गरी ५७ जना बाट ५७ पीन्ट रगत संकलन भएको छ ।
चरिकोट प्राथमिक स्वास्थ्यक चौकी लगायतमा सुत्केरीको संख्या बढेर रगतको अभाव भएर उपचारमा समस्या भए पछि विभिन्न ४ संस्थाले संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
चरिकोट आईपुग्ने सबैप्रकारका विरामीलाई उपचारको लागि रगत अभाव नहोस् र सहजै रगत उपलब्ध हुन सकोस् भन्नको लागि रक्तदान गरिएको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिए । सहकारीकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायी लगायतले सञ्चार सेवाको प्राङ्गणमा पुगेर स्वस्फुर्त रुपमा रक्तदान गरेका थिए ।
Leave a comment