हाइलाइट

इटहरीमा साना किसान कृषि सहकारीहरुको एकदिने प्रशिक्षण 

इटहरीमा साना किसान कृषि सहकारीहरुको एकदिने प्रशिक्षण  :: Sahakari Akhabar

काठमाडौं । सुनसरीको इटहरीमा साना किसान कृषि सहकारीहरुका एकदिने सहकारी प्रशिक्षण कार्यक्रम भएको छ । प्रशिक्षण कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्थाको इटहरी शाखाले आयोजना गरेको हो । कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, प्रवन्धक, कर्मचारी तथा लेखा समिति सदस्यको सहभागितामा रहेको थियो।

कार्यक्रममा सहकारी क्षेत्रका सम्भावना समस्या र चुनौतीका विषयमा प्रशिक्षण गरिएको थियो । कार्यक्रममा मोरङ, सुनसरी, धनकुटा र संखुवासभा जिल्लाका साझेदार संस्थाका अध्यक्ष, सञ्चालक समिति पदाधिकारी तथा कर्मचारीहरू गरी ९५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत वासु अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक सदस्य हरिबहादुर बस्नेत तथा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रविन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो ।

नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराईले साना किसान अभियानका चुनौती र अवसर, सहकारीले आगामी दिनमा चाल्नुपर्ने कदम, समसामयिक नीति निर्देशन, उद्यमशीलता अभिवृद्धि तथा व्यवसाय विस्तारको सम्भावनाबारे प्रस्तुति दिएका थिए । प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले संस्थाको स्तरीकरण सुधार गर्न आग्रह गर्दै नीति, विधि र प्रविधिमा सक्षम बन्नुपर्ने आवश्यकता औँल्याउदै वित्तीय संस्थाले सदस्यहरुको हितको लागि उद्यमशीलताको बृद्धि गर्न सेवा प्रवाहमा जोड दिएको बताए ।

त्यसैगरी अध्यक्ष खेमबहादुर पाठकले सञ्चालक, कर्मचारी तथा लेखा समितिको काम, कर्तव्य, अधिकार र जिम्मेवारीबारे बताउँदै कृषि सहकारीहरूले उत्पादनमुखी गतिविधिमा जोड दिनुपर्ने, संस्थागत सूशासनलाई प्रभावकारी बनाउनुपर्ने, सदस्यलाई सशक्त बनाउँदै कर्जाको सदुपयोग सुनिश्चित गर्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।



Leave a comment