काठमाडौं । झापा साझेदार साना किसान कृषि सहकारी संस्थाहरूका अध्यक्ष तथा प्रवन्धकहरूका लागि सहकारी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडस्थित ग्राण्ड प्यासिफिक होटलमा भएको कार्यक्रममा झापा जिल्लाका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, प्रवन्धक लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बिर्तामोडले आयोजना गरेको कार्यक्रममा शाखा कार्यालय विर्तामोडका शाखा प्रवन्धक गणेशप्रसाद भट्टराइले शाखाको प्रगतिबारे समिक्षात्मक प्रस्तुती गरेका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थागत सुशासनका लागि सबैभन्दा पहिले संस्थाको नेतृत्वदेखि सुधारको सुरुवात हुनुपर्ने बताए ।
उनले सहकारीमा सदस्यदेखि अध्यक्षसम्म जिम्मेवार हुँदा कुनै समस्या नआउने बताए । यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले संस्था र सदस्यहरुको हितका लागि लघुवित्तले पूर्णरुपमा कार्य गर्दै आएको बताए । पूँजी, प्रविधि र ज्ञान प्रदान गर्दै युवा महिला र गरिब किसानहरुलाई आय आर्जनसंग जोड्न संस्था सदैव तत्पर रहेको अधिकारीको भनाइ थियो ।
उनले संस्थालाई सदस्यको बनाउनसके धेरै समस्याको समाधान हुने धारणा राख्दै जसको जे जिम्मेवारी हो सोही अनुसार कार्य सम्पादन गर्दामात्रै पनि संस्थागत सुशासन र दिगोपना कायम हुने बताए । कार्यक्रममा संस्थाका मुख्य प्रवन्धक लिलाधर धिताल, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मिना ढकाल, झापा जिल्ला कृषि सहकारी संघका अध्यक्ष केशव सापकोटा सहित विभिन्न सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, पदाधिकारी, प्रवन्धक तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारी संस्थाको दिगोपना, सुशासन, अनुशासन, व्यवस्थापन क्षमता अभिवृद्धि तथा सहकारी सञ्चालनका व्यावहारिक पक्षहरू सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सहभागीहरूले सहकारी संस्थालाई प्रभावकारी, पारदर्शी र दिगो बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय विषयमा अन्तरक्रिया समेत गरेका थिए ।
Leave a comment