काठमाडौं । पोखरा महानगरपालिका ३२ राजाको चौतारो कास्कीमा रहेको बाटिका बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्र दुवैमा आवद्ध भएको छ । संस्थाले प्राधिकरणको इजाजतपत्र र कर्जा सूचना केन्द्रको पनि सदस्यता लिएको हो ।
संस्थाले माघ २० गते नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको छ भने कर्जा सूचना केन्द्रमा माघ २६ गते आवद्ध भएको हो । कास्की जिल्लाको पोखरा महानगरपालिका, रुपा र मादी गाउँपालिका कार्यक्षेत्र रहेको बाटिका साकोसले प्राधिकरणको इजाजतपत्र नं २०६५–०१३३५ प्राप्त गरेको छ भने सूचनाकेन्द्रले सिओपी १०८ दर्ता नं प्रदान गरेको छ ।
बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले अनिवार्यरुपमा प्राधिकरणबाट संचालन इजाजतपत्र लिनुपर्ने र कर्जा सूचनाकेन्द्रमा आवद्ध हुनुपर्ने सहकारी ऐनले व्यवस्था गरेको छ। बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था पहिला प्राधिकरणमा दर्ता भएपछि मात्र कर्जा सूचनाकेन्द्रको सदस्यता पाउने व्यवस्था सरकारले गरेको छ । सोही अनुरुप यस सहकारी संस्था दुवै निकायमा दर्ता भएको हो ।
कर्जा सूचनाकेन्द्रको सदस्यता लिएपछि सहकारीहरुले पनि कर्जा मागगर्ने सदस्यहरुको आर्थिक क्रियाकलापको अध्ययन एवं विश्लेषण गर्न सहज हुनुका साथै सहकारीबाट ऋण लिएर नतिर्ने र लामो समयदेखि भाखा नघाएर बस्ने ऋणी सदस्यलाई कालो सूचीमा राख्ने समेतका प्रकृया अगाडी बढाउन सकिने भएको संस्थाका प्रवन्धक विनय घिमिरेको भनाइ छ ।
३ हजार ८९३ जना कूल सदस्य तथा ३८८ जना ऋणी सदस्य रहेको संस्थाको ४८ करोड ९३ लाख ५१ हजार ऋण लगानीमा रहेको जनाइएको छ । त्यसैगरी संस्थामा ११ करोड २ लाख ८४ हजार शेयर पूँजी, २ करोड ८९ लाख ९७ हजार जगेडा कोष र २७ लाख ७९ हजार अन्य कोष रहेको छ । ५७ करोड ४८ लाख ९५ हजार बचत रहेको संस्थाको कूल सम्पत्ति ७६ करोड ७४ लाख ३० हजार रहेको जनाइएको छ भने ३ करोड २८ लाख ४ हजार संस्थागत पूँजी रहेको प्रवन्धक घिमिरेले जानकारी दिए ।
पछिल्लो समय सरकारले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई कर्जा सूचना केन्द्रको सदस्यता अनिवार्य गरेपछि सहकारीहरुले केन्द्रको सदस्यता लिन बढी चासो देखाएका छन् । सहकारीमा सदस्य तथा संचालकहरुबाट सहकारीको पैसा अपचलन भएर संस्थामा खराब कर्जाको मात्रा बढदै गएपछि, सरकारले सहकारीलाई सूचनाकेन्द्रमा जाने व्यवस्था गरेको हो ।
कर्जा सूचनाकेन्द्रले सहकारीलाई पनि आवद्ध गराउने भएपछि अहिले सहकारीहरु सूचनाकेन्द्रको सदस्यताको लागि चासो देखाउन थालेका छन् । सहकारीले कर्जा सूचनाकेन्द्रको सदस्यता पाएपछि अन्य बैंक वित्तीय संस्थाले जस्तै सूचनाकेन्द्रको सेवा लिनपाउने छन् । सहकारीहरु कर्जा सूचनाकेन्द्रमा आवद्ध भएपछि सूचनाकेन्द्रले सहकारीलाई पनि ‘अन्य बैंक र वित्तीय संस्था सरह कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्छ ।
सहकारी कर्जा सूचनाकेन्द्रमा आवद्ध भएपछि सूचना केन्द्रसंग मिलेर बैंक वित्तिय संस्थाले जस्तै सहकारीका ऋणी सदस्यका बारेमा जानकारी दिने र ऋण लिने सदस्यको बारेमा जानकारी लिन सकिने भएको छ । सूचना केन्द्रले माघ ७ गते सूचना जारी गर्दै बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूका लागि सदस्यता आव्हान गरेको थियो ।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरणका लागि मंसिर १० गतेबाट अनलाइन पोर्टल सुरुगरेको थियो । संस्था अभिलेखिकरणका लागि प्राधिकरणले समय थपगरी फागुन ११ गतेसम्म पुर्याएको छ ।
Leave a comment