हाइलाइट

सहकारीको ऋण तिर्न पर्दैन भन्नेहरु समाज भडुवा हुन

सहकारीको ऋण तिर्न पर्दैन भन्नेहरु समाज भडुवा हुन :: Sahakari Akhabar

काठमाडौं । आदर्श सञ्चार सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सहभागी संस्थाका शेयर सदस्यहरुले पछिल्लो समय सहकारीको ऋण मिनाहा हुन्छ, गर्नु पर्छ, तिर्नु हुदैन भन्ने अभियान चलाउनेहरुलाई सचेत हुन आग्रह गरेका छन् ।

सहकारीमा सदस्यहरुले जम्मा गरेको बचत सदस्यहरुलाई नै लगानी गरिएको हुन्छ, ऋण लगेको सदस्यले समयमा ऋणको किस्ता र ब्याज मिलाउने भन्दा पनि सहकारीको ऋण मिनाहा गर्नु पर्छ भन्ने अभियान सञ्चालन गर्नेहरु समाज भडुवा भएको र संस्थाले त्यस्ताहरुको पहिचान गर्नु पर्नेमा जोड दिएका छन् ।

बागलुङमा केही समाजका अगुवा व्यक्तिहरु नै सहकारीको ऋण मिनाहा हुन्छ, तिर्नु पर्दैन भन्दै अभियान सञ्चालन गर्दै हिडेका छन् । सहकारीको मात्र होइन, कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्ने दायित्व ऋणीको हो, समस्या परेर समयमा तिर्न नसक्नु एउटा पाटो हो, ऋण नै मिनाहा गर्नुपर्छ भन्दै अभियान चलाउनेहरुको सहकारीका सदस्यहरुले प्रतिवाद गर्नुपर्ने सहभागीहरुको भनाइ थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी क्षेत्रको सहकारी अभियानको प्रवद्र्धनमा २ दशकदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै प्रवद्र्धनमा योगदान गर्दै आएको छ । सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि आगामी दिनमा थप सक्रियताका साथ अगाडि बढ्न समेत सदस्यहरुले सुझाव दिएका छन् ।

सहकारीमा सञ्चालक, कर्मचारी र सदस्यहरुको बद्मासी तथा लापार्वाहीका कारण विगतमा समस्या आएका छन्, जे कारण समस्या भएको हो, त्यसको यथार्थ आम शेयर सदस्यहरुलाई जानकारी हुने गरी सञ्चारमार्फत सचेत बनाउन सहभागीहरुले आग्रह गरेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

दुईदशकदेखि धौलागिरी क्षेत्रमा सूचना तथा सञ्चार, वचत तथा ऋण र सामाजिक क्रियाकलाप सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको आदर्श सञ्चार सहकारी संस्थाले आगामी माघ १ गतेदेखि सबै सदस्य ः सक्रिय सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सहकारी सदस्यहरुको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सदस्यहरु सक्रिय भए, सचेत भए, संगठित भए भने सहकारीमा समस्या आउदैन, संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले भन्नुभयो,–‘साधारणसभाले माघ महिनादेखि सबै सदस्य ः सक्रिय सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।’

सल्लाहकारहरुका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष मन कुमारी केसीले सहकारी अभियान, सदस्यहरुको क्षमता विकास, नेतृत्व विकास लगायत वित्तीय तथा सूचना सञ्चारको क्षेत्रमा आदर्श सञ्चारको योगदान महत्वपूर्ण रहेको बताइन । संस्थाको समग्र अवस्था, खराब ऋण, तरलता र ऋण असुलीको विषयमा सम्पादक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।

जिसीले सहकारीले आफ्ना सदस्यसंग कारोबार गरेको छ, ऋण लगानी गरेको छ भने संस्थामा आउने समस्या समाधानका लागि सञ्चालकसंगै ऋणी र जमानतकर्ता समेत जिम्मेवार हुने विषयमा जानकारी गराए । साधारण सभामा संस्थाका सचिव सरस्वती खड्का परियारले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शान्ति लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक अनन्त बहादुर खड्काले प्रस्तुत गरेका थिए ।

सभाले प्रतिवेदन सर्वसम्मतीले पारित भएको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए । कार्यक्रम सहकारीका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागत तथा सह–सम्पादक सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका, अग्रसर साप्ताहिक पत्रिका, आदर्शसञ्चार डटकम अनलाईन सञ्चालन गर्नुका साथै सदस्यहरुसंग वचत तथा ऋणको कारोबार गर्दै आएको छ । संस्थामा ५ करोड ६० लाख शेयर रकम, २० करोड वचत, २९ करोड कर्जा लगानी सहित ३७ करोड कुल पूँजि रहेको प्रवन्धक सापकोटाले जानकारी दिएका छन् ।



Leave a comment