काठमाडौं । सञ्चालक भइसकेपछि ऋणलिन पाइँदैन तर बैंक सञ्चालकहरुकै संस्थाले ऋणको भाखा नघाएका कारण राष्ट्र बैंकले हट भन्यो, पछि गाली खाने चाहीँ हामी भयौं । उहाँहरुलाई हामीले हटायौं भन्ने लाग्यो । हामीसँग रिसाउनुभयो । तर अहिले त खुसी भैसक्नुभएको छ, किनकि निर्वाचन आउँदैछ नि । हामीले पनि फकाइसक्यौं उहाँहरुलाई । माफी मागेर पनि फकाएको अवस्था छ ।
गतवर्ष नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकका अध्यक्षसहित ६ जनालाई कारबाही गरेर हटाएको थियो । पछि बाँकी संचालकबाट अध्यक्ष चयन गर्ने राष्ट्र बैंकको निर्देशन अनुुसार गत पौष २७ गते महेन्द्रकुमार गिरि अध्यक्ष चयन भएका थिए । यसको एक वर्ष पछि ०८२ को मंसिर ६ गते सहकारी बैंकले विनियम संसोधन सहितको सातै प्रदेशको एकाइ बार्षिक साधारण सभा गर्यो ।
मंसिर १२ गते सातै प्रदेशबाट चयन भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने केन्द्रीय सभाको सम्वोधन गर्नेक्रममा अध्यक्ष गिरिले माथिका वाक्यहरु बोलेका थिए । सहकारी बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार पौष १२ गते संचालक तथा लेखा समितिको निर्वाचन गर्दैछ ।
सभामा अध्यक्ष गिरिले आफू जटिल परिस्थितिका बीच सहकारी बैंकको अध्यक्ष बनेको बताए । उनले भने ‘साह्रै लाटो टिम आयो’ भनेर हाम्रो टिमप्रति खिसिट्युरी गर्नेहरुको पनि कमी थिएन । केन्द्रीय नेतृत्वमा अरु धेरै साथीहरु बसिरहेको र आकांक्षी रहेको अवस्थामा हाम्रो टिम आउँदा कतिपयले असहयोग गरे ।
राष्ट्र बैक गएर हुन्छ कि ! पत्रपत्रिकामा लेखाएर हुन्छ कि, हामीलाई असहयोग भएकै हो, एउटा टिम हामी विरुद्ध लागिरह्यो ।’ सञ्चालक समिति, लेखा समिति तथा व्यवस्थापन समूहको टिमवर्कले एकवर्ष नपुग्दै असोज मसान्तमै २४ लाख रुपैयाँ नाफा गरेको जानकारी गराए ।
वर्तमान सञ्चालक समिति सकारात्मक सोच्ने समूह भएकाले त्यस्ता नकारात्मक कुराहरुलाई ध्यान नदिई काम गरेको उनको भनाइ थियो । उनले एउटै संस्थालाई ४० करोड रुपैयाँसम्म लगानी गरिएको र २५ वटा यसरी लगानी गरिएको रहेको बताए ।
उनले भने, कोशी प्रदेशदेखि पश्चिमसम्म ठीकै छ, तर बागमतीका केही ठाउँमा यस्तो ठूलो लगानी गरेर ५ अर्ब रुपैयाँ जोखिममा पारेको रहेछ । उनले ४० करोड ऋण लिएर घर जग्गा, व्यक्तिको प्राइभेट फर्मजस्ता सही ठाउँमा ऋण लगानी नभएको पाएको उनले जनाए । अन्य बैंकबाट त्यसरी ऋण नपाइने हुँदा, लुपहोल हुने भएकाले सजिलोको रुपमा सहकारी बैंकबाट पैसा लगेको र सम्पूर्ण रकम दुरुपयोग भएको जनाए ।
उनले नेपालगञ्जको एउटा संस्थालाई बिनाधितो लगानी गरेको १८ / २० करोड रुपैयाँको नामोनिसान नभएको र पोखराको एउटा संस्थाको पनि आधा मात्र पैसा उठ्ने अवस्था रहेको जानकारी दिए । उनले भने, ‘एक अर्ब रुपैयाँ राइट अफ गर्नुपर्ने अवस्था छ । पाँच अर्बमा १ अर्ब उठ्दैन । धेरै साथीहरु सबै जेलमा छन् ।’
काठमाडौंको अर्को एउटा संस्थालाई गरिएको ४० करोड लगानीको पनि हालत त्यस्तै रहेको जनाए । १ अर्ब २० करोडको सम्पत्ति छ संस्थाको तर, त्यसबाट उठाउन सकिएको छैन । २५ वटा संस्था सबैलाई ३५ दिने सूचना र कालो सूचीमा राखेर सम्पति लिलाम गर्न खोज्दा जेलबाटै तलाई मार्छुु भनेर धम्की समेत आएपनि सहेरै धेरै ऋण असुल गरेको जनाए ।
सञ्चालकका संस्थाहरुले धितो सुरक्षणका रुपमा राखेको जग्गा हेर्न जाँदा डाँडाकाँडा मात्र भएको, बाँदर लड्ने भीरपाखा मात्र रहेको उनले बताए । उनले आफ्नो टिमले एक रुपैयाँ पनि गलत नगरेको र एउटा काम पनि गलत नगरेको बताए । उनले विश्वासमा व्यवस्थापनले सिफारिश नै नगरेको पाँच छ वटा धितोमा सञ्चालकले सही गरेको बताए ।
उनले भने, ‘व्यवस्थापनका बाठा मानिसहरुले सिफारिश नै गर्नुभएनछ । हामीले भटाभट् सही गरेछौं । नेहेरी नपढीकन । केबी सर भनियो सही गरियो ।’ भोलिको बैंकको नयाँ नेतृत्वका साथीहरुलाई थाहा होस् भनेर विगतका गल्ती कमजोरीहरु स्पष्टसँग राखेको हुँ । भावी नेतृत्वले कहाँ कहाँ हेर्नुपर्छ, ध्यान पुर्याउनुपर्छ भनेर आफूले बेलैमा सचेत गराएको हुँ ।’
बैंकमा तरलता बढी छ भनेर हल्ला गरेपनि पैसा जति कि मुद्दतिमा, कि एच्छिक बचतमा रहेको र दीर्घकालीन बचत १ प्रतिशत मात्रै रहेको उनले बताए । ‘नियमति बचत छँदैछैन, सोही कारण अब दीर्घकालीन बचत (१ हजार रुपैयाँ मात्र भएपनि) लाई जोड दिइएको छ ।
एक हजारको शेयर किनेर भोट हाल्ने सदस्य बनाएको स्थिति रहेछ । अब सेयर २५ हजार अनिवार्य गरिएको छ, बिस्तारै २५ हजारदेखि २५ लाख रुपैयाँसम्म मात्रै शेयर राख्ने र अरु बिस्तारै घटाउँदै जाने गरी बैंक अघि बढेको छ । ५ अर्बलाई कायम राखी जगेडाकोष बढाउने गरी बैंक अघि बढेको छ ।’ उनले भने, कतिपय साथीहरुलाई के लाग्थ्यो भने, प्रारम्भिक संस्थाको साधारणसभामा भाषण गर्दा बैंक बन्छ भन्ने थियो ।
त्यो कल्चरुलाई हामीले तोडेका छौं । म आइसकेपछि सञ्चालक समितिका सबैले व्यवस्थापनले तयार गरेका प्रस्ताव र प्रतिवेदन पूर्णतः पढ्नुपर्यो, वित्तीय साक्षरता पढ्नुपर्यो भनेर बैंकका पूर्व अध्यक्ष रमेश पोखरेललाई समेत पढाउने काम गर्यौं । पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) लगायतका विषयमा समेत हामीले पनि पढ्यौं र रमेश पोखरेल सरलाई समेत पढायौं ।
त्यसपछि हामीले पोखरेल सरलाई ऋण उठाउन लुम्बिनी सम्म पुर्यायौं । करिब ८ वर्ष अध्यक्ष भएका पोखरेलले आफूलाई त यस्तो प्राविधिक विषयहरु थाहै थिएन समेत भन्नुभयो । यद्यपि, भाषण गर्ने सबै सरहरुले दामी डिभिडेन्ड बाढ्छौं भन्ने मात्र गर्नुहुन्थ्यो ।’ उनले अर्को वर्ष २ अर्ब नाफा हुने बताएका छन् ।
त्यसैगरी उनले सहकारीहरुले गरिब तथा विपन्न वर्गमा काम गर्ने भन्दै प्रारम्भिक संस्थाहरुलाई २५ लाख रुपैयाँ भन्दा बढीको ऋण लगानी गर्ननहुने बताए । उनले भने, ‘प्रारम्भिक संस्थाहरु डुब्नुको एउटा कारण ठूलो लगानीबाट हो ।
ऋण भनेको हप्काउँदा उठ्ने खालको हुनुपर्छ, धितो नै भएपनि ।’ बैंकका ६८ वटा शाखामध्ये ११ वटा घटाउने (मर्ज गर्ने) प्रक्रिया अघि बढेको उनले जानकारी दिए । खर्च घटाउने र ऋण लगानी बढाउनुपर्ने मुख्य चुनौती रहेको उनले बताए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया