काठमाडौं । राज्यको नियमन भन्दा पनि स्वनियम र सुशासनमा सहकारी संस्था संचालन हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न साकोस शिखर गोष्ठी हुने भएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा सुशासन ल्याउन नियमन भन्दा स्वनियमन मुख्य विषय रहेको र त्यसैलाई स्थापित गर्न साकोस शिखर गोष्ठी २०२५ हुन लागेको जनाइएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले बचत तथा ऋण सहकारीहरुको लागि यही पुष ३ र ४ गते दुई दिन साकोस शिखर गोष्ठी गर्न लागेको हो ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले साकोसहरु नियमन भन्दा पनि स्वनियमबाट कसरी चल्ने, सहकारी मूल्य मान्यता र सिद्धान्तमा बसेर संचालन भए भने ति संस्थाहरुलाई नियमन चाहिदै र स्वनियमन मै संस्था बलियो बन्न सक्छन् भन्ने मान्यता स्थापित गर्न साकोस शिखर गोष्ठी गर्न लागेको जनाए । उनले यस्ता अभ्यासहरु विश्वको धेरै देशमा रहेको बताए ।
ललितपुरको हेरिटेज प्लाजामा पुषको ३ र ४ गते हुने गोष्ठीमा यही मान्यता स्थापित हुनेगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिने समेत जनाए । उनले पुष ५ गते बार्षिक साधारण सभा र ६ गते स्थिरीकरण कोषको बार्षिक साधारण सभा समेत गरिने जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले दुई दिन विभिन्न विषयमा ६ वटा कार्यपत्र प्रस्तुत हुने र स्वदेशी तथा विदेशी विज्ञहरुबाट प्रस्तुत हुने मार्गदर्शन र अनुभव आदान प्रदानमार्फत यस क्षेत्रको क्षमता अभिवृद्धि हुने समेत विश्वास लिइएको जनाए । उनले गोष्ठीबाट सहकारी मूल्य, सिद्धान्त र साकोस दर्शनमा आधारित स्वनियमन प्रणाली स्थापना हुने, सशक्त साकोस सञ्जाल निर्माण हुने र नियामकीय अनुकुलताको सुनिश्चितता अुने अपेक्षा गरिएको बताए ।
गोष्ठीमा नियामकीय मार्गचित्रः साकोसको दिगो संस्थागत रुपान्तरणको चुनौति र अवसर, सम्पती शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था र परिपालना, Shifting leadership for rekindling cooperative values and principles, वित्तीय सहकारीको स्व(नियामकीय अभ्यासस् चुनौती तथा आगामी मार्गचित्र, विश्वव्यापी दृष्टिकोण तथा नेपालमा यसको सम्भावना, वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा र वित्तीय सहकारीमा स्रोत परिचालनःवर्तमान प्रवृत्ति र आगामी मार्गदिशा विषयमा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।
कार्यक्रममा ७ सय जनाको उपस्थिति हुने अपेक्षा गरिएको छ । त्यसैगरी सहभागिताका लागि संघको सदस्यकालागि ७ हजार शुल्क तोकिएको छ भने मंसिर २० गते भित्र सहभागिता जनाउने सहभागिले ६ हजार र गैर सदस्यले ८ हजार शूल्क तिर्नुपर्ने जनाइएको छ ।
विगत ३८ वर्षदेखि देशभरका बचत तथा ऋण सहकारीहरुको आर्थिक, सामाजिक र संस्थागत सुदृढीकरणमा अग्रसर रहेको केन्द्रीय संघ नेफ्स्कून ७६ जिल्लाका ४ हजार २ सयभन्दा बढी साकोस, ५९ जिल्ला संघ, ४ प्रदेश संघमा आवद्ध करिब ५९ लाख व्यक्तिगत सदस्यको प्रतिनिधित्व गर्दैआएको छ । संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत साकोस समाधान, सुशासन र संस्थागत विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाइएको छ ।
Leave a comment