काठमाडौं । सहकारी दिवसको अवसरमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले यो वर्षको सहकारी नारा ‘मर्यादित सहकारीःसमुन्नत समाज’ विषयमा समीक्षा गोष्ठी गरेको छ । कार्यालयले ६८औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा समीक्षा कार्यक्रम तथा अन्तक्रिया गोष्ठी बिहिबार सम्पन्न भएको हो ।
सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका मन्त्री पद्मा जिसी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारीलाई मर्यादित बनाउनसके समुन्नत समाज निर्माणमा सहजता हुने बताए ।
सहकारीलाई यसको मर्म, भावना र सिद्धान्त अनुसार अगाडि बढाउने हो भने सहकारीमार्फत आर्थिक विकाससंगै सामाजिक रुपान्तरणमा टेवा पुग्ने बताए । मन्त्री जिसीले समुन्नत समाज निर्माणको आधार बन्न सक्ने सहकारी क्षेत्रलाई मर्यादित बनाउन सरोकारवाला सबैले ध्यान दिन जरुरी रहेको बताए । सदस्यहरूबीच विश्वास कायम गरी नियमित रुपमा सदस्यहरूको सेवामा सक्रिय सहकारीहरूको प्रवर्धनका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा प्रदेश सचिव बासुदेव रेग्मीले गण्डकी प्रदेशमा उत्पादन गर्न सकिने र आयात प्रतिस्थापन वा निर्यात प्रवर्धन गर्न सकिने सुन्तला, स्याउ, आलु, अलैँची आदि कृषिजन्य बस्तु उत्पादनका कार्यमा सहकारी जोडिनुपर्ने बताए । कृषि विकास निर्देशनालयका महानिर्देशक बालकृष्ण अधिकारीले निर्देशनालय अन्तर्गतका कृषि ज्ञानकेन्द्र लगायतका १८ वटा कार्यालयका कार्यक्रमहरूसँग कृषक र उत्पादनमूलक सहकारीले सहकार्य गर्न सकिने बताए ।
गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजीप्रसाद अधिकारीले कृषि सहकारीसँग आवद्ध कृषकहरूले उत्पादन गरेका कृषि उत्पादन केही मूलुकमा निर्यात गर्न लागेको जानकारी दिँदै एसियाली विकास बैँकबाट प्राप्त हुने अनुदानलाई साना किसान मोडलमा ढाली कृषिजन्य कार्यमा लगानी गरिने बताए ।
गोष्ठीमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा सहकारीको अवस्था, चुनौती र समाधानका उपाय लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा रजिष्ट्रार भेषराज रिजालले गण्डकी प्रदेश नियमन क्षेत्राधिकार भित्रका सहकारीको अवस्था सहितको प्रस्तुती राखेका थिए ।
जिल्लागत सहकारीको अवस्थाका बारेमा जिल्ला सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरुले प्रस्तुती गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, विषयगत संघहरूका सञ्चालक तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका कर्मचारीहरूका साथै गण्डकी प्रदेश कृषि संघ, केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
Leave a comment