हाइलाइट

बागलुङको काठेखोलामा सहकारी लेखा व्यवस्थापन तालिम

बागलुङको काठेखोलामा सहकारी लेखा व्यवस्थापन तालिम :: Sahakari Akhabar

काठमाडौं । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा तीनदिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना एवं काठेखोला गाउँपालिका र जिल्ला सहकारी संघ बागलुङको समन्वयमा तीन दिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको हो ।

तालिमका प्रमुख अतिथि काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बचतकर्ताको बचत सुरक्षित राख्नुका साथै जनस्तरमा आर्थिक समृद्धि हासिल गर्दैजान सहकारीका सञ्चालकलगायतका पदाधिकारी जिम्मेवार हुनुपर्ने बताए । उनले ऋण प्रवाह गर्दा उद्देश्यमूलक रुपमा गर्नुपर्ने बताउँदै पालिकाले कृषकहरुलाई उत्पादन बढाउन प्रोत्साहित गर्न अक्षते बजारमा कृषि उपज संकलन केन्द्र खोल्ने जानकारी दिए ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले कृषकका उत्पादनलाई सहकारी मार्फत अनुदान दिनेगरी पालिकाले नीति र कार्यक्रम ल्याएको बताए । पालिकास्तरीय सहकारी संघ बनाउने सोच रहेको भन्दै उपाध्यक्ष थापाले सहकारीका सदस्यहरु उत्पादनशील कार्यमा जोडिई आत्मनिर्भर बन्न आग्रह गरे ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु) ले तालिममा सहकारीका सञ्चालक व्यवस्थापकले सक्रियतापूर्वक भाग लिई सिकाई प्रभावकारी बनाउनुपर्ने बताइन् । तालिममा सहकारीका सञ्चालकलगायतका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार, ऋण लगानी र असुली, लेखा व्यवस्थापन, सहकारी कानुन लगायतका विषयमा कक्षा सञ्चालन भएका थिए । रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल, शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला सहकारी संघका सल्लाहकार राम बहादुर जिसी र तेजेन्द्र थापा मगरले कक्षा सहजीकरण गरेका थिए ।



Leave a comment